मुगुका सञ्चारकर्मीहरुको स्वाब संकलन

मुगु । कोरोना भाइरस नियन्त्रण , उपचार, राहत, सुरक्षा र समाचार संकलनमा क्रियाशिल रहेर काम गर्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण भए-नभएको जाँच गर्न बुधबार उनिहरुको स्वाब संकलन गरिएको छ ।

कोरोना भाइरस नफैलियोस् भनेर सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सञ्चालन गरेका राहत, उपचार, क्वारेन्टाइन,आईसुलेसन, सुरक्षा, उद्धारजस्ता कार्यमा अग्रपंतीमा रहनेहरु उच्च जोखिममा रहेकाले उनीहरुको आज पिसिआरलगायत परीक्षणका लागि स्वाब संकलन गरिएको हो । ८ जना सञ्चारकर्मीसहित १२० जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

कर्णाली प्रदेश सरकारले मुगु जिल्लाका सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकामा स्वाब संकलनका लागि पठाएकोमा स्वास्थ्यकर्मीहरुले संकलन गरेको स्वाब आजै हेलिकप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइसकिएको छ । मुगुममा ९६ जनाको र सोरुमा संकललित ९२ जनाको स्वाबमध्ये ५६ जना गरी आज १४२ जनाको स्वाब हेलिकप्टरमार्फत जुम्ला पठाइएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

सोरु गाँउपालिकामा बाँकी रहेका ३६ र सदरमुकाममा संकलन गरिएका १२० सहित १५६ जनाको स्वाब बुधबार जिल्ला अस्पतालको एम्बुलेन्समार्फत जुम्ला पठाइने पनि डाक्टर नगरकोटीले जानकारी दिए ।

कर्णाली प्रदेश सरकार साामाजिक विकास मन्त्रालयले कोरोनाविरुद्घको कार्यमा फ्रन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु कोरोनाको उच्च जोखिममा रहने भएकाले उनीहरु कसैमा कोरोना भाइरस भए अन्य कोहिमा संक्रमण नफैलियोस् भनेर स्वाब संकलन गरि परिक्षण गर्नु भनेर पत्रचार गरेपछि जिल्लामा क्रियाशिल सञ्चारकर्मीसहित अन्य कर्मीहरुले कोरोना परीक्षणका लागि स्वाब जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई दिइएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द बहादुर मल्लले बताए ।

प्रतिक्रिया