‘गोर्खा वारियर’ को टेस्ट टिजर

काठमाडौं । निर्देशक मिलन चाम्स यतिवेला चलचित्र ‘गोर्खा वारियर’ बनाउने तयारीमा जुटेका छन् । उनले केही यसअघि ‘वीर विक्रम २’ र ‘बोबी २’ बनाइसकेका छन् । कोरोना महामारीका कारण लागु गरिएको लकडाउनले छायांकन रोकिएको छ । लकडाउन नभएको भए यतिवेला यो चलचित्रको छायांकन सुरु भइसक्ने निर्माण पक्षले जनाएको छ ।

कोरोना भाइरसको संकटका कारण देश नै लकडाउनमा भएकाले छायांकन केही समयपछि धकेलिएको छ । छायांकन सरेपछि निर्देशक चाम्सले अहिले चलचित्रको एक टिजर सार्वजनिक गरेका छन् । जसलाई उनले टेस्ट टिजर नाम दिएका छन् । उनले भने, ‘हलिउडले पनि फिल्मको छायांकन समय वा छायांकन अगाडि टेस्ट टिजर ल्याउने गरेको छ । हामीले सोही शैलीमा पनि टेस्ट टिजर ल्याएका हौं ।’

निर्देशक चाम्सले ‘गोर्खा वारियर’ मा वीर गोर्खालीको कथालाई समेट्न खोजेका छन् । यस चलचित्रम अभिनेता दयाहाङ राई, प्रशान्त तामाङ, बुद्धि तामाङ, विजय लामा, अभिनेत्री वर्षा सिवाकोटी, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायत कलाकारको अभिनय रहने निर्माण परषले जनाएको छ । केही हलिउड कलाकारको समेत अभिनय रहने यो चलचित्र नेपाली र अंगे्रजी दुई भाषामा बन्ने निर्देशक चाम्सले जानकारी दिए । साथै यो चलचित्र अफगानिस्तान र नेपालमा छायांकन हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया