कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु

विश्भर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार यो तथ्यांक शनिवार (१६ मे २०२०)साँझसम्मको हो ।

भाइरसका कारण मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ६३ जना छन् । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरुको संख्या १५ पुगेको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

उनका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । तीमध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको समितिले अनुमान गरेको छ ।

प्रतिक्रिया