भारतीय गायिका कनिकालाई कोरोना

मुम्बई । भारतीय गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । विशेषगरी ‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ गीतबाट चिनिने गायिका कपुरलाई शुक्रबार कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

संक्रमणपछि उनलाई लखनउस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको छ । लन्डनमा रहेकी ४१ वर्षीया कपुर मार्च १५ तारिखमा भारत आएकी थिइन् । इन्डिया टुडेका अनुसार उनले भारत फर्केर आफ्ना परिवार तथा साथीभाइलाई पाँच तारे होटलमा पार्टीसमेत दिएकी थिइन् ।

त्यस पार्टीमा सरकारी कर्मचारी, राजनीतिज्ञलगायत विभिन्न व्यक्तित्व सहभागी भएको समाचारमा उल्लेख छ । गायिका कपुरका बुवा राजीव कपुरले कनिका भारत फर्केर तीन पार्टीमा सहभागी भएको जनाएका छन् । कनिकालाई कोरोना देखिएसँगै उनका परिवारका छ सदस्यले पनि कोरोना संक्रमणको परीक्षण गराएका छन् ।

यसअघि गायिका कनिकाले इन्स्टाग्राममा पोस्ट गर्दै आफू कोरोना संक्रमित रहेको जानकारी दिएकी थिइन् । उनले लेखेकी छन्, ‘हेल्लो एभ्रिवान, पछिल्ला चार दिनमा मलाई फ्लुको लक्षण देखियो र मैले आफै जँचाएपछि कोभिड–१९ भएको पुष्टि भयो । म र मेरो परिवार अहिले पूर्ण क्वारेन्टाइनमा छौं र चिकित्सकको सल्लाह मानिरहेका छौं । मैले मसँग टच गरेका व्यक्तिलाई सम्पर्क गर्ने कोशिस गरिरहेको छु । १० दिनअघि एयरपोर्टमा स्क्यान गर्दा मेरो अवस्था सामान्य थियो र केवल ४ दिनदेखि यो लक्षण देखिएको हो ।’

उनले आफूसँग समपर्कमा आएका व्यक्तितलाई सेल्फ आइसोलेसनमा बस्न आग्रहसमेत गरेकी छन् । उनले थप लेखेकी छन्, ‘अहिलेको अवस्था म तपाईहरु सबैलाई सेल्फ–आइसोलेसनमा बस्न भन्छु र तपाईका कुनै लक्षण देखिएमा परीक्षण गराउन सुझाव दिन्छु ।

म ठिक छु, सामान्य फ्लुजस्तै अनुभव भइरहेको छ, हल्का ज्वरो आइरहेको छ । यद्यपि, हामीले संवेदनशील नागरिक र हामी वरिपरीका सबैको ख्याल गर्नुपर्छ । स्वास्थ्यविद् तथा हाम्रा स्थानीय, राज्य र केन्द्रीय सरकारको निर्देशिका सुन्ने र पालना गर्ने हो भने हामीले महामारीबाट पीडाविना नै मुक्ति पाउन सक्छौं ।’

यसैबीच भारतीय चलचित्र तथा टेलिभिजन निर्देशक एसोसिएनका अध्यक्ष अशोक पण्डितले गायिका कनिकालाई गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेका छन् । उनी गायिका कनिका गैरजिम्मेवार हुँदा धेरै मानिस कोरोनाको खतरामा रहेको भन्दै आक्रोशित भएका हुन् । अशोकका अनुसार यस अवधिमा कनिकाले विमानस्थलका कर्मचारीसँग आफ्नो ‘ट्राभल हिस्ट्री’ लुकाउनेदेखि सयौं मानिस भेला भएको पार्टीमा सहभागी हुनेसम्मका हर्कत गरेकी छन् ।

अशोकले ट्वीटरमा लेखेका छन्, ‘कोरोना संक्रमण लुकाउन तिमीलाई लाज लाग्नुपर्ने हो कनिका कपुर । तिमी लण्डनबाट फर्किएपछि पाँचतारे होटलमा भएको पार्टी जोइन ग¥यौं र यसक्रममा झन्डै १ सय मानिससँग सम्पर्कमा आयौं । अब तिमीमा संक्रमण देखियो, यसको अर्थ तिमीले अरुको जीवन पनि खतरामा पारिदिएकी छौ ।’

गायिका कनिका विमानस्थलको चेकिङ छलेर पार्टीमा सहभागी हुँदा लखनउ महानगर क्षेत्र अहिले पुरै लकडाउन गरिएको छ ।

उनी आइसोलेसनमा नबसी विभिन्न पार्टीमा सहभागी भएपछि पूर्वमुख्यमन्त्रीदेखि सांसद्समेत सेल्फ आइसोलेसनमा बस्न बाध्य भएका छन् । प्रशासनले लखनउ महानगर क्षेत्रको सबै सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान लगायतका सबै क्षेत्र २३ मार्चसम्म बन्द गर्ने निर्णय गरेको छ । गायिका कनिका ९ मार्चमा बेलायतको लन्डनबाट स्वदेश फर्कंदा विमानस्थलमा उनको परीक्षण भएको थियो ।

उनी विमानस्थलबाट बाहिरिएपछि लखनउ पुगेर तीनवटा ठूला पार्टीमा सहभागी भएकी थिइन् । चार दिनअघि उनको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि लखनउ सहर पूरै लकडाउन गर्नुपरेको हो । उनी बस्ने सोसाइटीमा करिब सात सय फ्ल्याट छन् । सो उक्त फ्ल्याट बिजेपी राज्यसभा सांसद सञ्जय सेठको हो । स्थानीय प्रशासनले अहिले सो सोसाइटीमा बस्ने सबैको स्वास्थ्य परीक्षणको तयारी गरिरहेको छ ।

लखनउमा भएका केही पार्टीमा कनिकासँगै उच्चतहका राजनीतिक अधिकारीसमेत सहभागी थिए । उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि पार्टीमा सहभागी उच्चतहका अधिकारीको स्वास्थ्य परीक्षण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अकबर अहमद डम्पीको घरमा भएको पार्टीमा राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजेसमेत सहभागी भएकी थिइन् ।

कनिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राजेले स्वास्थ्य परीक्षणसमेत गराएकी छन् । अहिले संक्रमण नदेखिए पनि उनी १४ दिनको सेल्फ आइसोलेसनमा गएकी छन् । उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंहको स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिए पनि उनी पनि आइसोलेसनमा बसेका छन् ।

यस्तै, कोरोना भाइरस संक्रमण रोक्न सरकारले बनाएको नियम उल्लंघन गरी संक्रमणको जोखिम बढाएको भन्दै उनीविरुद्ध मुजप्फरपुरमा उजुरी दर्ता भइसकेको छ ।

प्रतिक्रिया