कोरोनाको संक्रमण र भूमण्डलीकरण

            डा. लक्ष्मण सिह कुँवर

आज हामी कोभिड –१९ को विश्वव्यापी प्रकोपबाट आक्रान्त छौँ । आजका मितिसम्म यो प्रकोपबाट आठ लाखभन्दा बढी जनसंख्या संक्रमित छन् भने झण्डै ३८ हजारको ज्यान गइसक्यो । विश्वव्यापी रूपमा यसको संक्रमित दरमा कमी आएको छैन । कोभिड –१९ को नियन्त्रणका सम्बन्धमा अध्ययन अनुसन्धान जारी छ । तर, ठोस उपलब्धि हासिल नभएको अवस्था छ । चीनको हुवान प्रान्तबाट यो प्रकोपको उत्पति भएको भनिएता पनि अहिले यसको बढी प्रभाव अमेरिकी र यूरोपेली महादेशका मूलुकहरूमा देखिएको छ । सरसर्ती हेर्दा कोरोनाको प्रकोपका सम्बन्धमा केहीले सामान्य रूपमा लिएका छन् भने कतिपयले विश्वको शक्ति सन्तुलन बदलिनेसम्मको आँकलन गरेका छन् ।

निश्चय पनि कोभिड –१९ को प्रकोप नियन्त्रण हुन्छ नै । तर, यसको   नियन्त्रणको क्रममा र यस पछिका चरणमा विश्वको राजनीति तथा आर्थिक अवस्थामा के कस्ता परिवर्तनहरू आउने हुन् भन्नेमा सर्वत्र चासोको विषयवस्तु बनेको छ । जुन हनु पनि स्वाभाविक छ । अझै कुल ग्राहास्थ उत्पादनको ३० प्रतिशत विप्रेशणले हिस्सा ओगट्ने हाम्रो जस्तो देशको अवस्था के हुने ? कोभिड –१९को नियन्त्रण पश्चात् पनि यसले मानिसहरूमा पार्ने मानसिक तथा सामाजिक प्रभाव मात्र नभई देश–देश बिचको कुटनीतिक तथा आर्थिक सम्बन्धहरू के कस्ताहुने हुन् भन्नेमा चर्चा हुन थालेका छन् ।

अहिले भूमण्डलीकरणको नीतिले विश्वको हरेक देशहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित छन् । त्यसैले अहिलेको युगलाई भूमण्डलीकरणको युग पनि भनिन्छ । त्यसैले अब आँकलन गरिने विश्व अर्थ राजनीतिको परिवर्तन वर्तमान भूमण्डलीकरणको जगमा रहेर गरीनु सान्दर्भिक हुनेछ । प्राचिनकालमा व्यपारीहरूले आफ्ना देशमा नभएका वा अभाव हुने वस्तुहरु प्राप्त हुने अन्य देशमा गएर ल्याई आफ्नो देशमा मुनाफा लिई बिक्रि गर्दथे । यसलाई नै भुमण्डलीकरणको जगको रूपमा लिईन्छ । सन् १९९० को दशकमा विश्वका धेरै देशहरूमा राजनीतिक तथा आर्थिक संकट पैदा भए ।

यस अवस्थामा पूँजीवाद तथा यो सम्वद्ध अन्र्तराष्ट्रिय संघ संस्थाहरूले भूमण्डलीकरणलाई प्रभावशाली बनाउँन नवउदारवाद (Classical liberalism or “laissez faire) को सन् १९८० मा पुर्न नामाकरण) , नीजीकरण र भूमण्डलीकरणको नीति अवलम्वन गरे । नवउदारवाद र नीजिकरको प्रकृयाले भूमण्डलीकरणलाई सहजता प्रदान गर्दछ, त्यसैले यी तीन शब्दावलीहरू अन्र्तसम्बन्धित छन् । नवउदारवादअन्र्तगत राज्यले अवलम्वन गर्दै आएका आर्थिक तथा सामाजिक ऐन नियमहरू खुकुलो पार्दे राज्यको उपस्थिती सबै कमजोर पार्ने । नीजीकरण अन्र्तगत सरकारी तथा सार्वजनीक स्वामित्वमा रहेका व्यापार, संघसंस्था, उद्योग कलकारखनाहरू नीजी क्षेत्रलाई हस्तान्तरण गर्ने ।

त्यस्तै भूमण्डलीकरणको प्रकृया अन्र्तगत विभिन्न देशका नागरीक, संघ, संस्था, उद्योग तथा सराकारहरुबीच एकीकृत सहकार्य हुने उल्लेख छन् । उल्लेखित उदारवाद, नीजिकरण र भूमण्डलीकरणको प्रावधान अवलम्बन गर्नै राष्ट्रहरुमात्र पूँजीवादी मूलुकद्वारा सञ्चालित अन्र्तराष्ट्रिय वित्तीय संघ संस्थावाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्नका लागि योग्य भए । आज विश्व पूँजीवादलाई नवउदारवाद, नीजीकरण र भूमण्डलीकरणले यहाँसम्मा ल्याई पुर्यायो । सन् २००० मा विश्व मौद्रिक कोषले भूमण्डलीकरणका आधारभूत क्षेत्रअन्र्तगत व्यापार र कारोवार, पूँजी र लगानी, मानवचाल र बसाँई सराई, ज्ञाकनको आदानप्रदानका साथै वातावरणीय चुनौती समावेश गर्यो ।

हाल बौद्धिक क्षेत्रमा आर्थिक, संस्कृती र राजनीतिक गरी तीन उप शिर्षहरूमा भूमण्डलीकरणको अध्ययन, अनुसन्धान र विश्लेषण हुने गरेको छ । सन् १९९० को दशकपछि नेपालको अर्थ राजनीति नवउदारवाद, नीजीकरण र भूमण्डलीकरणबाट निर्दिष्ट हुदै आयो । फलस्वरूप राज्यको स्वामित्वमा रहेका थुप्रै उद्योग, कलकारखानाहरू नीजी क्षेत्रलाई हस्तान्तरण गर्ने ऐन नियामहरु बने । राष्ट्रको पहिचानसहित रोजगार प्रदान गर्दै आएका प्रतिष्ठित उद्योग, कलकारखानाहरू नीजी क्षेत्रलाई सुम्पिने काम भयो । आज तीनको नाम निशानासमेत छैन ।

यसले राष्ट्रिय उत्पादन र रोजगारीमा प्रतिकुलता ल्यायो । देशको बेरोजगार युवा जनशक्ति भूमण्डलीकरणको बैशाकी टेकी विदेशमा सस्तो मूल्यमा श्रम बेच्ने कार्यले तीब्रता पाउँदै आयो । आज उपलब्ध जनसाख्यिकं लाभाशं देशको समृद्धिको यात्रामा सहभागी हुने अवसरवाट बञ्चित छन् । नेपालबाट भारतसहित सबै मूलुकमा रोजगारीको लागि भाँैतारीनेहरूको संख्या आधा करोड हुन सक्छ । त्यति मात्र नभई भूमण्डलीकरणको परिवेशमा भएका घर जग्गा बेच्ने, बैंकमा धितो राखी विदेशी विश्व वद्यिालयमा भर्ना हुने, विदेशमा श्रम गरी लाग्ने विश्व वद्यिालयको शुल्क तिर्ने, रोजगार र पिआर को लागि विदेशमा भौतारीरहने नेपाली यूवाको नियती बन्दै आएको छ ।

यी यूवा तथा विद्यार्थीहरू रोजगार र शिक्षाको लागि विदेश भौतारीनुमा उनीहरूको के दोष ? हामीले त्यस्तै वातावरण सृजना गर्दै आयौँ र यसलाई नवउदारवाद, नीजीकरण र भूमण्डलीकरणबाट निर्देशित हाम्रो अर्थ राजनीतिअन्र्तगत अवलम्वन गरीएको नीतिहरु परिणाम मान्नु पर्छ । आज भूमण्डलीकरणले कमजोर अर्थ व्यवस्था भएका देशहरूको अवस्था झन् कमजोर बनाइदिएको छ । राष्ट्रिय उत्पादन र रोजगार क्षेत्र दिन प्रतिदिन संकुचन हुँदै छ । वैदेशिक ऋण र व्यापार घाटा बढ्दो छ । शक्ति र सम्पति केही सीमित व्यक्तिमा केन्द्रीत भएको छ । यू.एन. आई. ग्लोवल यूनियन एशिया र प्यासिफिक अर्गानाईजेशन, सिंहापुरका क्षेत्रीय निर्देशक जयश्री प्रियलालका अनुसार नवउदारवाद, नीजिकरण र भूमण्डलीकरणको घोषित लक्ष्य खुल्ला बजारको माध्यामद्वारा विश्वका सबै क्षेत्रको आर्थिक बृद्धि गरी लाखौँ लाख गरिव जनसंख्याको उत्थान गर्नु थियो ।

तर, नतिजामा सरकारहरु बढ्दो ऋणसहित कमजोर बन्दै आर्थिक घाटा बढाउँदै छन् । बहु राष्ट्रिय कर्पोरेशनहरु झन् बलिया हुँदै छन् । नाफाको नीजिकरण र समस्याहरूको सामाजिकीकरण गर्नु नै अन्तिम लक्ष्य देखिएको छ । के विश्वास गरीँदै छ भने जनता समाजमा हैन बजारमा बसिरहेका छन् । १ प्रतिशत मानिसको फाईदाको लागि आम्दानी, सम्पत्ति, शिक्षा, र आधारभूत स्वास्थ्य सेवाहरूमा असमानताका खाडल फराकिला हुँदै छन् र ९९ प्रतिशत मानिसहरू पिल्सिन बाध्य छन् । यो हामीले पनिभोगेको यथार्थ हो । आज भूमण्डलीकरणको सुत्राधार गर्ने पूँजीवादी राष्ट्रहरु तथा यी सम्वन्धित संस्थाहरु कोभिड –१९ को यो विश्वव्यापी प्रकोपमा भूमीका विहीन जस्तै देखिएका छन् ।

यूरोपियन यूनीयनबाट संयुक्त अधिराज्य बाहिरीनु, अमेरीकी राष्ट्रपतिको देशभित्र तथा बाहिर संक्रामक कोभिड –१९ नियन्त्रणप्रति ठोस कार्य योजना मात्र नभई अस्थिर भनाईहरु पटक–पटक आउनु, तुलनात्मकरूपले भूमण्डलीकरणका पक्षपाती देशहरुमाहाल राष्ट्रबादी भावना बढ्दै जानुले पनि भूमण्डलीकरणको विकल्पको बहशले स्थान पाउने देखिन्छ । नवउदारवाद र नीजिकरणले स्वास्थ्य सेवाको क्षेत्रमा हाल कोभिड –१९ को उपचारको क्रममा पारेको असहज परिस्थितीेले अमेरीकालगायतका देशहरु कर्तव्यमुढ देखिन्छन् ।

विश्वमा कोभिड–१९ को संक्रमण हुनु अगावै अमेरिका र चीनबीच व्यापार युद्ध प्रारम्भ भएको छ । यो नवउदारवाद, नीजिकरण र भूमण्डलीकरण्को परिणाम हो । यो युद्ध कोभिड–१९ नियन्त्रणको क्रममा र पछि बढ्न सक्ने संकेतहरु देखा परेको छ । नवउदारवाद, नीजिकरण र भूमण्डलीकरणको अर्थ राजनीति हाल आफैमा संकटग्रस्त देखिन्छ । कोभिड–१९ झनै संकट ल्याउने सम्भावना छ । कोभिड–१९को संक्रमण नियन्त्रणको क्रममा र पश्चात् उदारवाद, नीजिकरण र भूमण्डलीकरणको ब्याख्या हुने, नहुने भए कसरी हुनेले पनि वर्तमान पूँजीवाद र यसको प्रभाव निर्धारण हुने निश्चित छ । अहिलेको विश्व अर्थ राजनीतिले विकल्प खोज्ने तड्कारो वातावरण देखा परेको छ ।

हाल विश्वले सञ्चार र प्रविधीमा अभुतपूर्व रूपमा फड्को मारेको छ । यदि यस क्षेत्रमा यस प्रकारको उपलब्धि हासिल नहुँदो हो त संक्रामक कोभिड –१९ को प्रकोप विश्वव्यापी रूपमा झनै कहाली लाग्दो हुनेमा दुईमत छैन । विज्ञान र ज्ञानको विकास, सहजीकरण र विस्तारमा सञ्चार र प्रविधीले अतुलनीय योगदान गर्यो । यसमा भूमण्डलीकरणको योगदान त छँदै छ । तर, कमजोर अर्थ व्यवस्था भएका नेपाल जस्ता मूलुक र नागरीकको अवस्था र हैसियतझनकमजोर बन्दो छ । शिक्षा, स्वस्थ्य, रोजगार र आपूर्ति जस्ता आधारभूत क्षेत्रमा आम नागरीकको पहुँच दिन प्रतिदिन टाढाको विषय बन्दै छ । व्यापार घाटा र पर निर्भरता बढ्दो छ ।

आज कोभिड –१९को संक्रमणले सबै देश र देशका नागरीकहरूलाई आफ्नो धरातलिय यथार्थ स्मरण गर्न बाध्य बनाएको छ । नेपालको सन्दर्भमा कोभिड –१९को संक्रमणलाई देशको संमृद्धि प्राप्ततर्फ उन्मूख बनाउँने अवसरमा बदल्नु सक्नु पर्दछ । यसका लागि नीजिकरण र भूमण्डलीकरणको आधारमा बनेका नीतिनियमहरूमा पुर्नविचार गर्नु आवश्यक छ । मूलतःविद्यमान परनिर्भर अर्थतन्त्रलाई स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न नसक्नुले नै हामी समस्याबाट ग्रसित छौँ । त्यसैले कृषिमा आधुनिकीकरण, औद्योगीकरण, रोजगार सृजना, उपलब्ध प्राकृतिक स्रोत परिचालन गर्न सक्षम आधारभूत जनशक्ति निर्माण आजको अपरिहार्य हो ।

प्रतिक्रिया