कोरोनाको त्रासले दैलेखका पत्रपत्रिका बन्द

दैलेख । कोरोना भाइरसको सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापी रूपमा लकडाउन भएपछि दैलेखबाट प्रकाशित सबै पत्रपत्रिका बन्द भएका छन् । दैलेखमा पत्रिका छाप्ने छापाखाना दुई वटा मात्र रहेको र छापामा काम गर्न कामदार त्रसित तथा पत्रपत्रिका ग्राहककहाँ पुर्याउन समस्या भएपछि प्रकाशन बन्द गरिएकोे छ ।

सरकारले लकडाउन गरेदेखि दैलेख जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन् । जिल्ला लकडाउन भएपछि बजार क्षेत्रमा पत्रपत्रिका पुर्याउन निकै समस्या र सुरक्षा चुनौति बढेपछि प्रकाशन बन्द गर्नुपरेको दैलेख जिल्लाबाट प्रकाशन हुने पञ्चकोशीखबर दैनिकका सम्पादक हिक्मत नेपालीले जानकारी दिए ।

‘पत्रिका बन्द भएपछि सदरमुकामस्थित भाडामा लिएको कोठामा बसेको छु’, उनले भने ‘सामाजिक सञ्जाल र मोवाईल फोनमार्फत सम्पर्कमा रहने गरेको छु ।’ स्वयं सुरक्षित हुनु वुद्धिमानी भएकाले मोबाइलबाटै सूचना मागेर समाचार लेख्ने गरेको दैलेख जिल्लाका भिभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीहरूले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष चक्र केसीले केही दिनअघि सञ्चारकर्मीलाई सुरक्षित भई समाचार सङकलन गर्न आव्हान गरेका थिए त्यसै अनुरूप जिल्लाबाट प्रकाशन हुने दैनिक तथा साप्ताहिक पत्रिकाहरू प्रकाशन नभएको बताए । दैलेख जिल्लामा हाल तीनवटा दैनिक र चारवटा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका थिए । तर, जिल्लामा पत्रपत्रिका प्रकाशन नभए पनि केही पत्रिकाले अनलाईनमार्फत सूचना प्रवाह गरीरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया