चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा निषेध

चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रूपमा रहेको उक्त क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरूपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको उनले जानकारी दिए ।

पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । उक्त भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।

यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुङ्गा शयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । उनले उक्त भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए । सौराहाको थारु सांस्कृतिक संग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो

प्रतिक्रिया