नआत्तिन बेलायती अभिनेत्रीको आग्रह

लन्डन । कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती अभिनेत्री ओल्गा कुरिलेन्कोले नआत्तिन आग्रह गरेकी छन् ।

संक्रमण हुनेबित्तिकै आइसोलेसनमा बसेकी उनले प्यारासिटामोलमात्र खाएर सञ्चो भएको जनाएकी छन् । कोरोना भाइरसको शंका लागेलगत्तै अस्पताल गएको र चिकित्सकले खानका लागि आफूलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको जनाएकी छन् ।

उनले कोरोना भाइरसको सन्त्रास विश्वभर बढिरहेका बेलामा इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा अहिले सञ्चो हुँदै गएको बताएकी हुन् । उनले मुखमा मास्क लगाएको तस्बिर सामाजिक राख्दै लेखेकी छन्, ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो । धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने । म अहिले लन्डनमै छु ।’

उनले शंका लागेपछि परीक्षण गर्दा त्यसको नतिजा पोजेटिभ देखिएको खुलाउँदै उनले उच्च ज्वरो भएकाले चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधी नदिएको उल्लेख गरेकी छन् । उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन भने खाएको जनाउँदै भनेकी छन्, ‘मैले भिटामिन खाएँ तर त्यसले कोरोना भाइरसलाई रोक्दैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ ।’ उनले आफूले लिएको भिटामिनको सूची पनि खुलाएकी छन् । आइसोलेसनमा बस्दा उनले भिटामिन बि फाइभ, भिटामिन सि र भिटामिन ई खाएको बताएकी छन् ।

उनले केही समयअघि झ्यालको तस्बिर राखेर ‘कोरोना भाइरस देखिएपछि आफैँलाई थुनेर राखेको’ लेखेकी थिइन् । आफू अस्पतालमा नबस्नुको कारण खुलाउँदै उनले लेखिन्, ‘अस्पतालमा गम्भीर भइसकेका बिरामीहरू थिए, त्यसैले म अस्पतालमा बसिनँ । घरमा एक्लै बसेर आफैँले पनि उपचार गर्न सकिने भएपछि म फर्किएर र आफैंँलाई थुनेर बसेँ ।’

प्रतिक्रिया