म हिँडेको छु या पैतालो !

गणेश प्रसाद पौडेल ‘बहुरुपी’

म हिँडेको छु या यो पैतालो हिँडेको छ
बाघको भेष गरी बिरालो हिँडेको छ ।

कर्के नजरले जब हेर्न छोड्यौ यता
यो मुटुको मुल बाटो भुँइचालो हिँडेको छ ।

मायाको भेल फेरी उर्लेर आउँदाखेरि
नदीलाई भेट्न आतुर भँगालो हिँडेको छ ।

नीति नियमको पालना कहाँ भो र
जसले हो देश चलाउने गोठालो हिँडेको छ ।

बाँझै खेतबारी छोडी तिम्रै पछि
हलो हिँडेको छ अनि कोदालो हिँडेको छ ।

प्रतिक्रिया