देशलाई कुरूप बनाउने कुलङगारहरूको खोजी गरौँ

कुल+ अङगार= कुलङगार । कुलको अर्थ पिता पूर्खाहुन्छ, भने अङगार को अर्थ कालोहुन्छ । कुलको धर्म जोगाउन नसक्ने पुत्रलाई कुलङगार भनिन्छ अर्थात कुलको कलंक । कुलको ईज्जत (प्रतिष्ठामा कालो धव्वा लगाउने सन्तान अथवा छोरा छोरी । पिता पुर्खा को प्रतिष्ठा समेतलाई वद्नाम गर्ने सन्तान । त्यस्ता सन्तान हुनु भन्दा नहुनु नै राम्रो भन्ने चलन छ, हाम्रो समाजका वुढापाकाहरूमा । तर, पनी सन्तान जन्मने वित्तिकै कस्तोहुन्छ भन्ने थाहा हुन्न । पहिलो त सन्तान जन्मनुनै खुसिकोे विषय हुन्छ । लामो समय हुर्काउन्जेल पनी मायाले काम गरेको हुन्छ ।

घर परिवार पहिलो पाठशाला हो । माता पिताले अशल संस्कार दिने प्रयास गरेका हुन्छन । आफ्ना सन्तानलाई सुन्दर शिक्षा दिक्षा दिने चाहना सवैको हुन्छ । आफुले भ्याएसम्म भरमग्दुर प्रयास गरेकै हुन्छन । त्यस पछि समाज र संगतको भूमिका हुन्छ । अनी विद्यालयबाट सिक्ने कुराहुन्छ । जती सुकै प्रयास गर्दा पनी जो खराब निस्कन्छ, वदमास निस्कन्छ । अर्थात समाजले अस्वीकार गर्ने देशले वहिस्कार गर्ने र कानुनले दण्डीत गर्ने खालको निस्कन्छ त्यस्तो सन्तानलाई कुलङगार भनिन्छ ।

कुलङगारहरू आफु पनी अशल काम गर्दैनन, अरूलाई पनी सत्कर्म गर्न दिदैनन । यीनीहरू मुलतः घर, समाज र देशमै भंडुवा को भूमिकामा हुन्छन । कहाँ कहाँछन यस्ता कुलङगार सन्तानहरू । कस्ता कस्ता ठाउँमा छन् यस्ता कुलङगार छोराछोरीहरू खोज्नुपर्छ । कस–कस ले जन्माएर सुरक्षित गरेर राखेका छन् यस्ता कलंकहरू खोजी गर्नुपर्छ । कुन–कुन क्षेत्रमा के के काम गर्दैछन यस्ता भडुवा पुत्रहरू । व्यापारिक क्षेत्रमा कती छन् यस्ता कुपुत्रहरू । उद्यमका क्षेत्रमा कती लागेका छन् यस्ता कुलङगारहरू । प्रशासनिक संयन्त्रमा कती होलान र कहाँसम्म पुगेका छन् यस्ता कुलङगारहरू ?

पवित्र समाज सेवाका नाममा समेत मौका मौकामा प्रकट हुन्छन यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय कुलङगारहरू । अझ देशको राजनीतिमा त चप्पा चप्पामा पुग्न सफल छन् कुलङगारहरू यीनीहरूको खोजी गरेर ठेगान लगाउनै पर्छ । कहिले विराटनगर जुटमिल चपाउन, कहिले ३३ किलो सुन तस्करीमा, कहिले वालुटारको जग्गा प्रकरणमा, कहिले टेलिकम को धन्दामा, कहिले मेलम्ची विगार्ने धन्दामा त कहिले स्वास्थ सामाग्री खरिद प्रकरणमा कुलङगारहरूले आफ्नो कुरूप अनुहार देखाउँदै आएका छन् ।

भन्छन धेरै तीर असफल भएपछि मान्छे राजनीतिमा आउँछ र उ सफल हुन्छ । उसैत राजनीतिलाई गलत रूपमा वुझ्ने प्रवृद्धि छदैछ । त्यसमाथि अहिले राजनीतिलाई फोहोरी खेल भनेर बुझ्नै नचाहने जमात समेत बढिरहेको छ । यस्तो अवस्थामा राजनीति कर्मीले समेत ढुक्कले कमाउ–खाऊको खेतीसुरू गरेर जनताको नाममा ठगी गर्ने प्रवृद्धि बढाई दिएपछि यो भनाई अझ मजवुत हुदै जाने खतरा छ । आफू कहिल्यै सत्कर्म नगर्ने अरूलाई पनी त्यता लाग्न अवरोध गर्ने कुकर्मी भडुवाहरूको पहुँच हर क्षेत्रमा बढि रहेको देखिन्छ । राजनीतिलाई पनी दुनियाँले भने जस्तै भडुवा र कुलङगारहरूले आफ्नो पहँुचमा लिए भने यो समाज र देशको भविष्य के होला ?

समाज सहित हरेक घर–परिवार कुनै न कुनै धर्ममा वाधिएको हुन्छ । निश्चित परम्परा र संस्कारमा वाधिएको हुन्छ । खास धर्म, संस्कार, संस्कृति र भाषाले नै समाजलाई वाककधी रहेको हुन्छ । समाजलाई यीनै महत्पूर्ण तत्वहरूले युग युगसम्म वाधेर जीवित राखेका हुन्छन । साचो अर्थमा भाषा, धर्म, संस्कृति र संस्कार को अभावमा समाज निर्जिव हुन्छ । भाषा, धर्म, संस्कार र संस्कृतिको एकत्वबाट वनेको सजिव समाजको साझा परिचय नै राष्ट्रको विकासका आधारहुन् ।

हाम्रो समाज विकासको क्रममा अशल परम्परा, धर्म, संस्कार र संस्कृतिलाई समाजले निरन्तर अंगिकार गर्दै आयो र खराब संस्कार संस्कृति र परम्परालाई छोड्दै गयो । परम्परा, संस्कार र संस्कृतिका नाममा खराव र विकृत खालका तत्वहरूलाई समग्र समाजले छोडे पनी केही व्यक्तिहरूले छोडेनन, जो समाजलाई स्वभाविक बाटोबाट अलग गर्न चहान्छन् । उनीहरू खराब चरित्र, आचरण मार्फत कुकर्महरूलाई छोड्नुको सट्टा त्यसैमा रूमलिइ रहन चहान्छन् । त्यस्ता खाले समाज विरोधि चरित्रहरू नै भंडुवा हुन् । तीनै समाजले छोडेका, अस्वीकार गरेका र तिरस्कार गरेका अधर्मी र कुकर्मि सन्तानहरू नै सहिमा कुलङगार हुन् । जो अहिले पनी विभिन्न क्षेत्रमा प्रकट भईरहेका छन । यसैगरी हर क्षेत्रमा प्रकट भईनै रहने छन् । श्रीमद्भागवत गीतामा एउटा शान्दर्भिक श्लोक छ ।

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
नरके नियुतं वासो भवतीत्यनुशुश्रुम। ।।४४।।

कुलधर्म भनेको कुलले मान्दै आएको अशल परम्परा, संस्कार र संस्कृति नै हो । यदि परिवारको कुनै पनी सदस्यले कुलधर्म को पालना गर्दैन । कुलधर्म प्रति गद्दारी गर्छ र कुलधर्म नष्टगर्छ । कुलको संस्कार, परम्परा र चरित्रमा धव्वा लगाउछ । आफ्ना कुलको ईज्जत र प्रतिष्ठामा आँच आउने कामगर्छ भने त्यस्तो व्यक्ति सरासर नरकमा जान्छ । उसका कुकर्मले उसलाई मात्र होईन, सम्पूर्ण परिवारलाई समेत वरवादीमा लैजाने काम गर्दछ । यस कारण भनिन्छ आफ्ना सन्तान यानेकी छोराछोरीलाई कुबाटोमा लाग्न दिनुहुन्न । खराब संगत र कुलतमा लाग्नबाट बचाउनु पर्दछ । आफ्ना पिता पुर्खाले गरेका सत्कर्म र अशल परम्परालाई छोड्नुहुन्न ।

अहिले हाम्रो संस्कृति अनुसारको नमस्कार गर्ने अभिवादन कति सुन्दर रहेछ । हाम्रो समाजमा साँझ विहान हातगोडा धुने परम्परा कति सुन्दर रहेछ । समयले स्थापित गरेको छ । ईमान जमानमा बस्ने, मेहनत गरेर खाने, अनि परोपकारमा विश्वास गर्ने हाम्रो संस्कृति कती अनुकरणिय छ । समाजले घृणा गर्ने खालका चोरी–चकारीगर्ने, ढाट छलगर्ने, अन्याय अत्याचारगर्ने, भ्रष्टाचार तथा दुराचार जस्ता खराव काम कसैले गर्नुहुन्न । यदि कसैले त्यसोगर्छ भने त्यो व्यक्ति समाज विरोधि हो र उ सिधै नरकमा पुग्दछ । कुलघातिहरू, कुलका कलंकहरू र कुलका कुपात्रहरूलाई यो श्लोकले नरकका हकदारको रूपमा प्रस्तुत गरेको छ । यहाँ नरकको मतलव समाजले घृणा गर्ने, छि छि र दुर दुर गर्ने अनी पिडा र दुखमा पिल्सिन वाद्य जीवन, अर्थात दुखको भवसागर हो । स्वर्गको अर्थ परिवारको ईज्जत वढ्ने समाजले सम्मानित गर्ने, अनी राज्यले प्रोत्साहन गर्ने सुखमय जीवन अनी खुशी र आनन्दको संसार हो ।

यसै प्रसंगमा तत्काल मकवानपुर जिल्लाबाट निर्वाचित माननिय सदस्य एवम् चर्चित राजनीतिज्ञ श्री रूपचन्द विष्ट (रूदाने) ले त्यतिबेला अघि सार्नु भएको सुन्दर नारालाई स्मरण गर्नु झन शान्दर्भिक हुन्छ ।

केटाकेटी बिग्रे वावु आमा दोषि । बाबु आमा बिग्रे समाज दोषि । ।
समाज बिग्रे सरकार दोषि । सरकार बिग्रे मतदाता (जनता) दोषि । ।

मा.रूपचन्द्र विष्टको यो कवितात्मक नाराले सवैलाई एउटा सुन्दर, सुसंस्कृत र सामजिक मूल्य र मान्यता सहितको समाज निर्माणमा जिम्मेवार बनाउन खोजेको देखिन्छ । सर्व प्रथम केटाकेटी प्रति बाबु आमालाई पूर्ण रुपमाले जिम्मेवार बनाउन खोजेको देखिन्छ भने बाबुआमालाई समाज प्रति जिम्मेवार र समाजलाई बाबुआमा अर्थात आफ्ना नागरिक प्रति जिम्मेवार बनाउन खोजेको छ । समग्र समाजलाई सभ्य र अनुशासित बनाउन सरकार कृयाशिल भएर नेतृत्व गर्नुपर्ने कुरा प्रष्ट छ ।

अझ सरकारले समग्र समाजिक मूल्य मान्यता, राष्ट्रिय आवश्यकता सबैकुरालाई हेरेर आफ्नो धर्म, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन तथा त्यसलाई युग अनुकुल विकाश गर्दै लान पहल गर्नु पर्दछ भन्नु भएको छ । सरकार ठिक ठाउँमा रहेन । हाम्रो संस्कार, संस्कृति र परम्परा अनुकुल रहेन । हाम्रा मौलिक सामाजिक मूल्य मान्यता अनुसार चलेन । अनी कानुन व्यवस्था कायम गर्न सकेन र जनताको भावनाको कदर गरिएन भने त्यसको जिम्मा मतदाताले लिनु पर्दछ भनेर आम मतदाताहरूलाई आफ्नो र आफ्नो देशको भविष्य हेरेर मतदान गर्न आग्रह गरिएको भाव यसमा प्रष्ट छ ।

समाजमा सुसाशन कायम गर्नु, विधिको शासन स्थापित गर्नु, जनमतको माग अनुसार सामाजिक उत्तरदायित्व वहन गर्नु सरकारको जिम्मेवारी होे । देशको इतिहास र सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नु र देशको सम्प्रभुताको संरक्षण गर्नु सरकारको महत्वपूर्ण दायित्व हो । विशेष अवस्थामा आई पर्ने समस्याहरूको हलगर्नु, दैवी प्रकोप महामारी आदी को लागि आवश्यक तयारी गर्नु अनी विशेष अवस्था आई पर्दा त्यसलाई पारदर्शी ढंगले समाधान गर्नु सरकारको कर्तव्य हो । आजको दूनियाँ खुल्ला छ, कसैले पनी वन्द शासन गर्छु, आफू खुसी मनमौजी गर्छु भनेर चल्ने वाला छैन । यसर्थ सुशासन, विधिको शासन र पारदर्शिता आजको दुनियाँमा सरकारका महत्वपूर्ण विशेषता हुन । यिनै विशेषता र गुण सहितको उत्तरदायी सरकारले मात्र जनताको जिम्वेवारी वहन गर्न सक्छ । अन्यथा समाज अराजक दिशामा जान्छ । यस्तो सामाजिक अराजकताको जिम्मेवारी सरकारले लिनुपर्छ ।

यस्तो सामाजिक विकृती र अराजकताको कारण के होला ? के समाजबाट विकृती हटाउनै नसकिने हो त ? के समाज वदल्नै नसकिने चिज हो त ? के शासक वदलेर मात्र शासन वदलिदैन भन्ने कुरा जो सडकमा उठ्दैछ त्यै नै सहि हो त ? अर्थात समाजमा सवभन्दा तल्लो वर्गको प्रतिनिधि भनिएको कम्युनिस्ट पार्टी र त्यसको सरकार राज्यको उपरी ढाँचामा छ । फेरीपनी जनतामा परिवर्तनको महशुस भैरहेको छैन ।

यसको रहस्य के हो ? यस पछाडीको प्रमुख कारण समाजका अनेक क्षेत्रमा काम गरि रहेका कुलङगारहरू नै हुन ? राज्यका प्राय सवै अंगमा कुलङगारहरूले हात पाउ फैलाएका रहेछन । समाजलाई अनुशासित वनाउनु पर्ने, नियन्त्रण सन्तुलन गर्नुपर्ने क्षेत्रमा समेत तिनीहरुले आफ्नो सुड वलियो ढंगले घुसारी सकेका रहेछन । उनीहरूकै कारण सत्य, ईमान र जनपक्षियता कमजोर भए जस्तो देखिई रहेको छ । सामान्य जनताले न्याय पाउनै नसक्ने स्थिती बन्दै गएको देखिदैछ ।

यीनीहरूको कारण सत्ताको केन्द्रमा अहिले सत्य र ईमान कमजोर देखिएको छ । सत्य र ईमान यती वलियो घेराले घेरीयो की उ बाहीर आउनै नसक्ने गरी कक्रिएर वसेको रहेछ । हालै कोरोना भाईरस नियन्त्रणका क्रममा स्वास्थ्य सामाग्री खरिदमा कालावजारी गरेकोमा एकजना धनाढ्य उद्योगी पक्राउ परे । उनका वुवाले थुनामै छोरा भेट्न गएर आफ्नो छोरा कुलङगार भएको स्वीकार गर्दै सत्यलाई कवुल गरे । यस्ता कुलङगार छोराहरू अरू कसकसका छन् । पार्टीमा यस्ता कुलङगार कार्यकर्ताहरू कुन कुन नेताको नजिक छन ? कहाँ कहाँ छन् ? र कस्ता खालका कलाकारीता देखाउदै छन् ? दुनियाँले त देखे–भोगेको कुरा गर्छन । जस जसका जहाँ जहाँ छन तिनीहरू आफैले कवुल गर्ने या सुधार गर्ने काम गरे देश र समाजलाई फाईदा हुन्थ्यो होला ।

अहिले देशलाई शंकट परेको वेला अरू कयौ व्यवसायी, व्यापारी तथा अन्य कारोवारीहरूले आफ्नो कुलङगार रूप देखाई रहेका छन । स्थानीय तहहरूमा पनी कतिपय कुलङगारहरू गरीवीका नाममा जनतालाई मजाक बनाई रहेका छन् । सडेगलेका सामल तुमल वाडेर जनताको स्वास्थ्यमा खेलवाड गरेर लुट्न अग्रसर हुदैँछन् । यसले सवै नितिहरूको मूल नेता राजनीतिमा समेत स्थानीय तहदेखि केन्द्रसम्म केही कुलङगारहरूको कन्त विजोग प्रस्तुतिले वदनाम गरिरहेको छ । कुलङगारहरूको करामत विभिन्न क्षेत्रमा फरक फरक ढंगले प्रकट भैरहेको छ । यिनका दुष्कर्मले राजनीतिलाई समते वद्नाम गर्न खोजेको देखिँदैछ । यसलाई हामीले कुनै हालतमा स्वीकार गर्नुहुदैन ।

समाजलाई ठिक दिशामा हाक्ने जिम्मा लिएको राजनीतिले सवै तिर आशन जमाएर बसेका कुलङगारहरूलाई ठिक पार्दै अघि वढ्नु पर्ने हो । त्यो परिणाममा देखिएको छैन । अनी सवै नितिहरूका कमी कमजोरीहरूलाई सच्याएर सही ठाउमा ल्याएर हिड्नु पर्ने हो । त्यो पनी परिणामले देखाएको छैन । वरू त्यस्तो नितिगत निर्णय गर्ने ठाउँमा समेत त्यस खालका कुलङगारहरूले अड्डा जमाएर बसेको छनक पाईन्छ । कतिपय निर्णय र परिणामले त्यस्तो देखिएको पनी छ । कतिपय शन्दर्भमा त व्यङ्कारहरूका व्यङ्ग्य भन्दा वढी फजीत सुनेर आजीत छन न्याय प्रेमी जनताहरू । जस्ले हामीलाई अपार जनमत दिएर पठाए । जनताले सुनेको र भोगेको व्यङ्ग्य र फजीत गलत होस । आम जनता यही चहान्छन । अहीले भरखर सरकारले जारी गरेको अध्यादेशलाई पनी धेरैले बेमौसमी बाजाकै रूपमा लिएका छन् ।

आम जनता ले कोरोनाको कहरको विचमा यो किन आयो ठम्याउन सकिरहेका छैनन । कामकुरो एकातिर कुम्लो बोकी शितल निवासतिर किन हो ? प्रश्न नै प्रश्नको ओईरो छ । हरेक सवालको जवाफ हुनुपर्ने सरकार यो प्रश्नै प्रश्नको घेरामा हठात प्रवेश गर्न किन रमायो । वुझी नसक्नु भएको छ । एकदिन अवश्य सहि सत्य कुरा बाहिर आउला नै । अथवा यो बेमौसमी प्रयास आफै तुहिएर जाला हेर्न बाकी छ ।

फेरि पनी सत्य त आफै प्रकट हुन्छ । सत्यलाई कसैले छोपेर छोपिदैन । सत्यलाई सत्य हो भनेर जवरजस्ती कवुल गराउनु पनी पर्दैन । विद्युतका कुलमान घिसिङ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र पूर्व मन्त्री गोकर्ण विष्टलाई सच्चाई स्थापित गर्न र गरेर देखाउन जुग बिताउनु परेन । उनीहरूलाई आम मानिसहरूले नमुनाको रूपमा स्वीकार गरे । कसैले पनी यो संसारमा आफु मात्र सही हुँ भनेर हुदैन । आफैले आफ्ना कामलाई सहि भनेर मात्र पनी हुदैन । आफैले आफैलाई विशिष्टताको पगरी गुथाएर हुने होईन । सत्कर्म भनेको यस्तो चिज हो, त्यो आफै प्रकटहुन्छ ।

अहिले नभएपनी कालान्तरमा त्यो प्रकटहुन्छ । पानी भनेपछी खोलै तेर्स्याउनु पर्दैन । मान्छेको मनमा आफै पानी को छापहुन्छ । सत्कर्मलाई पनी परिणामले देखाउने हो । परिणाम सुन्दर न आएसम्म हामी जती सुकै उफ्रेर चिच्याउ, कराउ या ढोल नगरा पिट्दै हिडौ । केही हुने वाला छैन । कर्मको फल परिणामले देखिने हो । परिणाम सुन्दर नदेखिएसम्म हाम्रा कथित ईमान, सच्चाई र कर्मलाई जनताले वुझ्दैनन्, दुनियाँले पत्याउदैन र इतिहासमा लेखिदैन । यसर्थ राजननीतिक नेतृत्वले अव नयाँ वर्षको शुभ कर्मको रूपमा आफू भित्रै छिरेर राजनीतिलाई नै कुरूप बनाउँदै आई रहेका कुलङगारहरूलाई पहिचान गरेर ठिक पार्दै अघि वढ्नु पर्दछ । यसको लागि दरो सहास सहितको पाईला चाल्नु आवश्यक छ । नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना ।।। जय जय होस ।।। लेखक पूर्वमन्त्री हुन् ।

प्रतिक्रिया