नेपालको शन्दर्भमा असली मार्क्सवाद

हामी कम्युनिष्टहरू आफुलाई मार्क्सवादी भन्छौ । मार्क्सवादले समाजवाद र साम्यवादको कुरागर्छ । हामी पनी देशमा समाजवाद ल्याउने कुरागर्छौ । समाजवाद आएपछि जनताले सुख पाउने कुरागर्छौ । जनताहरूलाई आशा देखाउछौ समाजवादमा सुख पाईन्छ । तर, त्यो जनताले सुख पाउने समाजवाद चाही कहिले आउछ ? हामीले भनेको जनताले सुख पाउने दिन कहिले आउछ ? ठ्याक्क भन्न कोही तयार छ त । हामी खाली अमुर्त कुरा गरी रहेका हुन्छौ

। सत्ता बाहिर हुँदा चर्का र मुर्त कुरा गर्ने अनी सत्तामा पुगेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता अमुर्त कुरा गरेर समय विताई रहेका छौ । के मार्क्सवाद यस्तै अमुर्तवाद हो त ? के हामीले भनेको जनताको सरकार यस्तै हो त ? गरीव तथा निमुखा जनतालाई समस्या पर्दा सेवा दिन असमर्थ होस । निश्चय पनी त्यस्तो होईन । मार्क्सवाद संसारमा खुल्ला वहसवाट निखारिएको विचार हो । यो सिध्दान्त महान अध्येता तथा अनुसन्धानकर्ता कार्ल मार्क्सको गहन अध्ययन तथा विश्लेषणवाट प्राप्त भएको प्रतिफल हो ।

मार्क्सवाद समाज विज्ञानका वारेमा आजसम्म भएको सबै अध्ययन र अनुसन्धानको सर्वश्रेष्ठ निष्कर्ष हो । यो पश्चिम र पूर्विय दर्शनको समागमबाट आएको ज्वलन्त र क्रान्तिकारी निष्कर्ष हो । आजसम्मको सवै अध्ययनले समाजलाई हेर्ने वुझ्ने र व्याख्या गर्ने काम गरेको थियो । मार्क्सवादले समाजलाई हेर्ने वुझ्ने व्याख्या गर्ने मात्र होईन फेर्ने समेत निष्कर्ष अघि सारेको हो । अर्थात समाजलाई हेर्ने वुझ्ने व्याख्या गर्ने र वदल्ने सिद्धान्तलाई नै मार्क्सवाद भनिन्छ ।

मार्क्सवाद नै त्यो सिद्धान्त हो जस्ले समाजलाई वदल्ने अठोटगर्छ । शोषणमा आधारित समाजलाई बदलेर शोषण रहित समाजको निर्माण गर्न सकिने सोच अघि पार्दछ । पुराना शासकहरू तथा यथास्थितिवादीहरूले समाजलाई जड ठान्दछन । जड वस्तु कै रूपमा प्रस्तुत गर्दछन । शासक सधै शासक रहने र शासीत सदाका लागि शासित रहने तर्क प्रस्तुत गर्दछन । उनीहरूको तर्कमा नाशक परमेश्वरका दुतहुन् । उनीहरू भन्छन् यसमा कुनै वहस हुनै सक्दैन । तर, मार्क्सवादले समाजलाई प्राकृति को अनुपम उपहार ठान्दछ र समाज सधै गतिशिल र परिवर्तनशिल रहेको कुरामा विश्वास व्यक्त गरेको छ । मार्क्सवादले सामाजिक विकास, दर्शन र राजनीति हरेक क्षेत्र र विषयमा शंका गर्न र प्रश्न गर्न प्रेरित गर्दछ

साधारण अर्थमा भन्दा मार्क्सवादले दुईवटा कुरा भन्छ
पहिलोः हरेक कुरामा प्रश्नगर । हरेक कुरामा शंकागर । हरेक प्रश्नको उत्तर खोज र हरेक शंकाको निवारणगर । आफुलाई चित्त नबुझ्दा मात्र होईन सत्यको पहिचानको निम्ती पनी शंका र निवारण आवस्यक छ । यो सुविधा मार्क्सवादले सवैलाई दिएको छ । संसारको सार्वभौम सत्य के हो भने मान्छेको मनमा उब्जिएको प्रश्नको निवारण नै सन्तुष्टिको आधार हो । आत्मसन्तुष्टीले नै मानिसलाई अग्रगति दिन्छ । अगाडी वढ्ने प्रेरणा दिन्छ । दिमागमा असन्तुष्टिको चाङ वोकेको मान्छे सफल हुनसक्दैन । मनमा प्रश्नहरूको थुप्रो लिएर कुनै पनी मानिस अघि वढ्न सक्दैन ।

विद्रोहको भावलाई आफुमा राखेर कुनै पनी समाजले तरक्की गर्न सक्दैन । यसैले लोकतन्त्रमा वहस, छलफल आवस्यक छ । लोकतन्त्रमा नागरिकका हरेक प्रश्नहरूको उत्तर दिन सक्ने पारदर्शी शासक खोजिन्छ । जनताका सवै शंकाहरूको निवारण गर्न सक्ने वा शंका रहित ढंगले शासन गर्ने क्षमता भएको व्यक्तित्व खोजिन्छ ।

दोस्रोः तिम्रो अगाडीको दुनिया जड होईन परिवर्तनशिल छ । परीवर्तनशिलता प्राकृतिक गुण हो । मान्छेले परिवर्तनको गती मात्र तल माथि गर्ने हो । परिवर्तन रोक्ने क्षमता कसैमा छैन । यो जीवन र जगत सवै परिवर्तन शिल छ । हामीले देख्ने भौतिक संसार, हामी र हाम्रो समाज सवै गती र परीवर्तनशिलता वोकेर आएको छ । तपाई हामी मिलेर प्रयास गरौ संसार वदल्न सक्छौ । दुनियामा आजसम्म जती पनी विकास सम्भव भएको छ । हाम्रो समाजमा निहित परिवर्तनशिलताकै प्रतिफल हो ।

हामी स्वयमले पंचायती व्यवस्थालाई रछ्यानमा पुर्याई दिएका हौ । हामीले नै राजाको निरंकुश शासनलाई धुलीचाट गरीदिएका हौ । हामीले नै संविधान वनाएका हौ । आज जे नयाँ सामाजिक संरचना हाम्रो अगाडी छ यो हामीले वनाएका हौ । यो कसैको चमत्कारिक करिस्माले होईन । जनताको एकता र वलले सम्भव भएको हो । फेरी पनी जनताको निम्ती काम भएन जनता आश्वस्त भएनन भने परिवर्तन वेग रोक्ने क्षमता कसैमा छैन । त्यसैले भनिन्छ परिवर्तनको वेगलाई वुझ्न सक्नु पर्दछ ।

साधारण अर्थमा लेनीनवाद मार्क्सवाद को व्यवहारिक प्रयोग हो । कार्ल मार्क्सले अघि सार्नु भएको श्रमिक वर्गको मुक्ति सिद्धान्तलाई लेनिनले व्यवहारमा प्रयोग गरे । मजदुर वर्गको नेतृत्वमा सोभियत संघको गठन गरेर देखाई दिए लेनिनले । मजदुर वर्गकै निम्ति मार्क्सवादको विकास भएको हो र कम्युनिस्ट पार्टी तिनीहरूकै निम्ती हो भन्ने कुरा प्रमाणित गरीदिए लेनिनले । त्यती मात्र होईन कम्युनिस्ट पार्टी श्रमजीवी वर्गकै लागि हो । सर्वहारावर्गको सेवाको लागि हो भनेर स्थापित गरीदिए ।

लेनिने भने तिम्रो कम्युनिस्ट पार्टी ले सर्वहारावर्गको सेवा गर्न सक्दैन । मजदुर वर्गको सेवा गर्न सक्दैन भने त्यो पार्टीलाई रछ्यानमा फाली दिएहुन्छ । कम्युनिस्ट पार्टीको नाममात्र राखेर काम छैन । कम्युनिस्ट पार्टी कामको हुनपर्छ । कम्युनिस्ट पार्टी खास वर्गको हुने की सवैको हुने भन्ने विषयमा नै रूसी सामाजिक जनवादी पार्टीमा ठुलो वहस भयो । वहस वढ्दै गएपछि पार्टी विभाजित भएर वोल्सेविक र मेन्सेविक पार्टीको रूपमा विकास भए । १९१७ मा लेनिनको नेतृत्वमा क्रान्ति सम्पन्नभयो । क्रान्ति पछि पार्टी वारेको बुझाईमा समेत एकरूपता आएपछि दुवै पार्टी एक भएर रूसी कम्युनिस्ट पार्टी वोल्सेविक वन्यो ।

चिनका अध्यक्ष माओको कुरा त झन स्पष्ट र सिधाथियो । माओको दृष्टिमा इतिहासका निर्माता जनता हुन । वहाँको नजरमा इतिहासका रक्षक पनी जनता हुन । केवल जनताको निम्ती काम गर्ने क्रान्तिकारी विचार मार्क्सवाद हो । मार्क्सवादलाई चीनले आफ्नो विशेष परिस्थितिमा रचनात्मक ढंगले प्रयोग गर्यो । चिनीयाँ कम्युनिस्ट पार्टी मजदुर किसान जनताको पार्टी हो । चिनीयाँ जनवादी क्रान्ति भनेको कृषि क्रान्ति हो ।

कृषि क्रान्ति मूलतः सामन्तवाद को बलपूर्वक समुल नष्ट गर्ने कार्यक्रम हो । सामन्तवादको अन्त्य विना मजदुर तथा किसान जनताको राज्यको स्थापना सम्भव छैन । वल प्रयोग गरेरै मजदुर किसान विरोधी सामन्ती सत्तालाई ध्वस्त गर्नुपर्छ । यसैका निम्ती माओले महान चिनीयाँ सर्वहारा क्रान्तिको नेतृत्व गरी चिनीयाँ जनवादी क्रान्ति सफल गर्नुभयो । कमरेड माओले स्थापना गरेको त्यही समाजवादी चनी आज आम जनताको साझा प्रयासले चमत्कारिक आर्थिक विकास सहित संसार भरिका पुजीवादी तथा साम्राज्यवादी शक्तिहरूलाई चुनौतिको रूपमा खडा भएको छ ।

नेपालमा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भयो । कमरेड पुष्पलाल श्रेष्ठ मार्क्सवादी लेनिनवादी निति र विचार प्रति प्रतिवद्ध थिए । वहाँको विचारमा कम्युनिस्ट पार्टी व्यक्ति प्रधान होईन निति प्रधान पार्टी हो । कम्युनिस्ट पार्टीमा नेता प्रधान हुदैन निति प्रधानहुन्छ । कम्युनिस्ट पार्टीमा समग्र पार्टीलाई नितिले नेतृत्व गर्दछ । पार्टीको महाधिवेशनले पास गरेको निति कार्यान्वयन गर्नु नेताहरूको जिम्मेवारी हुन्छ । वहाँको विचारमा नेता महान हुने र नेताकै पछि लाग्नु पर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै सक्दैन थियो । नेपालको शन्दर्भमा शोषित पीडित किसान मजदुर तथा उत्पीडित वर्गको मुक्ति नै कम्युनिष्ट क्रान्ति हो ।

त्यसैको लागि कम्युनिस्ट पार्टीको स्थापना भएको हो । सामन्ती उत्पादन व्यवस्था र शोषणका सवै रूपहरूको अन्त गर्ने, जमिनमा किसानहरूको स्वामित्व कायम गर्ने, र कृषिमा समाजवादको पृष्टभूमि तयार पार्ने, क्रान्तिकारी कार्यक्रम कमरेड पुष्पलालले अघि सार्नु भएको थियो । अर्थात नेपालको शन्दर्भमा नेपाली क्रान्तिको ठोस अभिव्यक्ति कृषि क्रान्तिको कार्यक्रम नै थियो । यही क्रान्तिको कार्यक्रम नेकपाको तेश्रो महाधिवेशनवाट पारित भएको थियो । यसैका लागि कमरेड पुष्पलालले आफ्नो जीवनका सम्पूर्ण उर्जा खर्च गर्नुभयो । आफ्नो मन मस्तिष्क र लेखन यसैमा लगाउनु भयो ।

जननेता मदन भण्डारी र हाम्रो अभ्यासः
जननेता कमरेड मदनकुमार भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनमा वहुलवाद र वहुदलियताको प्रवेश गराएर मार्क्सवादको सृजनात्मक प्रयोगको कुरा गर्नुभयो । वहाले कम्युनिस्ट पार्टी भित्र पनी योग्यता क्षमता तथा कार्य कुशलताका आधारमा आन्तरिक प्रतिस्पर्धाबाटै नेतृत्व हासिल गर्नुपर्ने अवधारणा अघि सारेर नेतृत्व विकासका क्षेत्रमा नविनता ल्याउनुभयो । राज्य निर्माणमा समेत वहुुदलिय प्रतिस्पर्धा र त्यहीबाट श्रेष्ठता हासिल गर्ने कुरा ल्याउनुभयो । २१ औ शताव्दीको अत्याधुनिक विज्ञान र प्रविधीको युगमा कम्युनिस्ट पार्टीहरूले समेत जनताको अनुमोदन विना शासन गर्नु सम्भवछैन ।

जननेता मदनले जनता र देशको सेवावाट श्रेष्ठता हासिल गरेर पार्टीले पटक पटक जनताबाट अनुमोदित हुनुपर्ने राजनैतिक प्रस्ताव अघि सार्नुभो । वहाले कम्युनिस्टहरूले समेत हरेक क्षेत्रमा आफुलाई अव्वल सावित गरेर मात्र शासन गर्नुपर्दछ । त्यसो भयो भनेमात्र हामी दिर्घकालसम्म विजयी हुनसक्छौ र जनताको सेवा गर्न योग्यहुन्छौ । आफुलाई मार्क्सवादी र परिवर्तनकारी भन्ने हामी कम्युनिस्टहरूले शोषित पीडित जनताको विश्वास प्राप्त गरेर मात्र शासकीय हैसियत प्राप्त गर्दछौ । तिनकै निरन्तर सेवा र सहयोगबाट मात्र हामी कम्युनिस्टहरू अघि वढ्न सक्दछौ ।

आजको नेकपा राजनीतिक प्रतिस्पर्धामा श्रेष्ठता हासील गरेर सत्तासिन छ । अव हाम्रो ध्यान जनसेवा र विकासका काममा श्रेष्ठता हासिल गर्नमा जानु पर्ने हो । तर, अहिले हाम्रो मार्क्सवादी ध्यान कता छ ? हाम्रो क्रान्तिको कार्यक्रम कस्ले पढिरहेको छ ? हाम्रो सुन्दर चुनावी घोषणापत्र कस्ले कार्यान्वयन गरी रहेछ ? हामी सरकारमा वसेर के गर्दैछौ ? हामी पार्टीलाई के काममा लगाई रहेछौ ? हाम्रो हालत के छ ? हाम्रो प्रतिस्पर्धाबाट श्रेष्ठता प्राप्त गर्ने अभ्यास केमा हुदैछ ? हामीलाई सहयोग गर्ने जन साधारण हामी पट्टी फर्केर के भन्दैछन ? शंकटको वेलाका हाम्रो आन्दोलनका सहयोगीहरू र हामीसँग भएका योद्दाहरूको चिन्ता कस्ले गरी रहेको छ ? आन्दोलनका घाईते र शहिद परिवार कहाँ छन ? लामो संघर्षको दौरानमा हामीलाई आफ्नै सन्तान सरह प्रेम पूर्वक खान दिने, लाउन दिने अनी जुत्ता चप्पल किनी दिने किसान मजदुरका आशाहरूको पुर्र्ति कसरी हुदैछ ? अहीले किसानको वाली नोक्साहुँदै छ, भोलि ति किसानको हालत के होला ? तिनीहरूका पीडित र आशावादी अनुहार तिर हेर्न हामीले भ्याएका छौ की छैनौ ? देश भरीका आम जनता जस्ले कम्युनिस्ट पार्टीका नाममा हामीलाई जिताएका छन । गरीवको कल्याण गर्ने पार्टी भनेर हामीलाई भारी वहुमत दिएर सरकारमा पठाएका छन । तिनका लागि हामी के के कार्यक्रम ल्यायौं, अव के कार्यक्रम दिन्छौ ? यी र यस्तै आम जनताहरूको प्रश्नहरूको उत्तर खोज्न हाम्रो प्रतिस्पर्धा हुनु पर्ने होईन ?

अहिले मुलुक कोरोनाको कारण आतंकित छ । जनता घरमै वसेर गुजारा कसरी गर्ने चिन्तामा छन् । सरकारको तर्फबाट अाँट भरोसा र मल्हम पट्टी खोजी रहेकाछन्, तर परिणाम खोइ ? हाम्रो असवधानिले लाखौ मान्छे विचल्लीमा परे, विरोधीहरुले खेल्ने अवसर पाए । राहत कार्यलाई व्यवस्थित गर्न नसक्दा गाउँगाउँमा समस्या भएको छ । सरकार प्रति जनताको भरोसा घटदै छ । जति जोगी आए पनी कानै चिरेको उखान जस्तै हँदै छ । पीडित जनतालाई वेवारिसे छोडेर सवै आफ्नो ज्यान जोगाउन लागेका छन ।

नाच्न जान्दैन आगन टेडो भने जस्तो अरूलाई दोस दिएरमात्र हुन्छ ? एकातिर दुई तिहाईको फुर्ती, अर्कोतिर अरुले काम गर्न दिएन भनेर रुवावासी । यसै गरी चल्ने हो देश, हाम्रो ध्यान कता छ । मान्छे चाहिँ पुजामा मन चाहि भुजामा भने जस्तो देखिदै छ । अझ पार्टी विभाजनको हल्ला गरेर कार्यकर्ताहरूलाई टेन्सन र विरोधीहरूलाई मसला वाडेर हिड्न थालिएको छ । लाखौ जनताको भावनामा खेलवाड गरेर पार्टीलाई तोडमरोड गर्ने अधिकार कसैलाई पनी छैन । पार्टीका आधिकारीक संस्थाहरूमा बसेर छलफल र बहसबाट सवै कुराको छिनो फानो गर्नुपर्दछ । त्यो अाँट सवै ‘अशल’ नेताहरूले गर्नैपर्दछ ।

हामी जनता वलियो वनाउन र जनतालाई सुरक्षित गर्न भन्दा आफ्नो गुट वलियो वनाउनेमा प्रतिस्पर्धा गर्दैछौ । ताकी हामी पार्टी कव्जा गरीरहन सकाँै, यसमा हामी सवैलाई पछिपार्न प्रयासरत छौ । जननेता कमरेड मदनले भन्नु भएको जस्तो प्रतिस्पर्धा त हामी आफन्त पोस्नमा गर्दैछौ । लाखौलाख जनताले वलिदान गरेर वनाएको पार्टीलाई आफ्नो क्षेत्र, नातेदार र चुनावी दाताहरूको सेवा गर्ने अखाडा वनाउदै छौ । कसै कसैलाई कमाई दिएर आगामी चुनाव वलियो वनाउनेमा प्रतिस्पर्धा गर्दै छौ । हामी ‘देश, जनता भककाड मे जाय’ आफ्नो निर्वाचन क्षेत्र वलियो बनाउनेमा प्रतिस्पर्धा गर्दैछौ । दाककया वककायाका कमरेड साथी, योध्दाको जे सुकै होस । अव हामीलाई आउने चुनाव जित्नु छ ।

त्यसको लागि जोहो गर्ने प्रतिस्पर्धा गर्दैछौ । हामी आफु कसरी माथि पुग्न सकिन्छ । त्यसको लागि ‘सेवामा’ घनघोर प्रतिस्पर्धा गर्दैछौ । कतिपय प्रसंगमा त हामी कमाउ खाउ धन्दामा प्रतिस्पर्धा गर्दैछौ । अझ हाम्रो पार्टीको आन्तरिक अन्तरविरोध र सरकारमा देखिएको निजत्व भाव मौलाएको हेर्दा त हामी सुशासनमा होईन उल्टो तिर पो अव्वल हुदै छौ । आफ्नै नेता कार्यकर्ताहरूसँग वदला लिनेमा, आग्रह तथा पूर्वाग्रह साध्ने कुरामा अनी छोईछिटो व्यवहार गर्नमा अव्वल ठहरिन सक्छौ । के यस्तै धन्दाले हामी र हाम्रो देसको भविष्य वन्छ ? देश र जनताको भविष्य सुरक्षित हुन्छ ?

यति मात्रै होइन हामी ‘कामकुरो एकातिर कुम्लो वोकी ठिमीतिर’ लागेका छौ । देश शंकटमा भएको वेला के के काम पो गरी रहेका छौ । आफ्नै पार्टीको विस्कुन उठाउन सकेका छैनौ, पार्टी एकता भएको २ वर्ष भैसक्यो एकता टुंग्याउन सकेका छैनौ । लाखौं लाख कार्यकर्ता जिम्मेवारी नपाएर वसेका छन् । तिनीहरूलाई संगठित गर्नको लागि सचिवालयको वैठक वस्ने फुर्सद छैन । अहिले पार्टीका औपचारिक संस्थाहरूको वैठक गरेर संस्थागत ढंगले व्यवस्थित गर्दै अघि वढ्नु पर्ने अवस्था हो, यस्तो अवस्थामा गुपचुपमै दल विभाजन गर्ने जस्ता महत्वपूर्ण र दिर्घकालीन रूपले प्रभाव पार्ने कानुन अध्यादेशको रूपमा ल्याएर कता कुनी सासदहरू खोज–खाज गरेर भुरेटाकुरे पार्टीका कार्यकर्ताहरूको पीडालाई सम्वोधन गर्नमा पो तल्लीन रहेछौ । हामी जत्तीका कार्यकर्ताहरूलाई त वुझ्नै कठिन भो । सर्व साधारण जनताले कसरी वुझ्न सकुन यो अनर्थ अभ्यासलाई ।

भनिन्छ लाख सत्कर्मलाई एउटै दुश्कर्मले स्वाहा वनाउछ । पार्टीसँग सल्लाह नगरी रातारात ऐन ल्याउनु, अर्कोलाई सिध्याएर आफु बनेको ठान्नु, अर्काको घर भत्काएर आफ्नो घर वनेको वुझ्नु, सुन्निएको जीउलाई मोटाएको ठानेर मख्ख परे जस्तै हो । आफ्नै वलियो सरकार हुदाँहुदै वद्नामी कमाउन अर्को पार्टीको सांसदसँग लोभानी पापानीमा फस्नुको के अर्थ थियो ? ईमान जमान भएका, संस्कार भएका, अनी सामथ्र्य र सौर्य भएका नेताहरूले यसो गर्नु नै किन पर्दथ्यो ? मदन भण्डारी जस्तो पारदर्शी नेताले हुरकाएको पार्टी हो यो, मनमोहन अधिकारी जस्तो निस्कलंक नेताको जीवन वितेको पार्टी हो यो ।

यस्तो खालको नौटंकी नगरी कन मनमोहनजी ले नेतृत्व गरेको एमाले सरकार आजसम्मकै सवभन्दा लोकप्रिय सरकार भयो । श्रद्धेय मनमोहन अधिकारी कमरेड, न कहिल्यै चिरिच्याँट्ट परेर हिड्नु भयो, न कहिल्यै कनी कनी अरूको नक्कल गरेर चर्चामा आउनु भयो, न त लाउकेहरूलाई अघि पछि लगाएर हिड्नुभयो । न कुनै लप्पन छप्पन, न कुनै जालझेल, नत दाउपेच तिर लाग्नुभयो । नत विजातीसँग लसपस गरेर पार्टीलाई कुनै विवादमा तान्नुभयो । आफ्ना जनता, आफ्ना कमरेड र आफ्नै पार्टीको विश्वासमा ईज्जत, प्रतिष्ठा र सम्मान प्राप्त गर्नु भयो । हो अहिले पनी हामी त्यही पार्टीमा छौ । हामीलाई शक्ति शाली वनाउने तिनै जनतासँग छौ । हामीले धेरै लामो हात गर्नै पर्दैन । जनतामा भरपरौ । आफ्नै पार्टी र यसका नेता कार्यकर्तालाई विश्वास गरौ । देशको हितमा लागि रहौ । यही हो नेपालको शन्दर्भमा असली मार्क्सवाद ।

प्रतिक्रिया