बिगत सम्झन प्रधानमन्त्रीलाई आग्रह

                       राममणी पोखरेल

हामीले सोचेका थियौँ आखिर भगवानलाई पनि एउटा असल र बलियो मानिसमा भरोसा गर्नु थियो । तर, अपशोच यो शताब्दीमा मानिस असल र बलियो एकैसाथ हुन सकेन । बिस्लावा सिम्वोरका सन् १९९६ सालमा विश्व विख्यात नोवेल पुरस्कारको साहित्यीक पाटोबाट सम्मानीत हुनु हुने सिम्वारकाका यी थोरै पंंक्ति यो शताब्दीका महत्वपूर्ण विशेषता झल्काउन समर्थ छन् । एउटा मानिसमा असल र बलियो स्वभाव एकैसाथ पाउन सकिएन । खड्गप्रसाद (केपी शर्मा) ओली नेपालको एक शक्तिशाली प्रधानमन्त्री भएको तीन वर्ष हुँदै छ । उनले प्रधानमन्त्री हुने मौका दुई पटक पाएका छन् । रोगी शरीर हुँदाहुँदै पनि यो मौका पाउन जीवनको सार्थकता मान्नै पर्दछ ।

अहिले विश्वका साथै मुलुक कोरोना भाइरस नामक रोगका महामारीले आक्रान्त छ । विश्वभर करिब दुई लाखभन्दा बढी मानिसले मृत्युवरण गरिसकेका छन् । तर, यो आलेख तयार पार्दासम्म नेपालमा यो रोगले कसैको मृत्यु भएको छैन । नेपालको कम्युनिष्ट आन्दोलनका दुईधार विभाजनको लगभग पचास वर्षपछि एकिकरण भएका छन् । यो एकिकरण एक ऐतिहासिक घटना हो । निश्चय नै यसले नेपालको र वाम राजनीतिलाई गति दिनुका साथै समाज रूपान्तरणमा प्रभावकारी भूमिका खेल्ने छ । यही एकीकरणकै कारण प्रतिनिधि सभामा कम्युनिष्टहरूको बाहुल्यता भएको छ । झण्डै दुई तिहाईको प्रतिनिधित्व गर्दै केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् ।

बहुमत सिटमा विजय हासिल गरे पनि नेकपा सैधान्तिक, राजनैतिक र विचार धारात्मकरूपले स्खलित हुँदै गएको छ । नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्षबाट सञ्चालित हुँदै छ । नेकपा एमाले नवौ महाधिवेशनबाट निर्वाचित भएको कारण शक्तिशाली अध्यक्ष खड्गप्रसाद ओली नै मानिन्छन् । कार्यकारी भनिए पनि प्रचण्डको शक्ति त्यति प्रभावकारी देखिँदैन । नेपाली भाषामा एउटा उखान छ, ‘अत्पज्ञान खतरा हुन्छ ।’ अर्को उखान छ, ‘तलको जुम्रोमाथि कुनै बललले पुग्यो भने त्यो छिटै मातिन्छ ।’ कुबेलाको राग स्वरूप अध्यादेश आयो अनी फिर्ता भयो । तर, त्यसको गोहो विलिएको छैन ।

कालान्तरसम्म यो रहीरहनेछ । बहस चम्काउने कारण पनि नेपाली राजनीति तङ्गीत भएको छ । नेपालमा लोकतन्त्र आकाशबाट बर्सेको होइन । धेरै नेपाली युवाको रगत पसिना र त्यागको परिणाम स्वरूप प्राप्त भएको हो । राजदरबार हत्याकाण्ड पछि, राजा भएका ज्ञानेन्द्र शाहले छोटै अवधिमा सत्ताको मात लागेर प्रतिगमन गरे । त्यो प्रतिगमनविरुद्ध दलिय गठबन्धनले आन्दोलन प्रारम्भ गर्यो । आन्दोलनको मुख्य मुद्दा विघटित संसदको पुनस्थापना थियो । दलिय गठबन्धनको अगुवा थिए नेपाली कांग्रेसका तत्कालिन महान नेता गिरीजाप्रसाद कोइराला । २०६० साल चैत २१ गतेदेखि राजधानी केन्द्रित आन्दोलनको आह्वान गरिएको थियो ।

जिल्ला–जिल्लाबाट अगुवा कार्यकर्ता राजधानीमा पाइला टेक्दै थिए । कार्यक्रममा हामी उदयपुर जिल्लाबाट १५ जना कार्यक्रर्ता बसमा राजधानी पुगेका थियौँ । त्यसबेला मेरो डेरा जोरपाटीमा थियो । लेडलाइन फोनमार्फत मैले सिरहाका नरेन्द्र (हरी) पोखरेललाई सम्पर्क गरँे । ‘तिम्रो डेरा नजिकै बानेश्वर या सिनामंगलमा खड्गप्रसाद ओली बस्छन्, एक पटक भेट्न जाउ, आन्दोलनमा लागेपछि समय हुँदैन,’ हरिले सकारात्मक जवाफ दिएर बोलाए । खनी म लुरुलुरु गएँ । चैत महिनाका लामा दिन बिहानको आठ बज्न लाग्दा घाम झलमल्ल थिए । केपी ओली कोठामा एक्लै छटपटाई रहेका थिए । नरेन्द्र र म उनको कोठामा केही नसोधी प्रवेश गर्यौँ ।

कुर्सीबाट उठेर हँसिलो मुख पार्दै उनले भने, ‘उदयपुर र सिरहाको जोडी एका विहानै कता हो त ?’ हरिले हात बढाउँदै भने, ‘म त यहीँको रैथाने जस्तै छु, उहाँ आउनुभएको रहेछ, भेटन जाउँ भन्नु भयो र आएको । त्यसपछि केपी ओलीले म भएकोतिर फर्केर भने, ‘उदयपुरको हालखबर के छ ?’ हामी केही क्षण गफिन बस्यौँ । गफको शिलशिला प्रारम्भ गर्दै मैले सोधेँ, देश प्रतिगमन विरोधी आन्दोलनमा होमिएको छ, जिल्ला–जिल्लाबाट कार्यकर्ता राजधानी आएका छन्, संसद पुनस्थापनाको मुद्दा उठाइएको छ, यो दलिय गठबन्धन टिकाउ होला, संसद पुनस्थापनाको सम्भावना कस्तो होला ?’ यतिकैमा चिया आयो, हामीले कप समात्याैँ, एक सुर्पो चिया पिएर ओलीले मलाई नियालेर हेरे, दन्त मुस्कान गरेर हाँस्न खोजे तर, हाँसेनन् झन् गम्भीर देखिए ।

हरि भने बोलेका थिएनन् । उनका दिमागमा कुन कुराले घर गरेको थियो थाहा छैन । गफमा खड्गप्रसाद ओलीले भने, ‘राजा भनेका यो मुलुकको ठूलो शक्ति हो सेना उसका हातमा छ, रत्नपार्कमा दलहरुले पाँच सय मान्छे उफारेर राजा डराउँदैनन्, संंसद स्थापना हुन भनेको मरेको बाउ जिवित भएर घर फर्कनु जस्तै हुन्छ, मलाई पत्यार छैन । गिरीजाप्रसाद कोइराला बौलाएर कांग्रेस पार्टीलाई गलत दिशामा लगेर अरु कांग्रेसी नेता तथा कार्यकतार्का कुरो बुझ्दा रहेनछन्, भडखालामा जाकिन्छन् । सोही अनुरुप, नेकपा एमालेका कथाकथित महासचिव भनिएका माधवकुमार नेपाल पनि गिरीजाप्रसाद सँगै बौलाए, यस्तो समयमा जिल्ला–जिल्लाबाट कार्यकर्तालाई राजधानीमा ल्याएर उफार्नुभन्दा त राजासँगै मिलेर सत्ता चलाई विकास निर्माणमा लाग्न उचित हुन्छ ।’

ओलीको भाषण सुनेपछि केही क्षण घोरिएर हरिले भने, ‘त्यस्तो हो भने यो कुरा तपाईं पार्टीको बैठकमा किन कुरा राख्नु हुन्न त ?’ ओलीले हाँस्दै जवाफ दिए, ‘मैले त राखेकै होनी, तर के गर्ने सबै कार्यकर्तालाई कांग्रेसको हावा लागेको छ, मेरा कुरा स्वीकार हुँदैनन्, यही हो सज्जन र बौलाहा भनेको, कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।’ मेरा शरीरमा बिजुलीको करेन्ट लागे जस्तो भयो । छाँगाबाट झरेजस्तो भएँ, धिक्कार रहेछ तिम्रो जेल बसाई भनेर मनमा कुरा खेलाएँ । तर, ओलीका सामु केही जवाफ गरिन ।

यिनलाई भेट्न आउनु गलत रहेछ भन्ने लाग्यो । जीवनमा त्यसपछि केपी ओलीसँग एक पटक मात्र भेट भयो । त्यही पनि समूहगत रूपमा । उनै केपी ओली लोकतन्त्रका मसिहां भएका छन् । नेकपानै मै हुँ भन्दछन् । यदि यही रवैया धेरै दिन रह्यो भने, बुझ्नु पर्दछ, नेपालमा अर्को पटकदेखि कम्युनिष्ट पार्टीले जनतामा बाकस थाप्न जान अनुचित हुनेछ । सम्माननीय प्रधानमन्त्री ज्यु तपाइँलाई अनुरोध गर्दछु, २०६० साल चैत २१ गते बिहान तपाईंको निवासमा मसँग भएको त्यो संवादलाई सम्झनु होला ।

कांग्रेसका नेता गिरीजाप्रसादको अगुवाईमा भएको सत दलिय गठबन्धनको आन्दोलनबाट नै आज नेपालमा लोकतन्त्र स्थापना भएको हो । त्यही लोकतन्त्रमा उभिएर तपाईं प्रधानमन्त्री हुनुहुन्छ बिगतलाई सम्झनुहोस् । आजको विश्वमा लोकतन्त्रलाई मजबुत पार्न निम्न तथ्यलाई अनुकरण गर्नु पर्दछ । राजनैतिक स्वतन्त्रता, आर्थिक सुविधा, विकास, सामाजिक अवसर, विभेद अन्त्य, पारदर्शिता र प्रत्येक क्षेत्रमा सुरक्षालगायत विभिन्न कुरामा तपाईंको ध्यान पुगेको छ ?

प्रतिक्रिया