चोरीको स्कुटीसहित दुई पक्राउ

काठमाडौं । काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ । काठमाडौं महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो ।

प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

चोरीको भनी शंका लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौं गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिए ।

स्कुटी काठमाडौं–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ । स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजहरूलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया