बेड बन्याे, आवश्यक सामाग्री छैन

दैलेख । विश्वभर महामारीको रूप लिएको ‘कोरोना भाइरबाट त्रसित मानिसहरू चिन्तित छन् । त्रासै त्रासमा भएका मानिसहरू कतिबेला के हुने हो भन्ने ठेगान छैन । सरकारले यसको नियन्त्रणको लागि ठूलो भूमिका सिर्जना गरेको छ । सरकारले मानिसको जमघट नहोस् भन्नको लागि एक हप्तासम्म देशैभरी लकडाउन समेत गरेको छ ।

तर, हरेक व्यक्तिलाई बुझाउन नसकेको हो या मानिसहरूले बुझेर बुझ पचाएका हुन्, यस्तो अवस्थामा सरकारलाई सहयोग गरी आफू नै सचेत हुनुपर्ने भए पनि कतिपय नागरिकले लकडाउनको अवज्ञा गरेको देखिन्छ । एकातिर व्यक्तिहरूले नबुझ्नु, अर्कोतिर स्थानीय तहमा बनाइएका क्वारेन्टाइन आवश्यक औषधी लगायतका सामाग्री नहुनुले झन् जोखिम बढ्दै जाने देखिन्छ ।

नेपालमा कोरोनाको संक्रमण बाहिरी देशबाट आउँने नागरीकबाट फैलिने हुँदा बाहिरबाट आउँने नागरीकको विशेष निगरानी गर्नुपर्ने भए पनि विभित्र पालिकाहरूले आइशोलेसन र क्वारेन्टाइन निर्माण गरेका छन् । त्यसमा चाहिने उपकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै भर परेर सामाग्री खरिद गरिएको छैन् । हेल्थ डेक्स निमार्ण भएका छन् । तर, ती हेल्थ डेस्कहरूमा डिजिटल थर्ममिटर बाहेकका अन्य उपकरण नभएको स्वास्थ्यकर्मीको भनाई छ ।

महावु गाउँपालिकाको जलजले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी प्रेम बिष्टका अनुसार हेल्थ डेस्कमा एउटा मात्र डिजिटल थर्ममिटर भएको र उक्त थर्ममिटरले एकपछि अर्कोलाई चेक गर्दा एक व्यक्तिमा भएको संक्रमण अर्को व्यक्तिमा सर्ने खतरा रहेको जानकारी दिए । स्वास्थ्य कार्यालयमा आवश्यक कोरोना संक्रमण भए नभएको परिक्षण गर्ने कुनै सामान नभएपछि ।

बजारमा उपलब्ध प्लास्टिकको पीपीई निर्माण गरी स्वास्थ्यकर्मीहरूले लगाउँने गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका डा. निरन्जन पन्तले जानकारी दिए । भगवतीमाई गाउँपालिकामा आवश्यक सामाग्री नहुँदा २ ठाउँमा हेल्थ डेक्स राख्ने भनिए पनि काम सुरु हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

चार स्थानीय तहका १० जनामा ज्वरो

जिल्लाका चार स्थानीय तहका १० जनामा ज्वरो देखिएको छ । ज्वरोका बिरामीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । ज्वरो नदेखिनेमा भारतबाट फर्किएकाहरू र गाउँमै बसेकाहरूमा देखिएको हो । अहिले स्वास्थ्यकर्मीहरू परिचालन गरी बिरामीहरूको हेरचाह गरिएको छ ।

भगवतीमाई गाउँपालिकामा ५ जना, दुल्लु नगरपालिकामा २ जना, आठविस नगरपालिकामा २ जना र नौमुले गाउँपालिकामा १ जनालाई ज्वरो देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.पन्तले बताए । कोरोना भाइरसले नागरिकहरू असुरक्षा महसुस गरेका बेला त्यस्तै लक्षण देखिएपछि दैलेखमा सुरक्षित रूपमा उपचार प्रबन्ध मिलाइएको छ । नौमुले र अन्य पालिकामा केही बिरामीहरूमा भने ज्वरो घट्दै गएको छ ।

माइकिङ गर्दै वडाध्यक्षहरू

भारत तथा अन्य मुलुकबाट आएकाहरूले घरमै बस्न आग्रह गर्दै आठविस नगरपालिका वडा नं– २ का अध्यक्ष पूर्ण खनाल, दुल्लु नगरपालिका वडा नं ४ का भरतप्रसाद उपाध्याय, वडा नं ७ का वडाध्यक्ष लालबहादुर रावत गाउँ–गाउँमा कोरोनाको संक्रमणबाट बच्न माकिङ गर्दै हिँडेका छन् ।

अहिले शहरभन्दा गाउँमा धेरै त्रास फैलिएको जनगुनासो आउँन थालेपछी दैलेखका धेरैजसो स्थानीय तहहरूले लगत संकलन गर्न लागेका छन् । भारत र अन्य मुलकबाट आयका व्यक्तिहरूलाई आफ्नो घरमै बस्न आग्रह गर्दै दुल्लु नगरपालिका वडा न.४, ७ र आठविस नगरपालिका २ मा माइकिङ गरिएको वडा अध्यक्षहरूले बताएका छन् ।

यद्यपी कसैमा आशंका लागेमा स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा राखिने सम्बन्धित पालिकाहरूले जानकारी दिएका छन् । यद्यपी समस्या जटिल बन्दै गएमा उनीहरूलाई जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पठाउँने तयारी गरिएको पालिकाका स्वास्थ्य शाखाहरू जनाएका छन् ।

मास्क नभएपछि सालको पातले गुजारा

शुक्रवार साँझ ७ बजेतिर दैलेखमा सञ्चालित बाल हेल्पलाइन १०९८ मा एक्कासी फोनको घण्टी बज्यो । हेल्पलाइनमा खटिएका कर्मचारीहरूले हतपत फोन उठाए । एक जना १० वर्षीया बालिका अलपत्र परेको खबर आयो । दैलेखको पञ्चकोशी तिर्थस्थल अन्र्तगत श्रीस्थान क्षेत्रमा अलपत्र परेकी ती बालिकालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा राती नै उद्धार भयो ।

अलपत्र अवस्थामा फेला परेकी बालिकालाई बाल हेल्पलाइनको संरक्षणमा राखेर अभिभावकको खोजी सुरु भयो । शनिवार विहान मात्रै बालिकाका अविभावक सम्पर्कमा आए । महाबु गाउँपालिका वडा नं. ३ घर भएकी बालिकाका अविभावकहरूलाई बाल हेल्पलाइनको कार्यालयमा बोलाएर जिम्मा लगाईसकेको हेल्पलाइनकी संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

बालिकालाई लिन आउने आफन्त मध्येकी एक थिइन्, जुना नेपाली । उनले सालको पातले मुख छोपिरहेकी थिइन् । कोरोना भाइरसको संक्रमणबाट बच्न उनले मास्कको सट्टा सालको पातले मुख छोपेको बताइन् । ‘बजारमा मास्क पाईएन, वनमा पाइने सालको पातलाई मास्कको रुपमा प्रयोग गरेको हुँ,’ उनले भनिन् ।

बालिकालाई लैजानका लागि बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखमा आएकी जुनासहित अन्य पाँच जना बालिकाका आफन्तलाई मास्क दिएर पठाईएको हेल्पलाइनकी संयोजक रमा श्रेष्ठले बताइन् । संस्थाले मास्क उत्पादन गरिरहेको छ । हालसम्म दुई हजार मास्क उत्पादन गरेर वितरण गरेको उनले बताइन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि आम नागरिक त्रसित बनेका छन् । भारत लगाएत अन्य मुलकबाट धमाधम गाउँ पर्किएपछि भाइरसको जोखिम गाउँमा बढेको छ । संक्रमणबाट जोगिन ग्रामिण भेगका नागरिकहरु मास्कको सट्टा सालको पात, गलबन्दी, रुमालले मास्कको गुजारा गरीरहेका छन् ।

प्रतिक्रिया