विदेशबाट आएकाहरूको घरमा रातो चिन्ह

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ । गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो ।

कोरोना भाइरस को संक्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिए ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिन्ह राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

विजयनगर गाँउपालिकाको वडा नं १ मा ५२ जना, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिन्ह लगाइ सकिएको छ भने वडा नंं ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिन्ह लगाउने कार्य जारी रहेको बताइएको छ ।

गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए । रातो चिन्ह राखिएको घरको पहिचान हुनुका साथै संक्रमणबाट सचेत पनि हुने र तथ्यांक संकलनमा सहज हुने उनले बताए ।

प्रतिक्रिया