पश्चिमी नाकाबाट भित्रिए एक हजार यात्रु

कञ्चनपुर । लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन । भारतमा होटेल, निर्माण सम्बन्धी कार्यलगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् ।

चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । कोरोना भाइरस जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।

अवैध रूपमा सीमा नाका प्रवेश गर्नेहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई हेल्थ डेस्कमा पुर्याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् । भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

प्रतिक्रिया