आँधीले भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

भारत र बंगलादेशमा आएको आम्फान नामको विनाशकारी आँधीबाट ८४ जनाको मृत्यु भएको छ।

सन् १९९९ यताकै सबैभन्दा विनाशकारी मानिएको यस आँधीलाई आम्फान नाम दिइएको छ। तिब्र गतीमा आँधीका कारण मानवीय क्षतिसँगै घरलगायतका सयौँ भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने बालीनाली र रुख बोट विरुवाहरु पनि नष्ट भएका छन् ।

भौतिक संरचनामा क्षति पुगेकोले प्रभावित क्षेत्रमा विद्युत, पानी, सञ्चारलगायतका सेवाहरु पनि अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन्।

संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधिबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ। घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै बढ्न सक्ने राष्ट्रसंघको अनुमान छ।

अधिकारीहरुले दिएको जानकारी अनुसार भारतको पश्चिम बङ्गाल प्रदेशमा मात्रै आँधीका कारण ७२ जनाको मृत्यु भएको छ। ती मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिए। ‘यति ठूलो र विनाशकारी आँधी मैले अहिलेसम्म देखेकी थिइन’ उनले भनीन् ।

आँधीको प्रभाव परेको बङ्लादेशमा १२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। मौसम पुर्वानुमान राम्रो भएकाले लाखौ मानिसलाई उद्धार गर्न सफल भएको र मानवीय क्षति कम भएको उनीहरुको भनाइ छ।

बंगलादेशमा २४ लाख मानिसलाई विभिन्न शिविरहरुमा राखिएको छ। यस्तै भारतले छ लाख ५० हजार मानिसलाई स्थानान्तरण गरेको छ।

आँधीका कारण कम्तीमा पनि एक करोड मानिस विद्युत सेवाबाट बाहिर रहेको बंगलादेशका ग्रामिण विद्युतीय बोर्डका प्रमुख मोइन उद्दिनले जानकारी दिए । ‘आँधीका कारण अनगिन्ती विद्युत पोलहरु ढलेका छन्, टा«म्सफर्मरमा क्षति पुगेको छ, त्यसैगरी असिमित रुखहरु ढलेका छन्,’ उनले भने।

सडकमा समेत क्षति पुगेको र अन्य संरचनाले सडक छेकिएकाले सवारी साधनहरु सञ्चालन हुन नसक्ने अवस्थामा रहेका छन्। कोरोनाभाइरसको त्रासमा रहेकै बेला विनाशकारी आँधी आएपछि यस क्षेत्रका नागरिक दोहोरो मारमा परेका छन्।

कोरोना भाइरसको त्रासका कारण उद्धार तथा व्यवस्थापन कार्यमा पनि अरु बेलाभन्दा बढी कठिनाइ भएको उद्धार कार्यमा सम्लग्न अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया