विदेशबाट आएका ३५३ सम्पर्कमा

काभ्रे । काभ्रेपलाञ्चोमा ३ सय ५३ विदेशबाट हाल घर फर्किएको तथ्यांकले देखाएको छ । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो ।

तेह्र स्थानीय तहबाट गत फागुन १६ गतेयता वैदेशिक रोजगारीबाट घर फर्किएकाको विवरण प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी पनौती नगरपालिकामा १ सय १ विदेशबाट फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालयले १३ स्थानीय तहलाई आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण संकलन गर्न पत्राचार गरेको थियो । बनेपा नपामा ४०, पाँचखाल नपामा ३६, मण्डनदेउपुर नपामा ३७, नमोबुद्ध नपामा १५, धुलिखेल नपामा २० तथा रोशी गाउँपालिकामा १७, तेमालमा १९, भुम्लुमा १८, बेथानचोकमा १६, खानीखोलामा ११, चौँरीदेउरालीमा आठ र महाभारत गाउँपालिकामा १५ जना सम्पर्कमा आएका छन् ।

मण्डनदेउपुर नपामा विदेशबाट फर्किएका आठलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको धुलिखेल अस्पतालमार्फत निगरानीमा राखिएको डा. झाले बताए । पाँचखाल नपामा दुई र बनेपा नपाको एकलाई धुलिखेलस्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट फर्किएका अन्यलाई ‘होम क्वारन्टाइन’ मै बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

व्यवस्थित क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेकालाई स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको डा. झाले बताए । ‘उनीहरुको स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीलाई भन्न वा अस्पताल जान सुझाव दिइएको छ’ उनले भने ।

विदेशबाट फर्किएकाको थप जानकारी आए स्थानीय तहमार्फत सम्पर्कमा ल्याइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, ‘विदेशबाट फर्किएर सम्पर्कमा आएकाको हालसम्मको प्रारम्भिक स्वास्थ्य परीक्षणमा कुनै पनि लक्षण देखिएको छैन ।’ काभ्रेपलाञ्चोकमा २७ देशबाट घर फर्किएको पाइएको हो । भारतपछि दुबईबाट फर्कनेको संख्या अधिक रहेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया