सरकारलाई ओम्नी समूह किन प्यारोे ?

सरकार कहिले यती नामक व्यापारी समूहका कारण विवादीत बनेको छ कहीले ओम्नी नामक समूहका कारण । बिचौलियाले व्यक्तिगत लाभहानीका लागि यस्ता सहमूह अघि सार्दा सरकारको साख गिराउने काम भएको छ । स्वास्थ्य समाग्री ल्याउने प्रकरणले सरकारसँग गाझिँएको ओम्नी समूहको सम्बन्ध बाहिरियो । उसले गरेको सबै जसो काम र त्यसको असरकाबारेमा एकपछी अर्को कर्तुत खुल्दै गएकाछन् । सरकारले ल्याएको नौ सय सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने महत्वाकांक्षी योजनाका तीन अर्बको ठेक्का पाउने पनि ओम्नी समूह नै हो । ६० लाखभन्दा बढीको मालसामान खरिदमा अनिवार्य रूपमा विद्युतीय बोलपत्र (ई–बिड) हुनुपर्ने कानुनी व्यवस्था रहे पनि नियम मिचेर सो कम्पनीलाई ठेक्का दिलाइयो । २५ देखि ३० हजारका कम्प्युटरलाई ८० हजारसम्मको लागत साबित गराई सो समूहले एक अर्बको काममा तीन अर्ब रुपैयाँ सरकारबाट असुलेको कुरा सार्वजनीक रुपमा आएकै हो । सो सरकारी ठोक्का ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलको नेतृत्वमा म्याक्स इन्टरनेसनल र नेपा हिमा ट्रेडलिंक जेभीले पाएको हो ।

सरकारी ठेक्काको एकछत्र राजगर्दे आएको ओम्नीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघि बढाएको चार हजार मेट्रिक टन कागज खरिद गर्ने प्रक्रियाको ४७ करोड ४६ लाखको ठेक्का पनि हात पार्यो । यी उदाहरण मात्रै हुन् । उसले चाहेका र काम भन्दा लाभ पनि हुने सबै जसो ठेक्का निर्धक्क हात लगाउँदै आएको छ । किन सरकारलाई ओम्नी समूह यति प्यारो लागेको छ ? प्रश्न आम मान्छेका बीचमा उठन थालेको छ । ठेक्का पाउनु गलत होइन, तर उस्ले लिएका ठेक्कले दिएका कामको गुणस्तर कस्तो छ प्रश्न त्यसैले सिर्नना गर्छ । जनक शिक्षा सामाग्रीको कागज किन्दा न्यून गुणस्तरको कागज भएको भन्दै उसका विरुद्ध उजुरी परेपछि गुणस्तर तथा नापतौल विभागले प्रयोगशालामा परीक्षण गरेको थियो । विभागले कागज पूर्वसर्तअनुसारको नभएको प्रतिवेदन दिएको थियो । तर, सो ठेकेदारलाई कारबाही नगरी पन्छायो । अहिले सिंगो मुलुक विपतमा परेको बेला सरकारले मेडिकल उपकरण ल्याउने जिम्मा पनि त्यही कम्पनीलाई दिनुको रहस्य के छ ?

सरकारलाई सल्लाह दिने नाममा नियुक्ती पाएका दर्जनौ सल्लाहकारको काम यति बेला यस्तै मान्छेलाई खोजी खोजी ठेक्का दिलाउने र आफू नाफा कमाउने बनेको छ । होइन भने पटक पटक दाग लागेको कम्पनी र व्यक्तिलाई किन दिइन्छ ठेक्का ? यस्ता कामले किन विवादीत बनाइन्छ सरकार र नेतृत्व गर्ने प्रधानमन्त्रीलाई ? चाकडी गर्ने र कमाउने नाममा खेलिने यस्ता खेलले सरकारको बदनामी गर्ने काम भएको छ । बालुवाटारको सिमित घेरमा बसेका बाहेक अरुले यस्ता काम गर्न सक्छन् भन्ने लाग्दैन । सरकारमा रहेका पनि सबै मान्छेको पहुँच त्यहाँसम्म नहोला । त्यसैले प्रधानमन्त्रीले बेला बेला भन्ने गरेको ‘आफू पनि भ्रष्ट्राचार गर्दिन र अरुलाइ पनि गर्न दिन्न’ यसलाई व्यवहारमा लागू गर्नुपर्छ । स्वार्थमा लिप्त भएकाहरुलाई बालुवाटार र सिंहदरबाट देखि टाडा राखियोस । यती र ओम्नी जस्ता अरु पनि होलान सबैको खोजविन गरी सर्तअनुसार काम गर्ने वातावरण बनाइयोस । गुडडी हाँकेर सरकारको धाक लगाउँदै खान पल्केकाहरुको दाना पानी बन्द गरीयोस । यसो गर्दा सरकारको छवी राम्रो बन्न सक्छ ।

प्रतिक्रिया