बजेटमा असफलता देखियोः विपक्षी, निजी क्षेत्र भने सकरात्मक

काठमाडौं । बजेट पेश भएलगत्तै राजनीतिक दलहरुको मिश्रित प्रतिक्रिया दिएका छन् भने निजी क्षेत्रले सकरात्मक भनेका छन् । सत्तारुढ दलका नेताहरुले बजेटलाई सकरात्मक र चुनौतीपूर्ण भएको टिप्पणी गरेका छन् भने विपक्षी दलका नेताहरुले बजेट अहिलेको बिशिष्ट अवस्थालाई सम्बोधन गर्ने गरी नआएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटलाई क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको प्रतिक्रिया दिए । सरकारको ध्यान स्वास्थ्य क्षेत्रमा नपुगेको भन्दै उनले गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्रैले यति ठूलो संकटको उपचार गर्छु भन्नु असम्भव भएको बताए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता मीनेन्द्र रिजालले कोरोनाका कारण अर्थतन्त्र जोगाउन के गर्न सकिन्छ भन्नेबारे बजेट मौन रहेको बताए । कोरोनाका कारण कठिनाइमा परेको देशलाई एक ठाउँमा ल्याउन सरकारको पहल नपुगेको भन्दै नेता रिजालले सरकारको असफलताको प्रमाणको रुपमा यो दस्ताबेज आएको बताए । ‘राजस्वको अनुमान संशोधित भन्दा २२ प्रतिशतले बढाउने भन्नु भएको छ, जुन यथार्थपरक छैन,’ उनले भने ।

उद्योगी तथा व्यवसायीहरूले कोरोना नियन्त्रणका लागि राम्रा योजना आए पनि मुलुकको उत्पादन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने कार्यक्रम भने अपेक्षाअनुसार आउन नसकेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागतयोग्य भएको बताए । यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ थियो । कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रित भएको बताए । रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषय राम्रो भएको बताए । बाहिरबाट आउने व्यक्तिहरूलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकीकरण गर्ने विषयसमेत समावेश भएको बताए । स्वास्थ्य क्षेत्रमा कसरी अगाडि बढने विषयसमेत प्रष्टसँग उनको भनाइ थियो । सरकारका नीति तथा कार्यक्रम पनि सकारात्मक आएको तर कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उद्योगीहरूको भनाइ छ ।

प्रतिक्रिया