लम्बीयो क्‍वारेन्टाइन अवधि

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी बनाउन क्‍वारेन्टाइन बसाइ लम्ब्याउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप्दै वैशाख ३ सम्म पुर्याएलगत्तै क्‍वारेन्टाइन बसाइ पनि लम्ब्याउने निर्णय गरेको हो।

विदेशबाट आउने र नेपालमा बसेका सम्भावित कोरोना संक्रमितलाई सरकारले अहिले १४ दिनसम्म क्‍वारेन्टाइनमा राख्ने गरेको छ। तर यसलाई पनि लम्ब्याएर कम्तीमा २१ दिन पुर्याइएको हो। अब १४ दिन क्‍वारेन्टाइनमा बसेपछि निस्किएका व्यक्तिले थप सात दिन होम क्‍वारेन्टाइनमा बस्‍नुपर्नेछ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले १४ दिन क्‍वारेन्टाइनमा बसेपछि थप सात दिन अनिवार्य होम क्‍वारेन्टाइनमा बस्‍नुपर्ने नियम ल्याइएको जानकारी दिए। उनले होम क्‍वारेन्टाइनमा बस्‍नेको अनुगमन स्थानीय तहले गर्ने पनि जानकारी दिएका छन् ।

कोरोना भाइरस नेपालमा दोस्रो चरणमा पुगेसँगै सरकारले सजगता अपनाउँदै अझै कडा नियम लागू गरेको हो। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.विकास देवकोटाले क्‍वारेन्टाइन बसाइलाई १४ दिनबाट बढाएर २१ दिन पुर्याइएको जानकारी दिएका छन्।

उनका अनुसार मन्त्रिपरिषद्को निर्णय लिइ क्‍वारेन्टाइनको अवधि १४ दिनबाट बढाइएको हो । कोरोना नियन्त्रणका लागि कडा आचारसंहितासहित क्‍वारेन्टाइन बसाइ प्रभावकारी हुने भएकाले यस्तो निर्णय लिइएको उनले बताए ।

प्रतिक्रिया