कवितामा उत्पीडनको चर्चा

तेजविलास अधिकारी

‘आहुति’ अर्थात् विश्वभक्त दुलाल (वि.सं. २०२३) काठमाडौंमा जन्मिएका औपचारिक र अनौपचारिक अध्ययनले खारिएका व्यक्तित्व हुन् । साहित्य, संस्कृति, राजनीति वा अर्थनीति उनको गहन अध्ययनले विश्वविद्यालयका प्राध्यापकलाई सिधैं चुनौती दिनसक्छ । २०४३ सालबाट साहित्यमा प्रकाशित उनी निरन्तर साधनारत् छन् । ‘तपस्वीका गीतहरू’ कवितासङ्ग्रह–२०४९, ‘नयाँघर’ उपन्यास–२०५०, ‘स्खलन’ उपन्यास–२०५९, ‘गहुँगोरो अफ्रिका’ कवितासङ्ग्रह–२०७१ उनका लगायतका उनका साहित्यिक कृति प्रकाशित छन् । आहुतिका समाज, संस्कृति, भाषा, दर्शनजस्ता गहन विषयमा विचारोत्तेजक सयौं लेख प्रकाशित छन् । हक्की स्वभाव, तार्किक शैली र गहन ज्ञानका कारण आहुति आफ्नो वर्ग, जाति र इतिहासप्रति गौरव गर्दछन् ।

उनले नेपाली समाजमा देखिएको जातीय विभेद र वर्गीय असमानतालाई निमिट्यान्न पार्न राजनीतिले हस्तक्षेप गर्नुपर्ने धारणा राख्छन् । जीवन र जगत्लाई हेर्ने उनको आफ्नै आँखा पर्याप्त छ जसले कसैको शङ्कापूर्ण, हेयपूर्ण नजरलाई पुरै नकार्ने गर्दछ । नेपालको वर्गीय समाजभित्रै जातीय प्रश्नलाई स्थान दिनुपर्ने र समाधान खोज्नुपर्ने उनको विचार बलियो सङ्गठन, वैचारिक नेतृत्व र इमान्दार यात्रा नै यसको कार्यविधि हुने दलिल छ । साहित्यका सबैजसो विधामा नवीन विचार दिनसक्ने आहुति आशावादी नजरबाट विश्वलाई हेर्ने उनको जीवनदर्शनले हजारौं युवालाई सिर्जनात्मक हस्तक्षेपमा आकर्षित गरेको छ ।

‘गहुँगोरो अफ्रिका’ जम्मा २८ ओटा कविता समावेश वर्तमान समयको वैचारिक दस्तावेज हो । कविता गद्य शैलीमा लेखिएका आलोचनात्मक चेतको तीव्रता र जीवन सच्चाइको हुटहुटी उनका कविताको भित्री चुरो हो । अन्यायमा परेकालाई चेतनशील बनाउने उनको लेखन विभेदको उत्खनन् गर्न अग्रसर हुन्छन् । विभेद कस्तो छ मात्र होइन, यसको ऐतिहासिक कारणको खोजी र वैज्ञानिक समाधान खोज्नु कविको एकमात्र लक्ष्य बनेको छ । पाठकलाई झङ्कृत गर्ने र वैचारिक खुराकले बुझाउन सक्षम उनका कविताभित्र दिक्दारलाग्दो विचार प्रस्तुति कतै फेला पर्दैन । केही कविताले यसरी छुन्छ जो मन मस्तिष्कमा निरन्तर बास बस्छ र हाम्रो सामन्ती, उच्चजाति हुँ भन्ने अहङ्कारलाई डसिरहन्छ ।

विषयतर्फ
कवितासङ्ग्रहको पहिलो खण्डमा सिर्जनात्मक हस्तक्षेपका लागि अठ्ठाइस ओटा कविता दोस्रो खण्डमा मेरो कविताको कथा वा रचनागर्भ छ । त्यसैमा सम्पादक सङ्गीतको टिप्पणी छ । ‘गहुँगोरो अफ्रिका’ सङ्ग्रह पहिलो परिचय हो भने समालोचकीय चेतको आलोचनात्मक पाटोलाई वस्तुपरक विश्लेषण यसको आकर्षण हो । सत्ता र नजिक रहेर चाकरी गर्नेलाई अनुच्छेद–अनुच्छेदमा झापड हान्न सफल उनको ‘कविताको कथा’ नपढे कविता नपढेको अनुभूत हुन्छ ।

एकसरो पठनले उनीप्रति रिस उत्पन्न हुन्छ, दोस्रोचोटि पढ्दा महशुस हुन्छ र तेस्रोपटक पढेपछि वैचारिक उथलपुथल उत्पन्न हुन पुग्छ । समयक्रमका हिसाबले २०५१ सालदेखि २०७१ सालसम्मका कविता यहाँ छन् । नेपाली राजनीतिको आशापूर्ण समय र वैचारिक स्थापत्य कलाको निर्मितिकालका जबर्जस्त रचना समयको प्रतिनिधि सिर्जना हो । दुई दशकको आन्दोलन, यात्रा र योजना यस सङ्ग्रहमा प्रकट भएको छ । कविलाई अनुहारभन्दा व्यवहारमा र सिर्जनामा कतैकतै फरक देखिनु स्वभाविक होला तर उनको वैचारिक चुरोले उनका कवितामा धमिरा लाग्न दिएका छैनन् ।

विचार पक्षलाई नबुझ्नेहरू उनलाई दलितका प्रतिनिधि, जनयुद्ध र कम्युनिस्टको प्रवक्ता देख्लान् तर उनको कविताको चेतको स्रोत नेपाली समाज र यसको सुदूर निर्माण हो । निरन्तर लेखन र परिष्कृतका कारण माझिएका विचारले नेपाली कविता यात्रामा रिमाल, भूपि, पारिजात, इच्छुक, पूर्णविरामजस्ता प्रतिभाका बिच समतुल्य आहुति आफूलाई लाल र निपुण दुवै ढङ्गले प्रस्तुत गर्न चुकेका देखिँदैनन् । जीवन बाँचेका मुर्दा नेता र जागिरे संस्कृतिकर्मीका विरुद्धमा उनले गहन विश्लेषण गर्दै आक्रमण गरेका छन् ।

निम्न, मध्यम र मध्यम वर्गीय पेटी चिन्तनले नै नेपालीलाई छलाङ मार्न दिएका छैनन् । पहिलो कुरा त मानसिकतामा रहेको दलित र निम्न वर्गप्रतिको दृष्टिकोण भत्कनुपर्छ र सिर्जना हुनुपर्छ समान व्यवहारको दिव्य चेतना । उनको विचार आक्रामक मात्र छैन शैली मिठासपूर्ण पनि छ । सत्ताले लिएको उपभोक्तावादी चिन्तन र त्यसका शिकार भएकालाई उनी सत्य तथ्यपूर्ण ढङ्गले विचरा ! भन्दछन् । नेपाली समाजमा देखिएको सम्मान र निन्दा परम्परा सत्ताले गरेको व्यवहारबाट निर्देशित मात्र नभएर गरेको विभेदसँग अर्थतन्त्रको नाता छ ।

पुँजीवादले व्यक्तिलाई वस्तु र वस्तुलाई जड बनाएकोप्रति उनको असहमति छ । सबै मानिस समान हुनुपर्नेमा कसैलाई कसैले केही पगरी गथाइदिने र पगरी गुथेर हनुमान बन्ने प्रवृत्तिले मपाइत्वमा लगेर सिध्याइदिएको पीडा उनी सुनाउँछन् । शक्तिशाली भनिएकाहरू नै राज्यको सम्पत्ति खाने, लुट्ने र जनता लुटिने स्थितिले तिनलाई जीवनको अन्तिम घडीमा जनताले सत्ताको मतियार बुझ्ने अवस्थाको अन्त्य गर्नुपर्दछ भन्ने उनको मत छ ।

‘पुँजीवादी समाजमा संस्थागत निर्णय गरेर नै त यस्ता पद सामान्यतया बाँड्ने गरिन्न बोलीचालीमा प्रयोग भने गर्ने गरिन्छ । नारायणगोपाललाई ‘स्वर सम्राट’ भन्नु अनि छोरा बच्चालाई ‘मेरो राजा’ र छोरी बच्चालाई ‘मेरो छोरो’ जस्ता शब्दको प्रयोग वास्तवमा सामन्तवादी सोचकै अवशेषहरू हुन्, जुन त्यसरी प्रयोग गर्नु बिल्कुल गलत हुन्छ ।

अर्कोतिर पुँजीवादमा व्यापारिक संस्थाहरू र तिनका योजनाकारहरूले खास व्यक्तिको प्रतिभा वा खास चिजलाई विलक्षणीकरण गरेर त्यसलाई व्यापारिक मालमा रूपान्तरण गरेर व्यापार बढाउन पनि यस्ता विशेष परिचय योजनाबद्ध रूपमा निर्माण गर्ने गरेका छन् । त्यो चाहिँ विज्ञापनको एउटा तरिकाबाहेक अरू केही होइन ।

जस्तैः राजेश हमाल ‘महानायक’, अमिताभ बच्चन ‘बिग बि’, शाहरुख खान ‘किङ खान’ अनि विश्वसुन्दरी, नेपाल सुन्दरी आदि–इत्यादि ।’ (पृ. १३९) यस्ता विषयलाई उपभोक्तावादको यात्राको रूपमा राम्ररी प्रमाण पु¥याएरै कविले विवेचना गरेका छन् । उनले अगाडि भनिसकेका छन् युग कहाँ पुगिसक्यो, सधैं सिद्धिचरणलाई ‘युगकवि’ भन्नु उनकै अपमान हुन्छ । त्यसैगरी उनले राष्ट्रकविको जेलबाट माधव घिमिरेलाई मुक्त गर्न सुझाव दिएका छन् ।

कविता विचार
कवि गर्वसाथ आफू दलित भएकोमा बोल्छन्, देशभित्र काला जाति र श्रम गर्नेप्रति हेप्ने परम्पराको राम्रोसँग विरोध गर्छन् । श्रमको आधारमा छुट्याइएको जातिलाई नबुझेर अरूलाई पशुको व्यवहार गर्ने र गर्न खोज्नेप्रति विवेकहीन भन्छन्, उनी ।
आँखा जुँधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको ‘अछुत’ हुँ ।
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
स्वभाविक रूपमा शासक जातिले दमन उत्पीडनको जिम्मा लिने र क्षतिपूर्ति दिने गर्नुपर्छ वा पर्दैन । यहाँ निश्चित थर, वर्णभन्दा पनि शासकीय सोच राखेर राज्य नियन्त्रणमा अरूमाथि दासत्व लाद्नेप्रति जवाफ मागिएको छ ।
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुँधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ ।
एउटा सफाइ मजदुरविना समाज कसरी सफा हुन सक्छ । जसले सेवा गरेको छ उसैलाई हेला ? यो कस्तो चेतनाको खेती हो ? जाति के समग्र मानव एउटै जाति होइन ? श्रमलाई उपयोग गर्ने तर श्रमिकलाई हेला गर्ने प्रवृत्ति नै मानव समाजको अपमान गर्ने व्यवहार हो । केही व्यक्तिको मतियार बनेर जातिका आधारमा आफूलाई उच्च देखाउनेलाई राम्ररी बुझ्नसमेत आग्रह गरिएको छ ।

कविताले यसरी गहन चिन्तन गर्न बाध्य पार्छ कि चेतन मस्तिष्क नघोत्लिरहनै सक्दैन । केवल यहाँ भेदभावको तथ्यपूर्ण विरोध हो । बाधक पन्छाउनुको बिकल्पै छैन । ‘शीर्षक’ कविताले नै कवितासङ्ग्रहको विषयको बोधलाई राम्ररी खोलेको छ । बलशाली विषय र चुनौतीपूर्ण आह्वानबाट सुरु भएको यस कविताको भावले समानता, भेदभावरहित समाजको आह्वान र सहअस्तित्वको अनुभूत गरेको छ ।

कविले देशको स्वतन्त्रताका निम्ति लड्नेले सदा सढेगलेका प्रवृत्तिप्रति औंला उठाएको सन्दर्भ यहाँ उल्लेख छ । कविले चेतना गुमाएर जनता दबाउनेहरू बाँच्न अरूमाथि शासन गरिरहेको भए पनि ती मूर्दासरि जीवन बाँचिरहेको दलिल जोडका साथ उठाएका छन् । उनीहरुले ¥याल र सिँगानको घिनलाग्दो यात्रा गरिरहेको मत कवितामार्फत प्रस्तुत गरेका छन् ।

भविष्यको गीत गाउने आजादहरू साँच्चै आजाद हुन चाहन्छन् र गाउँछन् आजादीका गीत । कविले समाज र परिवारभित्रको अर्को पाटो जो कमजोर बनाइएको छ, षड्यन्त्रको जालोमा पारिएको छ तिनलाई ‘नारी’ पुरुष शासक बनेर नारीमाथि शासन गरिरहेको विचार प्रकट गरेका छन् ।
नारी !
तिमी सुदूर अतीतदेखि
समस्त कर्मशील आँखाहरूसँगै रोयौ
समस्त कर्मशील हातहरूसँगै लुटियौ

यस युगमा पनि
तिमी बनिरहिछ्यौ पुरुषकी रानी
प्रेमीव्रता असल प्रेमिका
समस्या पुरुषको शासक सोच र नारीको शासित मनोवृत्ति हुँदैतिर छ । जसका कारण समाजको निर्णायक नारीचेत उठाउन जरुरी छ । अस्तित्वको भाव उमार्न आवश्यक छ । नारी नेतृत्व सवल भएमात्र देशले सही विचार पाउने कविको ठम्याइ रहेको छ ।

प्रतिक्रिया