नेतृत्वले हिम्मत नहार ! मनोबल नगुमाउ

हिक्मत जंग मल्ल

नेपालमा कोरोना भाईरसको त्रास बढेसंगै हामि केहि सचेत व्यक्त्तिहरु नेपाल सरकारले Lockdown (बन्दाबन्दी) को निर्णय गर्नुभन्दा अगाडीबाट नै COVID-19 को बारेमा शिक्षा मुलक क्रियाकलापमा सकृय रहदै आएका छौं । यो असामान्य समय हामि सबैको लागि एउटा परिक्षाको घडी बनेको छ । अहिलेको समयमा आम सर्बसाधारण भन्दा पनि बिभिन्न तहतप्कामा रहेर समाजलाई नेतृत्व दिनेहरुको भूमिका अत्याधिक महत्वपूर्ण हुन्छ । सरकार संचालकहरुले प्रत्यक क्षण खेप्नु परिरहेको दबाब र जिम्मेवारीपन त सबैभन्दा बढी छ । तर यस्तो महामारीको डर अनि त्रास भएको समयमा सरकार संचालकहरुको सानो गल्तीको मुल्य देश र आम सर्बसाधारणहरुको लागि घातक बन्न सक्छ ।

यस्तो खालको समस्या सबैको लागि नयाँ भएकोले सरकार संचालन गर्नेहरु र समाजलाई सामान्य समयमा नेतृत्व दिनेहरु अलमलमा पर्नु स्वाभाविक हो । तर अलमल परियो भनेर आफ्नो जिम्मेवारीमा चुक्दा जतिबेला पनि कोरोना भाईरस र भोकमरीको महामारी देशभर फैलन सक्छ । अत्याधिक दबाबका कारण सरकार संचालकहरु आफ्नो काममा भन्दा पनि आत्मरक्षामा उत्रने प्रवृति बढेको देखिन्छ । यस्तो प्रवृतिले सबै पक्षसँग सहकार्य गर्दै काम गर्न अफ्ठ्यारो हुन्छ। त्यसैले सरकारको मनोबैज्ञानिक र व्यवहारिक पक्षलाई हेर्दै केहि सुझाबहरु दिएको छु ।

१. सरकार संचालन गर्नेहरु तथा सरकार बाहिर बसेर बिभिन्न क्षेत्रमा नेतृत्व गरिरहनु भएका व्यक्त्तिहरुले सबैभन्दा पहिला आफ्नो मनोबललाई उच्च राख्नुहोस् । यस्ता महामारीबाट बिजयी बन्नका लागि मनोबल नै सबैभन्दा ठुलो औषधी हो । तपाईहरुले देखाउने उच्च मनोबलले नै तपाईलाई हेरेर आश गरिरहेको देश र समाजको मनोबल उच्च हुने हो ।

२. बन्दाबन्दीलाई COVID-19 सँग लडने अस्थाई उपायको रुपमा हेर्नुहोस । हरेक क्षण स्मरण गर्नुहोस: COVID-19 भन्दा बाहिर हाम्रो जीवनको ठुलो हिस्सा छ ।

३. बन्दाबन्दीको समयमा हरेकको व्यक्तिगत, सामाजिक, आर्थिक, स्वास्थ्य उपचार लगायत धेरै आवश्यकताहरु पुरा गर्न राज्यले समन्वय गर्नु पर्दछ ।

४. बन्दाबन्दी भनेको हाम्रा सबै काम छोडेर ढोका लगाएर बस्ने अनि बन्दाबन्दी सकिएपछि सुरु गर्ने भनेको होइन । यस्तो समयमा नेतृत्वले सृजनात्मक उपाय खोजेर अझ सकृय वन्ने मनोविज्ञान विकास गर्नु पर्छ ।
५. सरकारको नेतृत्व गरेका अनि सरकारभन्दा बाहिर राजनीतिक गैह्र-राजनितिक नेतृत्वमा रहेकाहरुले “धनि देशले त सकेका छैनन्, हामि त् के गर्न सक्छौ र” भन्ने जस्ता निरीहता अनि निरासता देखाउने बिचारहरु व्यक्त्त नगर्नुहोस । सिमित साधन स्रोतका बावजुत तपाईले देखाउने उच्च मनोबलले देश भित्र मात्र होइन, धनि देशहरुको लागि पनि प्रेरणा हुन् सक्छ ।
६. हामीले यो महामारीको त्रासलाई त अवश्य जित्छौ तर आधारभूत आवश्यकता जस्तै नियमित औषधि उपचार, खानपिन, वासस्थान जस्ता कुराको अभावले कोहि पनि मर्न नपर्ने वातावरण बनाउन नेतृत्व अझ बढी जिम्मेवार बन । COVID-19 मात्र जपिरहदा धेरै नेपालीहरु देशभित्र अनि बाहिर हृदयविदारक अवस्थामा पुगिसकेका छन् । यसलाई अहिले समाधान गर्न नसक्ने नेतृत्वले देशमा COVID-19 ले भन्दा पनि ठुलो संकट निम्त्याउन सक्ने कुरामा ख्याल गर्नुहोस ।

प्रतिक्रिया