‘छापामारको गीत’ फर्केर सुन्दा

प्रारम्भ
क्रान्ति, रूपान्तरण, प्रगतिशील समाजको परिकल्पना गरिएको ‘छापामारको गीत’ कविता संग्रह (२०६७) का सर्जक सरल सहयात्री हुन् । समाजको आमूल परिवर्तनका निम्ति बन्दुकसँगै कलम उद्याएका स्रष्टा सहयात्रीले भुइँमान्छेका आवाजलाई कवितामा उधिनेका छन् । नेपाली साहित्य फाँटमा तीनओटा पुस्तक प्रकाशनमा ल्याइसकेका लेखक सहयात्री कविभन्दा बढी आख्यानकारका रूपमा परिचत छन् ।

शिखरको ढुंगो (उपन्यास २०७५) र क्रान्तिका कथाहरू (कथा संग्रह २०६४) ले उनलाई आख्यान यात्रामा क्रियाशील लेखक भन्ने देखाउँछ । सहयात्रीको कथा संग्रह प्रकाशन र उपन्यास प्रकाशनको बीचको समयमा प्रकाशित कविता संग्रह ‘छापामारको गीत’ गद्य लयमा तयार भएको एउटा वैचारिक अभिव्यक्ति हो ।

आजभन्दा झण्डै दश वर्षअघि प्रकाशनमा आएको यो संग्रह भित्रका रचनाहरूको अन्तिममा रहेको प्राप्त सूचना हेर्दा २०६० सालदेखि २०६४ सालसम्म झण्डै ५ वर्षको अवधिमा रचना गरिएका कविता यसमा परेका छन् । ५२ ओटा कविताभित्रको कविताको शीर्षकहरू मध्येबाटै संग्रहको नामाकरण गरिएको छ । कविताहरू जनयुद्धको पृष्ठभूमि र जनआन्दोलनपश्चात्को भावभूमिमा रचिएका छन् ।

मूलतः छापामार युद्धमा आफूसँगका साथीहरूले शहादत प्राप्त गरेको अवस्थाबाट प्रेरित, प्रभावित र द्रवित भएर योद्धा कविले आफ्ना भाव कवितामार्फत पोखेका छन् । जनयुद्ध नेपाली राजनीति यात्राको एउटा महत्वपूर्ण र ऐतिहासिक कालखण्डको उपज मात्र नभएर यसमा लाग्नेहरूले भोग्नुपरेको पीडा नेपाली अन्वेषकहरूले उत्खनन् गर्नुपर्ने विषयवस्तु पनि हो । यही पृष्ठभूमिमा कविताहरू रचित र संग्रहको रूपमा खजित भएका छन् ।

विषय बोध
‘छापामारको गीत’ कविता संग्रहभित्र बढीमा चार पृष्ठ र थोरैमा एक पृष्ठका कविताहरू रहेका सबै कविताले नेपाली समाजको परिवर्तनशील यात्रालाई कसैले रोक्न नसक्ने भाव अभिव्यक्त गरेका छन् । चाहे आफ्ना सहयोद्धा मित्रहरू कुमार, विशाल, स्टार हुन् चाहे आफ्ना दाजु शम्भु पौडेल र बहिनी रीता पौडेलले लडाईंकै मैदानमा शहादत प्राप्त गरेको अवस्था नै किन नहोस्, आफूले क्रान्तिको यात्रालाई कलममार्फत दस्तावेजका रूपमा संकलित गरेको र बन्दुकमार्फत युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विषय कवितामा मुखर भएर आएको देखिन्छ ।

भाव र विचारविनाको कविता कविता हुन नसक्ने रिमाल, भूपि र पारिजातहरूको साक्ष्यहरूले पनि पुष्टि गरेको सन्दर्भमा उनले नेपाली राजनीति परिवर्तनभित्रको अंक र दृश्यहरूलाई सपाट काव्यात्मक रूपमा पोखिदिएका छन् । एउटा बन्दुक बोकेर समाज रूपान्तरणका पक्षमा जीवन आहूति दिन निस्केको छापामारको कलमबाट यो स्तरको रचना आउनु आफैँमा महत्वपूर्ण उपलब्धि हो । विचार र बन्दुक बोक्ने मान्छे कलमलाई पनि निरन्तर खेलाएर आफ्ना गौरवगाथालाई स्वर्ण अक्षरले लेख्न चाहन्छ भन्ने मूलभाव यहाँ प्रकट भएको देखिन्छ ।

त्यही तिम्रो हात हो
जसले कालापानीमा विदेशीलाई
स्वागत गर्दै रात्रिभोज मनायो
यसर्थ म सक्दिन
ती कुरूप हातहरूमा हात मिलाउन
बरू तिमी हेर्दै गर
मेरो बन्दुकले महाकाली फिर्ता गरी छाड्ने छ
(छापामारको गीत पृ. ७३)

आज पनि समस्या जस्ताको तेस्तै पो छ । देशमा राज्यसत्ताको होड यथावत नै छ । आज बन्दुकहरू संविधानमै परिवर्तन भइसकेका छन् । तथापि जनताको शक्तिले नेतृत्वलाई बल थपिदिन सकेको देखिदैन वा नेतृत्व पुरानै पारामा हिँडेको प्रतीत हुन्छ । ‘मेरो प्यारो कमान्डर’ कवितामा समाजको यावत समस्यालाई हल गर्नका निम्ति नथाकिकन अगाडि बढ्नुको विकल्प नरहेको प्रति कविको उद्घोष रहेको छ । सपनाहरू अझै पनि अधुरा नै छन् भन्दै कवि लेख्नछन्,

दासताका जिञ्जिर तोडी
रक्तिम हातले सलाम गर्ने
लोलुपताको भ्रामक विचार तोडी
उन्मुक्त उजेली जीवन बाँच्ने
उसको आजाद सपना थियो ।
(अधुरा सपना पृ. २१)

आज पनि सपनाहरू पूरा हुन सकेका छैनन् । कता कता गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताको वैचारिकता जागेर आउँछ । एउटा योद्धा कलमवीर बन्दा त आलोचक नै पो बन्दो रहेछ । एउटा आशाको किरण निभ्न नदिन कविले सहिदले सपना नबिर्सिएको प्रतिबद्धतासमेत व्यक्त गर्न पुगेका छन् ।

अझै सामूहिकता र हामी भन्न नजान्ने हाम्रो स्वभावप्रति कटाक्ष गर्दै कविले व्यक्तिभन्दा व्यक्तिमा रहेको चेतना बदल्न जरुरी रहेको विचार व्यक्त गर्न पुगेका छन् ।

म भन्छ मन
तिमी भन्छ मन
जान्दैन कहिल्यै
हामी भन्नलाई ।
(दोषी मन पृ. ११७)

आफ्ना दाजु शम्भु पौडेलको प्रभाव र प्रेरणाबाट राजनीतिको यात्रामा निस्केका कविले आफ्ना अग्रजलाई सम्झिएर काव्यात्मक रूपमै परिवर्तनको निम्ति सहिद दाजुले देखाएको बाटो नछाड्ने प्रण गरेका छन् । प्रत्येक योजनामा कविले आफ्ना दाजु र सम्पूर्ण योद्धाहरूलाई देखेको अर्थात् आफ्नो अगाडि बलिदानीको इतिहास अगाडि बढ्नका निम्ति प्रेरणाको स्रोत भएकोतर्फ संकेत गरेका छन् ।

तिम्रो मूक स्तम्भ
मलाई अघि बढ्न प्रेरणा दिँदै थियो
म तिमीलाई फेरि भेट्ने सपना
खोज्दै रहेछु,
(राति सपनीमा तिमीलाई देखेँ पृ. ७५)

देश र जनताको पक्षमा लडेको सिपाही सानातिना विषय वासनाले प्रभावित नहुने विषलाई प्रत्येक काव्यात्मक अंशमा पोखिएको छ । देशका निम्ति जीवन अर्पण गर्ने आफ्ना अग्रज र सहकर्मीहरूले आफूहरूलाई जहिल्यै गलत बाटोबाट जोगाउन प्रेरित गर्ने र नवीन मार्गप्रशस्त गर्न सहयोग पु¥याउने भावाभिव्यक्ति कवितामा रहेको छ ।

सार
कतै छिन्ताङ रोएको कतै दरबार बौलाएको मात्र नभएर सदियौंदेखिको एउटा गलत व्यवस्थालाई अन्त्य गरी वास्तविक गणतन्त्रका निम्ति टाउकोमा कफन बाँधेर हिडेको वैचारिक योद्धाहरूको समवेत स्वरको रूपमा कविता संग्रहभित्रका कविताहरूले प्रतिनिधित्व गरेको देखिन्छ । कतै सस्तो विषय र सस्तो मायाप्रेमलाई स्थान नदिइकन पनि कविता लेख्न सकिन्छ र कविता संग्रह नै तयार हुनसक्छ भन्ने एउटा राम्रो उदाहरणको रूपमा यो कविता संगह प्रस्तुत भएको छ ।

कविले बुनेका र बनाएका सपनाहरूको शृंंखला कहाँनिर छ पुनः हजारौँ योद्धाहरूको सोच्ने दिन आएको छ । नेपाल आमाको रक्षा त्यतिबेला मात्र हुन सक्छ जतिवेला हाम्रो देशको वास्तविक योजनाविद् हामी हुन सक्छौ, आर्थिक परनिर्भरताबाट देशलाई बचाउन सक्छौ । यी र यस्तै भावपूर्ण विचार कविता संग्रहभित्रका कविताले संवहन गरेको निष्कर्ष निस्कन्छ ।

प्रतिक्रिया