बजेट आज सार्वजनिक

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) संसदमा प्रस्तुत गर्दैछ । कोरोनाको असर न्युनिकरण गरी आर्थिक गतिविधि बढाउनेगरी करिव १६ खर्बको बजेट ल्याउन लागेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा अपरान्ह ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको सयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । स्रोतमा दबाव परेपछि करिव १६ खर्ब रुपैयाँमाथिको बजेट तयार पारेको हो । सोमबार प्रधानमन्त्रीसँगको छलफलपछि अर्थमन्त्री र मन्त्रालयले सो रकम बराबरको बजेट तयार पारेका हुन् । बजेटले स्वास्थ्य, कृषि र रोजगारीलाई मुख्य लक्ष्य बनाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कोरोनाकै कारण सरकारले आगामी वर्षको बजेटको प्राथमिकता र लक्ष्यसमेत परिवर्तन गरेको छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन सरकारले स्वास्थ्य, कृषि, रोजगारी तथा साना तथा मझौला क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । कोरोनाका कारण पर्यटन, रेमिट्यान्स, औद्योगिक क्षेत्र, रोजगारी नराम्ररी प्रभावित भएको छ भने वैदेशिक व्यापारमा समेत प्रत्यक्ष असर परेको छ ।

प्रभावित क्षेत्र धरासायी हुन नदिने गरी सरकारले ब्याज सहुलियत, कर, विद्युत् तथा ऋण सहुलियत दिनुपर्नेमा अर्थविद्हरुले जोड दिँदै आएका छन् । महाव्याधीका कारण वैदेशिक ऋण तथा अनुदानमा कमी आउने देखिएकाले स्रोत व्यवस्थापनाको चापमा परेको सरकारले आन्तरिक ऋण उठाउनेदेखि फजुल खर्च कटौतीसम्मको योजना ल्याउने बताइएको छ ।

बजेटमा सानाभन्दा ठूला आयोजनालाई प्राथमिकता दिने, राष्ट्रिय गौरवका आयोजनामा लगानी वृद्धि गरिने अर्थ मन्त्रालयका जानकारहरुले बताएका छन् । कृषि तथा खाद्यान्न आयात कम गर्न कृषि क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भरोन्मुख अर्थतन्त्रतिर लैजाने गरी आगामी बजेट ल्याइने पनि स्रोतहरुले जनाएका छन् । बजेटमा यसपटक एक क्षेत्र एक सडक योजना समेटिएको पनि बताइएको छ । सांसदको दवावका कारण सो योजना समावेश भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया