खोजखबर

लकडाउनले नछाेएकाे इँटाभट्टा !

रमेश गिरी २०७६ चैत १४ गते ८:२४ मा प्रकाशित

भक्तपुर । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा भेटिएपछि सरकारले विगत चारदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ । लकडाउनले छाेएकाे छैन यहाँ ।

भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँटाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँटाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत करिब २० हजार मजदुरको दैनिकी भने उस्तै छ । चाँगुनारायण नगरपालिकाका–९ ताथलीस्थित इँटाभट्टामा काम गर्ने काभ्रे भकुण्डेबेँसीकी सन्तमाया विकको दैनिकी उस्तै छ । उनलाई अहिले बनाएको इँटा सुकाउने, चाङ लगाउने र थन्क्याउने चटारो छ । उनलाई सरकारले गरेको लकडाउनबारे थाहा छैन । उनी भन्छन्, ‘खै बाहिर सरकारले बन्द र्गया छरे भन्छन्, यता त बन्द छैन, हामी सधैँ काम गरिरहेका छौँ, छिटो काम सकेर घर जान पाए हुन्थ्यो ।’

ताथलीकै अर्को इँटाभट्टामा काम गर्ने रामेछापका सन्ते तामाङले सरकारले सबैतिर बन्द गरेको छरे भन्ने सुनेको बताउँदै गाउँमा मकै छर्ने, खेतीपाती गर्ने बेला भएकाले गाउँ फर्कन पाए सहज हुने बताए । ‘सुक्रबार बजार जाने ग¥याथ्यौँ, अब त बन्द भयो रे, यहाँको बजार भनेकै भट्टी हो, त्यो चलेकै छ, रक्सी खाएपछि कहिलेकाँही झगडा भइहाल्छ’ उनले भने । इँटाभट्टामा महिला, बालबालिकालाई ज्वरो आउनु, खोकी लाग्नु सामान्य भए पनि एकपटक सबै मजदुरको स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाइदिए ढुक्क हुने उनले बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्ना नगरपालिकाभित्रका इँटाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना संक्रमणबाट जोगाउन गरेको आग्रह अटेर गरेको बताए । इँटाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताए ।

‘भक्तपुरका इँटाभट्टामा मजदुरले काम गरिरहेका छन्, भीडभाड र भेला सधैँ हुन्छ, भट्टी पसलमा सधैँ बाक्लो जमघट हुन्छ, बेलाबेलामा झगडा हुने गरेको गुनासो आउँछ’ नगरप्रमुख मिश्रले भने, ‘इँटाभट्टा सञ्चालकलाई काम बन्द गर्न र सुरक्षा अपनाउन भनिसकेँ, अटेर गरेका छन्, यसबारेमा मन्त्रालयमा पनि भनिसकेँ, भक्तपुरका सिडिओलाई पनि पटक पटक भनिसकेँ कसैले चासै दिँदैनन् ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय