वैज्ञानिक समाजको पक्षमा

कसैले पनि धर्मका विरुद्धमा आलोचना गर्ने र बोल्ने आँट गरेको देखिँदैन । धर्मप्रति विश्वास नगर्नेहरू समेत बरु चुपचाप बसेका हुन्छन् तर त्यसविरुद्ध बोल्न चाहँदैनन् । सभ्य र समृद्ध समाज निर्माणमा जरो गाडेर बसेको परम्परा र संस्कार धर्मकै उपज हुन् भने किन धर्मको ह्याङ हटाएर आधुनिक र वैज्ञानिक समाजको विकासमा नलाग्ने त भन्ने विषयको बहस चलाउन ढिला भइसकेको छ

हाम्रो समाजमा धर्मका नाममा महिलामाथि अनेक प्रकारका हिंसा भइरहेका छन् । धार्मिक ग्रन्थ र तिनकै आडमा मानिँदै आइएको रीतिरिवाज, परम्परा, संस्कार र संस्कृति पनि महिलालाई विभेद गर्ने खालको छ । त्यसमा पनि हिन्दु धर्मले छोरीलाई जन्मेदेखि नै विभेद गरेको पाइन्छ ।

छोरी भन्नेबित्तिकै जन्म, विवाह र मृत्युसम्म पनि बेग्लै प्रकारको सामाजिक कुरीति कायम छ । छोरी जन्मँदा दुःखी हुने समाजमा छोरीले असल जीवनसाथी छान्ने अधिकार पनि राख्दिनन् भने श्रीमानको मृत्युपछि विधवा जीवन बिताउन बाध्य हुन्छिन् ।

अर्थात् एकल भएपछि महिला बोक्सी, अलक्षिणी हुन्छे । महिला समाजका दोस्रो दर्जाका नागरिक हुन् भन्ने दृष्टिकोणले हेरिन्छ । धर्मका नाममा हाम्रो महिलालाई हेर्ने दृष्टिकोण, सोचाइ र बुझाइ गलत छ । त्यही गलत व्याख्या र बुझाइका कारण हरेक धर्मले कुनै न कुनै रूपमा महिलालाई विभेद गरेको पाइन्छ ।

सामाजिक मूल्य मान्यता र संस्कारकै रूपमा महिलालाई विभेद गरिँदै आएकाले समाजविरुद्ध झट्ट बोल्न र विद्रोह गर्न पनि सकिरहेको अवस्था छैन । धर्ममाथि प्रश्न उठाउन र आलोचना गर्न नपाउने मान्यताको मारमा परेर महिला स्वयं पनि पीडित भएर बस्न बाध्य छन् । धर्म के हो ? धर्मले के भन्छ ? धर्मका नाममा कस्ता कस्ता मान्यता र संस्कारको विकास भयो ? धर्मविरुद्ध बोल्न लेख्न र आलोचना गर्न पाइन्छ वा पाइँदैन ? भन्ने यावत् प्रश्नको सरल जवाफका रूपमा नियात्राकार तथा कवि दामोदर पुडासैनी किशोरले ‘धर्मको ह्याङओभर’ पुस्तक प्रकाशनमा ल्याएका छन् ।

मानवतावादी समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालमा मानिँदै आएका धर्म, दर्शन, चिन्तन र त्यसका विविध आयामलाई सरलरूपमा प्रस्तुत गरिएको छ । पुस्तकभित्र धर्मको उत्पत्तिदेखि सान्दर्भिकता र धर्मले उठाएका अनेकन् प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ । विभिन्न धर्ममा धर्मको इतिहास, भगवानको कल्पना र तिनका व्याख्यासम्मलाई विस्तृतरूपमा केलाइएको छ । धर्मलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेर जात, लिंग र समुदायमा विभाजन ल्याउने प्रवृत्तिविरुद्धमा छ ‘धर्मको ह्याङओभर’ कृति ।

ईश्वर मान्ने विभिन्न समुदायका मानिस ईश्वरको आफ्नै तरिकाले व्याख्या गर्दछन् । भगवानप्रति आस्था राख्नेहरू ईश्वर एकमात्रै छन् भन्ने धारण राख्छन् भने ईश्वर नमान्नेहरू भौतिक दुनियाँमा विश्वास गर्दछन् । यसभित्र समेटिएका सामग्रीहरू सनातन धर्मको इतिहासमात्रै होइन, बुद्ध, जैन, हिन्दु, इसाइ, इस्लाम, यहुदी, कन्फ्युसियस धर्मका वृत्तान्त समेतलाई समेटिएको छ ।

विभिन्न धार्मिक समुदायमा पछिल्लो समय विकसित भएको ईश्वर छैन भन्ने मान्यतालाई पनि तर्कसहित प्रस्तुत गर्नु लेखकको अब्बल पक्ष हो । अनिश्वरवादीहरू सारा संसार भौतिक कारणले निर्माण हुन्छन् र आँखाले देखिएको चिज नै अन्तिम सत्य हो र नदेखिएको चिज केवल भ्रममात्रै हो भन्ने गर्छन् ।

संसारमा विकास भएको भौतिकवादले ईश्वर त कल्पनामात्रै भएको जनाउँछ भने ईश्वर नै मान्ने होे भने पनि कुनै पनि धर्मले मानिसको जात, लिंगका आधारमा विभेद गर्दैन भन्ने सत्यलाई सहजरूपमा संप्रेषण गरिएको छ । व्याख्याताहरूले आफ्नो हितका लागि गलत व्याख्या गरेर धर्मका नाममा विभेद गरेको कुरा लेखकले यस कृतिमा सरलरूपमा उठाएका छन् । हुन त प्रायः सबै धर्मले ईश्वरको परिकल्पना गरेको पाइन्छ । सबै धर्म उत्पत्तिका कथा छन् । तिनै कथाका आधारमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण बनेको पाइन्छ ।

पुराणका अनुसार जलमा सुतिरहेको विष्णुले ब्रमाण्डको सृष्टि गरे । शिव पुराणमा पनि शिवले आकाश, वायु अग्नी, पृथ्वी, समुद्र आदिको सृष्टि गरेका हुन् भन्ने कुरा उल्लेख गरिएको छ । लेखकले ती सबै कथ्यहरू सत्य होइनन् ती त केबल त्यसबखतका कथानकहरूबीच रचिएका रोमाञ्चक कथामात्रै हुन् भनेका छन् ।

लेखक धर्मका ठेकेदारहरूले वैज्ञानिक आधार नभएको मनगढन्ते कल्पना गरेर दुनियाँमा भ्रम फैलाएको प्रति चिन्तित बनेका छन् र त्यही अनुरूपको धारणा पनि व्यक्त गरेका छन् । पुराना सोच र मान्यता विकासका बाधक हुन् । मानिसको अज्ञानताका कारण ईश्वर जन्मियो भन्ने बुझाइ लेखकको रहेको छ । लेखक ईश्वर होइन, प्रकृतिवादमा उनी विश्वास गर्छन् । धर्म शास्त्रहरू उबेलाका कानुन हुन्, जो आधुनिक र वैज्ञानिक युगमा समय सान्दर्भिक छैनन् । धर्मका विकृत रूपलाई ‘धर्मको ह्याङओभर’ पुस्तकमा लेखकले राम्रोसँग केलाएका छन् ।

साँच्चै धर्मले आधुनिक युगमा मानव विकासमा समेत बाधा पु¥याएको छ । कसैले पनि धर्मका विरुद्धमा आलोचना गर्ने र बोल्ने आँट गरेको देखिँदैन । धर्मप्रति विश्वास नगर्नेहरू समेत बरु चुपचाप बसेका हुन्छन् तर त्यसविरुद्ध बोल्न चाहँदैनन् । सभ्य र समृद्ध समाज निर्माणमा जरो गाडेर बसेको परम्परा र संस्कार धर्मकै उपज हुन् भने किन धर्मको ह्याङ हटाएर आधुनिक र वैज्ञानिक समाजको विकासमा नलाग्ने त भन्ने विषयको बहस चलाउन ढिला भइसकेको छ ।
कृतिः धर्मको ह्याङअभोर
लेखक दामोदर पुडासैनी किशोर
विधाः दर्शन
प्रकाशकः मानवतावादी समाज नेपाल
पेजः २१०
मूल्यः रु.२५०

प्रतिक्रिया