उपमेयरका छोराले चलाए गोली, दर्जन घाइते

लहान । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर –१ स्थित देविपुरमा राहतको विषयमा झडप हुँदा गोली चलेको छ । राहतको विषयमा झडप हुँदा नरहा गाउँपालिकाकी उपमेयर गुलाबदेवी चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । उक्त गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् ।

उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । सो झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् । मण्डललाई गोली लागे लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुँदा विराटनगर रिफर गरिएको एक स्थानीयले बताए।

उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरी तीन जनालाई विराटनगर रिफर गरिएको छ । साथै सोही झडपमा परी दर्जनभन्दा बढी घाइते भएको बताइएको छ । घाइते हुनेमा नेपाली कांग्रेस तथा नेकपाका कार्यकर्ता रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

कसरी चल्यो गोली ?

नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भयो । सोही क्रममा वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन् ।

उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् । यता, प्रहरीले भने दुई पक्षीय झडपमा केही व्यक्ति घाइते भए पनि गोली चलेको वा नचलेकोबारे अहिले पुष्टि हुन नसकेको बताए । ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब निरीक्षक (डिएसपी) तथा प्रवक्ता विनोद घिमिरेले भने । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया