सिरहाका प्रहरी एसपीका अंगरक्षक र चालकमा कोरोना पुष्टि

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना भाइरस सङ्क्रमण बुधबार पुष्टि भएको छ । एसपी चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गरेका हुन् । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

अंगरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेको प्रजिअ गुरागाईंले जानकारी दिए । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब संकलन गरिएको थियो । गणमा स्वाब संकलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

‘अझ पनि धेरै जनाको टेष्टको प्रतिवेदन आउन बाँकी नै छ’, प्रजिअ गुरागाईंले भन्नुभयो,’ ‘अब अहिलेलाई सङ्क्रमित भएकाहरूको नजिकका सुरक्षाकर्मीहरूलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ ।’

सिरहामा योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ८ जना पुगेको छ । कोरोना सङ्क्रमित बढ्दै गएपछि मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरीक्षक चतुर्वेदीसहित अधिकांश सुरक्षा अधिकृतहरूको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया