भैँसी गाउँबाट शहरमा झारियो

तनहुँ । शिक्षक पेशा छाडेर व्यावसायिक रूपमा भैँसीपालनमा लागेका व्यास नगरपालिका–१३ का ३८ वर्षीय ईश्वरराज पन्थले गुदी गाउँबाट शहर नजीक व्यास–४ सिमलटारमा भैँसी झारेका छन् । कोभिड–१९ नियन्त्रणका लागि लकडाउन घोषणासँगै पन्थले आफ्नो फर्ममा रहेका २२ मुर्रा भैसीलाई पृथ्वीराजमार्ग नजीक झारेका हुन् ।

सदरमुकाम दमौलीदेखि करिब ८ किलोमिटर दूरीमा गुदीमा पराल र चोकर ढुवानी गर्न असहज र दूध बिक्री गर्नसमेत कठिनाइ हुने भएकाले दमौली बजार नजिकै भैँसी झार्नुपरेको कृषक पन्थले बताए ।

लकडाउन सुरुको दिन दूध लिएर दमौलीतर्फ जाँदै गर्दा प्रहरीबाट विनाकारण आफूलाई यातना दिइएको दुखेसो पनि उनले पोखे । लकडाउनका कारण परालको ट्रक पनि राजमार्गमा रोकिएको थियो । उनले भने, ‘राजमार्ग नजीकै अस्थायी रुपमा फर्म राखेपछि ढुवानी गर्न सजिलो भएको छ,लकडाउन खुलेपछि पुरानै स्थलमा लैजाने छु ।’

प्रतिक्रिया