कोरोना कहर र थाङ्का कला

                          देवेन्द्र थुम्केली

कोरोना महामारीबाट विश्व नै आक्रान्त बनिरहेका बेला कला क्षेत्र पनि यसबाट अछुतो रहन सक्दैन । गएको डिसेम्बरबाट चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकमा संक्रमण फैलिइसकेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । मुलुक बन्दाबन्दीको अवस्थामा छ । आर्थिक गतिविधि ठप्पजस्तै छ । बन्दाबन्दीले यसबीचमा कलाक्षेत्रलाई पनि नराम्ररी गाँजेको छ । कलाकारले सिर्जना गरेका कलाकृतिको बजार लगभग शुन्य कै अवस्थामा छ । साथै कला सामग्रीको अभावका कारण कलाकारले कला रचना गर्न नसक्ने अवस्थासमेत आएको छ । संकटले मानिसमा नयाँ ऊर्जा र प्रेरणा लिएर आउँछ । मानिसको जीवनका विविध आयाममध्ये कला एक महत्वपूर्ण आयाम हो ।

मानिसलाई गतिशील र ऊर्जावान् बनाउने उत्प्रेरणाको स्रोतका रुपमा समेत कलालाई लिन सकिन्छ । यही परिप्रेक्ष्यमा नेपालको मौलिक कलाको रुपमा हजारौं वर्षदेखि प्रचलित थाङ्काले सामाजिक, सांस्कृतिक तथा धार्मिक मान्यतालाई अगाडि सारेको छ । राजनीतिक, सामाजिक तथा प्राकृतिक प्रतिकुलताका बीच हजारौं वर्षदेखि प्रचलित थाङ्का कलाको महत्व पछिल्लो समय झनै बढेर गएको छ । कोरोनाका बीच यो परम्परागत मौलिक कलालाई कलाकारले क्यानभासमा उधिनेका छन् ।

कला समाजको बिम्ब हो । सभ्यताको परिचय र पहिचान हो । यसले सभ्य समाजको परिचय मात्र होइन संस्कृति र जीवन पद्धतिको बारेमा समेत सुक्ष्म तरिकाले चिनाउने काम गर्दछ । कलाविनाको समाज सभ्य बन्न सक्दैन । जतिसुकै सम्पन्न र वैज्ञानिक आविष्कार भए पनि कला छैन भने त्यो समाज सभ्य र सुसंस्कृत बन्न सक्दैन । कला र संस्कृतिले मात्रै समाजको दीर्घकालीन सभ्यताको परिचय दिन सक्छन् । विश्वमा भएका कतिपय राजनैतिक परिर्वतन पनि कला र संस्कृतिको विकास हुन नसक्दा धरासायी भएर ढलेका छन् ।

त्यसैले समाजको स्थायी परिवर्तन र स्थायित्वका लागि पनि कला र संस्कृतिको महत्व बढेर गएको छ । यसै सन्दर्भमा नेपालका हिमाल, पहाड तथा तराईं-मधेशमा बसोबास गर्ने बौद्ध धर्मालम्वीले बनाउने थाङ्का कलाले नेपालको राष्टियतालाई विश्वभरी चिनाउन सकेको छ । थाङ्का शास्त्रीय कला हो । यसले विशेषगरी हिमाली क्षेत्र, महाभारत पर्वत तथा पहाडी क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मालम्वीको पहिचानलाई बोकेको छ । यो कला निकै प्राचीन कलाको रुपमा विश्वमै स्थापित हुन सकेको छ । कपडा, गुम्बाका भित्ता-सिलिङ तथा अन्य विभिन्न माध्यममा बनाइने यो चित्रकला जसमा विशेषगरी बुद्धका जीवनी र उनले फैलाएको ज्ञानलाई कलात्मक रुपमा चित्रण गरेको पाइन्छ ।

हेर्दा नै अनौठो लाग्ने यो कला बनाउन भने त्यत्ति सजिलो छैन । प्रतिमालक्षणका आधारमा बनाइने हुनाले यसको धार्मिक तथा सांस्कृतिक महत्व निकै गहन रहेको छ । त्यसैले निकै कलात्मक र बुद्धका विभिन्न अवस्थाको मिहिन ढंगले चित्रण गरिने हुनाले थाङ्का कलाको महत्व नेपाली समाजमा बढ्दै गएको छ । कतिपय मानिसलाई यो कला कसरी बनाइन्छ भन्ने जिज्ञासा रहेको देखिन्छ । बनावटीय दृष्टिले पनि यो कला बनाउने आफ्नै विधि विधान छन् । शास्त्रीय कला भएकाले यो कला बनाउने छुट्टै परम्परा र धार्मिक दृष्टिकोण रहेको छ । सेतो कपडा अर्थात् रेसीलाई सिलाई फ्रेममा तन्काइन्छ ।

कपडा तन्काइ सकेपछि त्यसमा सेतो माटो (आजकल टेक्सरव्हाइट) र सरेस लगाएर र घोटिन्छ र कपडाको सतहलाई चिल्लो बनाइन्छ । त्यस सतहमा रङ र ब्रसको माध्यमले आफुले चाहेको चित्र बनाइन्छ । चित्र शास्त्रमा भनिएअनुसार नै बनाइएको हुन्छ । थाङ्का कलाको सुरुवात् कहिलेदेखि भयो त्यसको यकिन प्रमाण नभए पनि बुद्धकै पालादेखि बनाउन थालिएको मत विद्धानहरुको रहेको छ । बुद्ध दर्शनमा आधारित भएर बनाइने यो कला धार्मिक मान्यतामा आधारित रहेको हुन्छ । आजकल हिन्दु देवदेवतालाई पनि थाङ्का÷पौभाका मान्यतामा बनाउन थालिएको छ । थाङ्का तिब्बती भाषाको ‘थाङ्कु’ शब्दबाट बनेको हो ।

थाङ्काको अर्थ समतल सतह वा कपडाको भाग भन्ने बुझिन्छ भने ‘कु’ को अर्थ मूर्ति भन्ने हुन्छ । समतल भागमा बनाइने चित्रलाई नै थाङ्का भनेर बुझिन्छ । थाङ्का यसलाई नेपाल भाषामा पौभा पनि भनिन्छ । यो चित्र नेपालमा खास गरेर तामाङ, नेवार, शेर्पा, गुरुङ लगायतका समुदायले बनाएको पाइन्छ । धार्मिक कलाको रुपमा थाङ्का कलालाई नेपाल लगायत विश्वका धेरै देशमा लैजाने गरिन्छ । बौद्ध गुम्बा तथा यससँग सम्बन्धित विभिन्न स्थानमा थाङ्का कलाको महत्व रहेकाले त्यस्ता स्थानमा थाङ्का राखिन्छ । त्यसबाहेक सौख हिसावले पनि कतिपय मानिसले थाङ्का कला संग्रह गरेको पाइन्छ । यसको महत्व र यसको कलागत शिल्प निकै उत्कृष्ट रहेकै कारण विभिन्न धर्म मान्ने मानिसले यसको संग्रह गरेको पाइन्छ ।

थाङ्काको सुरुवातका विषयमा एउटा रोचक मिथक रहेको छ । बुद्ध मूर्ति पुजामा विश्वास गर्दैन्थे तर एकपटक बुद्धका चेलाले बुद्धको आकृति कोर्ने अनुमति मागेछन् । बुद्धले स्वीकृति पनि दिएछन् । जब उनका चेलाले बुद्धको आकृति कोर्नका लागि बुद्धको अनुहार हेरे । त्यसबेला बुद्धको अनुहार निकै प्रज्वलित भयो । चेलाले बुद्धको अनुहार हेरेर चित्र कोर्न सकेनन् । त्यसपछि उनले बुद्धको अनुहार पानीको छायाँमा हेरेर चित्र बनाए । त्यही चित्र नै बुद्धको जीवनकालको चित्र थियो भन्ने भनाइ पनि रहेको छ । त्यस्तै बुद्धले आफ्नो जीवनकालमै चेलाहरुको अगाडि ‘म मरेपछि मेरो रुप तिमीहरुले देख्न सक्दैनौ त्यसैले मेरो रुपको चित्र कोरेर पुजा गर्नु’ भनेको विषयलाई समेत केही विद्धानले अगाडि सारेका छन् ।

यही भनाइलाई आधार मानी तिब्बती र तामाङ जातिले आफ्नो आफन्त मर्दा थाङ्का कला राख्न सुरु गरेको कुरा वरिष्ठ थाङ्का कलाकार मंगल लामाले बताउनुहुन्छ । उहाँका अनुसार मानिस मरेपछि एउटा पुस्तक, थाङ्का र मूर्ति राख्ने चलन चल्यो । सुरुमा थाङ्का लामा पुरोहितले मात्रै बनाउँथे र उनीहरुलाई आफ्नो गच्छेअनुसार दक्षिणा दिने गरिन्थ्यो । पछि यो कला बिस्तारिँदै गयो र अन्य समुदायका मानिसले पनि कोर्न थाले । यसको व्यवसायीकरणसँगै नेपाली बजारमा मात्रै नभई विश्वबजारमा थाङ्का कलाको माग बढ्यो । अहिले वार्षिक करोडौंको थाङ्का नेपालबाट विदेशमा निकासी भइरहेको छ ।

दशौं शताब्दीपछि बनेका थाङ्का कलामात्रै अहिले भेटिएकाले नेपालमा थाङ्का÷पौभा कलाको विकास त्यसभन्दा अगाडिदेखि नै भएको स्पष्ट हुन्छ । छैटौं शताब्दीमा नेपालका लिच्छवी राजा अंशुबर्माले आफ्नी छोरी भृकुटीको विवाह तिब्बती राजा स्रङ चंग ग्याप्पोसँग गराएका थिए । उनले नेपालबाट थाङ्का कला कला तिब्बत लगेको र त्यहाँ यसलाई निकै मन पराइएको भन्ने भनाई पनि रहेको छ । त्यसपछि तिब्बतमा थाङ्का कलाको विकास भएको मत पनि रहिआएको छ । थाङ्का कलाको विकास कसरी भयो भन्ने विषयमा विभिन्न विद्धानले आफ्ना भनाइ राखेका छन् । तर थाङ्का कला भारतमा सुरु भइ नेपालबाट तिब्बत पुगेको र पछि फेरी तिब्बतबाट नेपालमा यसको विकास हुन पुगेको मत रहेको छ ।

कलाकार कला समीक्षक मदन चित्रकार भन्नुहुन्छ, ‘यो कला पहिला भारतमा विकास भएको हो । त्यसपछि नेपालमा यसको विकास चरम रुपमा भयो । नेपाल हुँदै तिब्बतसम्म यसले आफ्नो पकड जमाउन सक्यो । पुनः तिब्बतबाट नेपालमा फेरी यो कलाले फैलियो ।’ विभिन्न समयमा भएका राजनैतिक तथा धार्मिक गतिविधिले यो कला नेपालमा अल्लि कम मात्रामा बन्न थाल्यो । भृकुटीको विवाह तिब्बती राजा स्रङ चंग ग्याम्पोसँग भएपछि उनले थाङ्का चित्र तथा मूर्ति पनि लगेको र पछि त्यसको लोकप्रियता तिब्बतमा बढेको भन्ने भनाइ रहेको छ ।

बीसको दशकअगाडि यो कलाको विश्वबजारमा खासै चर्चा थिएन । बिस्तारै–बिस्तारै यो कलाले चर्चा र बजार पाउन थालेको पनि तीसको दशकपछि नै हो । नेपालमा पयर्टक आगमनको बृद्धिसँगै यसको बजारको पनि बिस्तार हुन सकेको हो । बीसको दशकपछि थुप्रै तामाङ जातिले यो कलामा आफ्नो जीविकोपार्जन गर्न सके । उनीहरुको जीवनमा आर्थिक प्रगति हुन थाल्यो । नेपालमा व्यवसायिक रुपमा थाङ्का बनाउनेमा रामेछाप, काभे्र, सिन्धुपाल्चोक, ललितपुर, रसुवा लगायतका जिल्लाका तामाङ जाति अगाडि रहेका छन् । परम्परागत थाङ्का कलाकार पाल्साङ्मो लामाले नेपाल करिब करिब बीस हजारको हाराहारीमा थाङ्का बनाउने कलाकार रहेको अनुमान गर्नुभएको छ ।

थाङ्का कलामा चारदशक काम गरिसक्नुभएका वरिष्ठ कलाकार मानबहादुर दोङका अनुसार, ‘०४६ साल ताका नेपालमा ३५ देखि ४० हजारको हाराहारी थाङ्का कलाकार थिए । आजकल यो संख्या घटेता पनि करिब २० हजार यसै पेशामा लागेको अनुमान छ ।’ चार दशकदेखि थाङ्का व्यवसाय तथा कला बनाउँदै आउनुभएका अर्का वरिष्ठ कलाकार होमबहादुर तामाङका अनुसार, ‘कलापारखीका मनमा यो कलाले राम्रो प्रभाव पारेकै कारण यसको महत्व र व्यवसाय बढेको हो । नेपालमा थाङ्का व्यवसायबाट लाखौं मानिसको घरमा चुलो बलेको छ । त्यसैले यो कलालाई सरकार तथा सम्बन्धित सबै निकायबाट व्यवस्थित गर्न सकेमा लाखौं मानिसले रोजगार पाउन सक्छन् ।’ उहाँ थप्नुहुन्छ, ‘थाङ्कालाई हाम्रो आफ्नो मौलिक पहिचान र संस्कृतिको रुपमा अझ सुदृढ गर्न सक्छौ ।’

थाङ्का विशेष गरी गुम्बामा बनाएको पाइन्छ । नेपालका हिमाली भेगमा अवस्थित प्रायः गुम्बामा थाङ्का कला बनाइएको पाइन्छ । डोल्पा, मुस्ताङ, मनाङलगायत त्यसपूर्वका बौद्ध धर्म मान्ने विभिन्न जातिले यो कलालाई गुम्बा तथा छ्र्योतन लगायतका स्थानका भित्तामा पनि कोरेको पाइन्छ । यसरी थाङ्का कलाले नेपालको मौलिक कलाको पहिचान बनाउन सकेको छ । यसले नेपाली जातिको सांस्कृतिक पहिचनालाई विश्व समुदयमा चिनाउन सकेको छ । खासगरी थाङ्का कलाको व्यापार नेपाल लगायत भारत, जापान, कोरिया, अमेरिका, बेलायत लगायतका युरोपेली मुलुकमा अधिक रहेको छ ।

कलाकार पाल्साङ्मो लामा भन्नुहुन्छ, ‘थाङ्का कलाको व्यापारसँगै हाम्रो मौलिक पहिचान विश्वमा फैलाउन नेपाली कलाकार सफल भएका छन् । यसले हाम्रो विशिष्ट सांस्कृतिक पक्षको उद्घाटन गर्न सकेको छ ।’ थाङ्का कलाबाट प्रभावित भई विभिन्न देशबाट यो कला सिक्न आउने जमात पनि ठूलै रहेको छ । वरिष्ठ कलाकार मानबहादुर दोङ भन्नुहुन्छ, ‘नेपालमा वर्षेनी सयौं विदेशी थाङ्का कला सिक्न नेपाल आउँछन । यो सँगसँगै थाङ्का किनेर नेपाली कलाकारलाई प्रोत्साहन पनि दिन्छन् ।’ नेपालमा ठूलो समुदायले बनाउने यो कलाको विकास र बिस्तार गर्न सबैको ध्यान जान जरुरी रहेको छ ।

यस क्षेत्रका विषयमा जनचेतना फैलाउने तथा रोजगारीसँग जोडेर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले नीति तर्जुमा गर्ने हो भने आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान दिन सक्छ । कोरानाले निम्ताएको आर्थिक समस्यालाई केही हदसम्म भए पनि उकास्न यस क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिन जरुरी छ । कोरोना महामारीले यस कलालाई व्यवसायिक रुपमा संकटमा धकेल्ने पाल्साङ्मो लामा बताउनुहुन्छ । उहाँका अनुसार विश्वमै कोरोनाले आर्थिक संकट निम्त्याएको छ जसको प्रत्यक्ष असर कला क्षेत्रमा पनि पर्दछ ।

पर्यटन व्यवसाय खस्केसँगै यस क्षेत्रमा नराम्रो प्रभाव पर्ने भएकाले राज्यले विशेष नीति अख्तियार गरी अगाडि बढ्नुपर्नेमा पाल्साङ्मोले जोड दिनुभयो । अर्का परम्परागत चित्रकार राजकुमार रानामगरले कलाक्षेत्रलाई उकास्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारले विशेष नीति अख्तियार गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको मौलिक कला परम्परालाई संरक्षण, प्रवद्र्धन तथा जीवन्त राख्न कोरोना संकटका बेलामा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया