जनप्रतिनिधिले प्रहरीकै अघि कुर्सी प्रहार गरे

प्यूठान । जिल्लाको सौतामारेमा गुल्मीका जनप्रतिनिधीले प्रहरीकै अगाडी एक युवालाई कुटपिट गरेका छन् ।

प्यूठान, गुल्मी र अर्घाखाँचीको सिमाना रहेको सौतामारेमा कुराकानी गर्दागर्दै मदाने गाउँपालिका–६ गुल्मीका वडा सदस्य चक्र बहादुर जिसीले झिमरुक गाउँपालिका १ सौतामारे प्यूठानका १८ वर्षीय विष्णु जिसीलाई कुर्सी प्रहार गरि कुटेका हुन ।

कुर्सी प्रहारबाट जिसीको दुवै आँखामा चोट लागेको छ । मदाने गाउँपालिका गुल्मीले सौतामारे प्यूठानमा संचालन गरेको हेल्थ डेक्समा जाँदै गर्दा युवा माथी वडा सदस्य जिसीले कुटेको स्थानीयले बताएका छन् । उनी १५ दिन अघि भारतबाट घर आएका थिए ।

हेल्थ डेक्समा खटिएका प्रहरीकै अगाडी वडा सदस्य र उनका आफ्न्तले कुटेको स्थानीय युवा कपिल जिसीले बताए । कुटिरहेको अवस्थामा अर्घाखाँचीबाट खटेका प्रहरीले छुट्याउन खोजेपनि गुल्मीबाट खटेका एक जना प्रहरी मुखदर्शक बनेर बसेको प्रत्यक्षदर्शीले बताए ।

कोरोनाको भाइरस फैलिन नदिनका लागि सोमवार बिहान झिमरुक गाउँपालिका १ प्यूठानका वडा अध्यक्ष धुर्वराज खनालको पहलमा प्यूठान प्रवेश गर्न रोक लगाउने गरी सौतामारेमा बेरियल राखिएको छ । उक्त बेरियलमा कुटाइ खाएका युवालाई हेरालुको रुपमा राखिएको थियो । बेरियलदेखि छेउँमै हेल्थ डेक्स संचालन गरिएको छ । ‘सामान्य विषयमा भनाभन हुँदैमा हात हाल्नु राम्रो भएन’,झिमरुक १ का वडा अध्यक्ष धुर्वराज खनालले भने,‘बौद्धिक लडाई पो गर्ने हो, हातै हाल्नु समस्याको समाधान होइन् ।’

वडा सदस्य चक्रबहादुर जिसीले आफूले हात हालेको स्वीकार गरेका छन् । ‘त्यो भाइले पनि मलाई हात हाल्यो’,उनले भने, ‘हेल्थ डेक्समा सवैजना जानुहुँदैन भनेर सम्झाउँन खोज्दा झगडा भएको हो ।’ उनको पुर्कोटदह स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

हेल्थ डेक्समा गुल्मीबाट एक जना मात्र प्रहरी खटेकाले धेरै जनताका अगाडी केही गर्न नसकिने इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पंकज चुँजालीले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिँह खड्काले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन ।

पछिल्लो समय सौतामारेमा बढी घटनाहरु हुन थालेको स्थानीयबासीले बताएका छन । सौतामारे तीन जिल्लाको सिमानामा पर्ने भएकोले सुरक्षाको हिसाबले उक्त स्थानमा प्रहरी विट राख्न माग गरेपनि स्थानीबासीको माग पूरा नभएकोले गुनासो गरेका छन ।

प्रतिक्रिया