वाग्मतीको पानी स्वच्छ बनाउने योजना प्रभावित

काठमाडौं । बन्दाबन्दीले उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण शुरु गरिएको बाँधको काम प्रभावित भएको छ । धाप बाँधको भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भए पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैतदेखि नै काम बन्द भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । बाँधमा काम गर्ने भारतीय मिस्त्री बन्दाबन्दीमा घर गएपछि नफर्किएका कारण काम हुन नसकेको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले जानकारी दिए ।

नेपाली मिस्त्रीले गर्न नसक्ने प्राविधिक काम भएकाले बन्दाबन्दीमा घर गएका कामदारका कारण प्रभावित भएको हो । धापमा बाँधको काम असार दोस्रो सातासम्म मात्र गर्न सकिन्छ । असार दोस्रो सातापछि वर्षात्का कारण काम गर्न सकिँदैन । कात्तिकपछि मात्र फेरि धाप बाँधको काम गर्न सकिन्छ । आयोजनाको हालसम्म ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

एशियाली विकास बैंकको करिब रु ५१ करोड ऋण सहयोगमा निर्माण भइरहेको बाँध गत वैशाखमै सक्ने लक्ष्य भए पनि बन्दाबन्दीका कारण अलपत्र बनेको हो । चौबीस मिटर उचाइको बाँधमा वर्षात्मा परेको पानी जम्मा गर्ने योजना छ । गत वैशाखमै निर्माण सम्पन्न गरी आगामी वर्षातमै बाँधमा पानी संकलन सुरु गरी परीक्षण गर्ने योजना प्रभावित भएको छ । योजना प्रभावित हुँदा बाँधमा वर्षात्को पानी जम्मा गर्न एक वर्ष कुनुपर्ने भएको अधिकारसम्पन्न वाग्मती समिति सञ्चालक सदस्य राम साहले बताए ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित धापमा बनिरहेको बाँधमा आकाशे पानी जम्मा गरी प्रतिसेकेण्ड ४० लिटर पानी वाग्मतीमा बगाइने योजना छ । बाँधमा आठ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ । बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ । निर्माण कम्पनीका इञ्जीनियर रुपेशकुमार साह निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले शुरुमा केही ढिलाइ भएको र अहिले फेरि बन्दाबन्दीले काम रोकिएको बताउँछन् ।

धाप बाँध पर्यटन प्रवदर्धनमा सहयोगी

बाँध निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने सुन्दरीजलका स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले बताए । निकुञ्जभित्र वरिपरि हरियाली डाँडाकाँडा एवं पारिपट्टि हिमालको रमणीय दृश्य देखिने भएकाले पर्यटकलाई यस स्थलले आकर्षित गर्ने गरेको छ ।

पर्यटकीय क्षेत्रका रूपमा स्थापित सुन्दरीजल–चिसापानी क्षेत्रलाई चिनाउन बाँधले पनि योगदान गर्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । बाँधबाट चिसापानी तीन किमीको दूरीमा छ । सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि बाँध स्थल पुग्न सकिन्छ ।

हाल बाँध नजिकैबाट काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गम स्थलमा रहेको पर्यटकीय स्थल चिसापानी जाने सडक छ । यो सडकबाट दैनिक सयौँ पर्यटक हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान्छन् । यो मार्गबाट पर्यटक पैदल एवं सवारी दुवै माध्यमबाट जाने गरेका छन् ।

यो बाटोबाट लाङटाङ राष्ट्रिय निकुञ्जमा पदमार्गका रूपमा जाने बाह्य पर्यटकसमेत हिँड्ने बाटो छ । यसैगरी चिसापानी–झुले–नगरकोट पदमार्ग समेत यही बाटो जान्छ । यो मार्ग हिँड्ने विदेशी एवं स्वदेशी पर्यटकले हाल निर्माण भइरहेको बाँधस्थलमा सेल्फी खिचाउने गरेका छन् । हाल मानव निर्मित बाँध हेर्न कुलेखानीमा पर्यटकको भीड लाग्ने गरेको छ । धापको बाँध निर्माण सम्पन्न भएपछि रत्नपार्कबाट करिब ३३ किमी दूरी पार गरी धाप पुग्न सकिन्छ ।

वाग्मतीको पानी स्वच्छ बनाउन बाँध

वर्षात्मा पानीको बहावले वाग्मती कम फोहर देखिने गरेको छ । हिउँदमा भने पानीको बहाव घट्ने गरेकाले नदी किनार दुर्गन्धित हुन्छ । वाग्मतीलाई स्वच्छ बनाउने उद्देश्यले गुह्येश्वरीमा निर्माण भइरहेको ढल प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

निर्माण सकी हाल ढल प्रशोधनको परीक्षण भइरहेको छ । अत्याधुनिक यन्त्रबाट यहाँ ढल प्रशोधन गरी वाग्मतीमा पठाइने छ । यो केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर ढल पानी प्रशोधन गरी स्वच्छ बनाइने छ ।

निकुञ्जभित्रको धाप बाँधको एक किलोमिटरमुनि अर्को ९० मिटर उचाइको बाँध बनाउन वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ । दुवै बाँधको पानी निकुञ्जको नागमती हुँदै सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिर नजिकै वाग्मतीमा मिसाइने छ । – रासस

प्रतिक्रिया