महान् छिन् आमा

                      शोभा ढकाल

आमा ममताकी खानी हुन् । नौ महिना गर्भमा राखेर धर्तीमा पाइला टेकाउने आमाप्रति सर्वप्रथम हार्दिक नमन । आमा शब्द नै कति प्रिय छ । कुनै खुसी अर्थात् दुःखको अवस्थामा प्रायः मानिसको मुखबाट पहिला निस्कने शब्द पनि आमा नै हुन्छ । आमा बच्चाको जन्म दिने र पालनपोषण गर्ने नारी हुन् । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीलाई परम्परादेखि आमाको सम्मानमा मनाइँदै आएको छ । आमाको मुख हेर्ने दिनका रुपमा यसवर्ष आज बिहीबार यो पर्व मनाइँदैछ ।

आमालाई श्राद्धपूर्वक सम्मान र आदर गर्दै पुजिने यस दिनको महत्व निकै भावपूर्ण रहेको छ । आमालाई धर्तीसँग तुलना गरिन्छ । आमाको शक्ति नै मानव जातिको ऊर्जाको स्रोत पनि हो । सहनशील क्षमता आमाको सन्तानप्रतिको सबैभन्दा ठूलो गुण हो । सन्तानप्रतिको जिम्मेवारी वहन, पालनपोषण, शिक्षादीक्षाको अभिभारा बोक्ने नारीको रुप नै आमा हो । आमा आफ्ना सन्तानका लागि विशेष हुन्, आदर्श हुन्, मार्गदर्शक हुन्, जीवनयात्राको पहरेदार हुन्, उत्प्ररेक हुन् । आमा सीप सिकाउने प्रशिक्षक हुन्, ज्ञान सिकाउने गुरु हुन्, भविष्य देखाउने द्रष्टा हुन् । त्यसैले त आमाको महत्व सन्तानका लागि संसारमा सबैभन्दा ठूलो उपहार हो ।

भनिन्छ, घरमा एक नारी अर्थात् आमा शिक्षित छन् भने सन्तानको ज्ञानको दायरा निकै फराकिलो हुन्छ । उनीहरु नैतिकरुपमा आदर्शवान् र व्यवहारिक बन्न सक्छन् । यसले परिवार, सिंगो समाज र देशलाई नै व्यवहारिक बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आमा यो संसारमा निस्वार्थ माया गर्ने ममताकी खानी हुन् । कुनै आशविना आफ्ना सन्तानका लागि जीवनका सबै आयामलाई ममतामा बदल्ने संघर्षको नाम हो आमा । संघर्षमा हौसला, प्रेरणा दिने असफलतामा उत्प्रेरणाको शक्ति भर्ने व्यक्तित्व भनेकै आमा हो । जस्तोसुकै कठोर परिस्थितिमा आमाले सन्तानको भलाइका लागि आँशु लुकाएर आर्शिवाद दिन्छिन् ।

आमाको ममता नै बालबालिकाका लागि पहिलो पाठशाला हो । जहाँबाट उनीहरुले जीवनयात्रा र समाजका विविध पाटालाई सिक्ने र व्यवहारमा उतार्ने ज्ञान सिकिरहेका हुन्छन् । आमाविनाको घर जीवन्त हुँदैन । आमाकै कारण घरमा करुणा, माया, स्नेह, ममता र सफलताको दीप सधै प्रज्ज्वलित भइरहेको हुन्छ । आमाविनाको घर अपुरो हुन्छ । उनले नै सन्तानलाई असल संस्कार सिकाइरहेकी हुन्छिन् । जीवनयात्राका विभिन्न घुम्ती पार गर्न सिकाइरहेकी हुन्छिन् । अझै जीवनको वास्तविक चित्र बुझ्न र त्यसलाई पार लगाउन उनले अर्थात् आमाले आफ्ना बच्चालाई पाठ सिकाइरहेकी हुन्छिन् ।

यो दिन आमाको मुख हेर्ने मात्रै नभएर उनको महानताको सम्झना गर्दै सम्मान गर्ने दिन पनि हो । त्यसैले त आमा नभएकाले आमालाई विभिन्न तरिकाले सम्झने गर्दछन् । कसैले तर्पण तथा पिण्ड दिएर आमाको स्मृति गर्छन् भने कतिले दुःखी गरिबलाई भोज गराउने तथा अन्य यस्तै सहयोग गरेर आमाप्रति श्रद्धा प्रकट गर्छन् । कतिपय शास्त्रमा जन्मभूमिलाई आमाजस्तै मानिएको छ । जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी उल्लेख गरेको पाइन्छ । यदि संसारमा स्वर्गको अनुभूति कही हुन्छ भने त्यो आमाको काख हो ।

आमाको न्यानो काखमा पाइने आनन्द र सुखानुभूति सायदै संसारमा अन्यत्र पाइदैंन । आमा पवित्र मन्दिर हुन् । आमा सेतो कञ्चन रङ हुन् । आमाले खुवाउने सेतो दुधले बच्चालाई जीवनप्रदान गरिरहेको हुन्छ । त्यसैले आमा सेतो रङजस्तै पवित्र र स्वच्छ छन् । सायद संसारमा आमाको उपस्थितविना न राज्य बन्थ्यो, न त समाज न राजनीति या मानव अस्तित्व नै । मानव जातिको अस्तित्व जोगाउन र प्रकृतिलाई चलायमान बनाउन पनि आमाकै भूमिका अहम् रहिआएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले यस वर्ष आमा औँसीलाई प्रभाव परेको छ । लकडाउनका कारण कतिपय सन्तान आमाको सामिप्यमा पुग्न सकेका छैनन् ।

भौतिकरुपमा नजिक हुन नसके पनि आमाप्रति माया र सम्मान सायदै मानिसको जीवनमा असीमित र अतुलनीय हुन्छ । तसर्थ आमा शब्द नै सन्तानका लागि प्रिय छ । आमाप्रतिको आस्थालाई हामीले जगाइराखौं, जोगाइराखौं । झुक्किएर पनि बृद्धाश्रममा वर्षको एकदिन अर्थात् सामाजिक सञ्जालमा आजकै दिन आमाको फोटो राखेर सम्झिनुभन्दा आफ्ना सफलताको प्रत्येक पलमा आमाको ममतामयी स्पर्श, स्नेह, त्याग, संघर्ष आदिको स्मृति गरौं । यो नै आमाप्रतिको सन्तानको सच्चा सम्मान हुनेछ ।

प्रतिक्रिया