क्वारेनटाइनका लागि एन्फाले होस्टल दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना भौतिक संरचना आवश्यक पर्दा अस्थायी क्वारेन्टाइन र आइसुलेसनका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्व भर महामारीका रूपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को संक्रमणको असर विश्वका १ सय ५० भन्दा बढी मुलुकमा परेको छ । अहिलेसम्म नेपालमा संक्रमित नदेखिए पनि उच्च जोखिममा रहेकाले सतर्कताका लागि सरकारले अह्वान गरिरहेको छ ।

यसै सन्दर्भमा एन्फाले लतिपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल, धरानमा रहेको फुटबल एकेडेमीको होस्टल तथा रौतहतको निर्माणाधीन महिला फुटबल एकेडेमीलाई सरकार, प्रदेश सरकार वा स्थानिय निकायले आवश्यकता परेको खण्डमा अस्थायी क्वारेन्टाइन र आइसुलेनका लागि प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।

एन्फा प्रवक्ता किरण राईले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र विश्व स्वास्थय संगठनले गरेको अपीलअनुसार आधारभूत नियम पालना गर्न पनि एन्फाले आग्रह गरेको छ । कोरानो भाइरसले पार्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै एन्फाले पनि आफ्ना सबै गतिविधि स्थगित गरिसकेको छ ।

प्रतिक्रिया