कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड दिने

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ सहयाेग जम्मा गर्ने घोषणा गरेका छन् ।

पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोषमा २ करोड सहयोगको घोषणा गरेका छन् । सहयोगको घोषणा गर्ने क्रममा पूर्वराजा शाहले भनेका छन्, ‘दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई २ करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’

उनले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन ।’ लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने उनको जोड छ ।

‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’ उनले आफ्नो प्रेस वक्तव्यमा भनेका छन् ।

पूर्वराजा शाहले वक्तव्यमा महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।’

उनले आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै यसको उच्च सराहना गर्ने बताएका छन् ।

प्रतिक्रिया