‘कोरोनाविरुद्ध खोपको परीक्षण सफल भयो’

एजेन्सी । अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध संघर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो संकेत प्राप्त भएको दाबी गरेको छ । सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ ।

शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ ।अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस संक्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन् ।एमआरएनए– १२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो । सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ ।

लक्षण
त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन । तर, शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ । अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो ।

तर, ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो । बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ । सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ ।

निको
तर, मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड– १९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो ।

सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो । मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ । मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ ।– यो सामग्री बीबीसीले प्रकाशन गरेको छ ।

प्रतिक्रिया