रंग‍-विविध

रुकुमको घटनाविरुद्ध बन्यो गीत ‘भेद भाव’

बाबुराम सिग्देल २०७७ जेठ १६ गते १४:२३ मा प्रकाशित

काठमाडौं । गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको हिंसात्मक घटनाबारे जातीय विभेदविरुद्ध गीत सार्वजनिक भएको छ । उक्त घटनामा जाजरकोटका पाँच जना युवकको ज्यान गएको छ भने एक युवक अझै बेपत्ता भएका छन् ।

जाजरकोटका युवक नवराज बिक र पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लबीच गहिरो प्रेम सम्बन्ध भएको र नवराजकी प्रेमिका सुष्माले आफूलाई लिन भनि फोन गरेर बोलाएपछि नवराजले आफ्ना साथीहरुलाई खबर गरी विवाह गरेर दुलही लिन भन्दै १८ जनाको समूह गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाँदा त्यहाँका स्थानीयले उनिहरुमाथि संघातिक आक्रमण गरेर लखेट्दै भेरी नदीमा पुर्याएका थिए । उक्त घटनामा नवराजसहित पाँच जनाको मृत्यु भएको हो ।

साथै, सोही आक्रमणबाट एक युवा अझै बेपत्ता भएका हुन् । गाउँलेहरुले जाजरकोटका युवक नवराज बिकलगायत सबैलाई जातीय विभेद तथा आक्रमण गरेर मारेको पीडित पक्षको भनाइ छ । उक्त घटनाविरुद्ध देशैभर विभिन्न संघ संस्थाहरुद्वारा चर्को विरोध भइरहेको छ भने जाजरकोट शोकमा डुबेको छ । त्यही घटनालाई लिएर ‘भेदभाव’ नामक गीत बजारमा आएको हो ।

उक्त गीतमा लोकदोहोरी गायीका पूर्णकला बिसी र गायक अमृत खातीले आवाज दिएका छन् । गायक खातीकै शब्द रचना र संगीतमा विशाल फिल्मस् युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘छुवाछुत भेदभाव किन, हुन पर्छ निश्पक्ष छानविन’, लगायतका शब्द उक्त गीतमा समावेश गरिएको छ । एक्काइसौँ शताब्दीमा आएर पनि जातीय विभेदको कारणले ज्यान गुमाउन परेको भन्दै जातीय विभेद गर्नेहरुका लागि सचेतना जगाउन यस गीत बजारमा ल्याएको गायीका पूर्णकला बिसीले बताइन् ।

सोही घटनाबारे सांसदमा समेत आवाज उठेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएर छानविन समिति पनि बनाइएको छ । साथै, विभिन्न जिल्लामा दोषीलाई कडा कारबाहीको माग गर्दै नाराजुलुस पनि भएका छन् । यसैबीच युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर संघातिक आक्रमण गरेर ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन् ।

२२ संघ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोतीका वडाध्यक्षसहितले मृतक नवराज विकको प्रेमिकाको परिवार तथा गाउँलेसहितको संलग्नतामा घटेको भनिएको घटनामा नवराज विकसहित पाँचको मृत्यु भएको र एक अझै पनि बेपत्ता रहेको मानवताविरोधी अपराधजन्य घटनाप्रति हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।’ सो घटनाका दोषी दर्जनभन्दा बढी स्थानीयलाई प्रहरीले पक्राउ गरेर हिरासतमा समेत राखेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय