वडाध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

वीरगञ्ज । वीरगञ्ज महानगर–१६ का वडाध्यक्ष श्यामबाबु चौरसियामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । १ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले राजस्व छल्ने मनसायले जग्गा किनबेच गर्ने अन्य दुई जनामाथि पनि मुद्दा चलाएको छ ।

जहराती मियाँ धुनियाको वीरगञ्ज महानगरपालिका–१६ साबिक इनर्वाभाठा–५ को जग्गासँग टाँसिएको २८ फिटको पिच बाटो देखिएको र सो जग्गाको मालपोत कार्यालय पर्साको आव ०७४÷७५ को न्यूनतम मूल्यांकन ६० लाख देखिएकोमा जग्गाधनी मियाँले ज्ञानती देवीलाई ०७४ चैत ९ मा सो जग्गा बेच्दा मूल्यांकन ३३ लाख तोकी सिफारिस गरेको आरोपमा वडाध्यक्षलगायत जग्गा किनबेच गर्ने दुवैमाथि मुद्दा दायर गरेको हो । ६० लाख मूल्य पर्ने जग्गामा ७ लाखको थैली देखाएको, गलत घरबाटो सिफारिस गरेको आरोपमा भ्रष्टाचारको मुद्दा लागेको हो ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फिटको पिच बाटो भएको सिफारिस पत्र नराखी १५ फिटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको थिए । उनले दिएको सिफारिसका आधारमा मूल्याकंन घटाएर रजिस्ट्रेशन दस्तुर तथा लाभकर समेत छलेको भन्दै वडाध्यक्ष चौरसियाविरुद्ध विशेष अदालतमा उजुरी परेको हो । यो उजुरीसँग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पदसमेत निलम्वित हुन पुगेको छ ।

वडाध्यक्ष चौरसियालाई १ लाख ७७ हजार जरिवानासहित तीन महिनादेखि तीन वर्षको कैद सजायको मागसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाधनी मियाँले जग्गा बेच्दा पुँजीगत लाभकर छल्न खोजेको भन्दै ८२ हजार बिगोसहित दुई वर्ष कैद माग गरिएको छ । जग्गा किन्ने ज्ञानती देवीले रजिस्टे«सन शुल्क तिर्न दुवैसँग मिलेमतो गरेको कारण ९४ हजार बिगो फिर्ता नहुने गरी र दुई वर्षको कैद मागसहित अभियोगपत्र दायर गरिएको छ ।

यसरी कम थैली रकम राख्दा जग्गा किनबेच गर्दा प्राप्त हुने रजिस्ट्रेसन दस्तुर ९४ हजार ८ सय ७५ र पुँजीगत लाभकर ८२ हजार ५ सय गरी १ लाख ७७ हजार ३ सय ७५ कम हुने गरी राजस्व दाखिला गरी राजस्व हानी पु¥याएका थिए ।

प्रतिक्रिया