सन्तान

‘बारी न बिरुवा नौ मुरी तोरी !’
उनी भुतभुताउँदै थिइन् । म टक्क अडिएँ । नियालिरहँे । उनको वृद्ध भइसकेको शरीर । खाल्डो पर्दै गएका अनि चाउरी पर्दै गरेका गाला बेरङ भएर उडिसकेजस्तो लाग्छ । जे–गर्नु बल र बैँस हुन्जेल मात्र रहेछ । त्यो निष्पट्ट अँध्यारो प्रत्येक उज्यालोले बलीवेदीमा शिर चढाएझैँ जीवनका गहिरा चित्कारहरू पिपझैँ पाकेर बसेका छन् । जसलाई सिद्धिन लागेको दन्तमञ्जन निचरेझैँ जिन्दगीका दन्तमञ्जनलाई हजाराैँपटक निचरेर दुनियाँको हाँसोलाई चाउरिएको अनुहार नदेखाए पनि चित्र गुप्ताको खातामा चढाएकै हुँदोरहेछ प्रत्येक बेरङ चित्रहरू । बेगिएर जति नै उडे पनि आखिर आफ्नो गुण आफैँलाई प्यारो लाग्छ र नै त्यसका हाँगा वरिपरिका पातहरूले छेलेर बसेका छन् ।

मलाई आफ्नो मुख छोपेर सुत्दा कति सुखद् र आनन्ददायी लाग्छ । उसलाई पनि आनन्द नै लाग्छ होला । गाली गर्नु पनि त्यति मजा लाग्दैन र अर्थ पनि देखिनँ, तर वेलावेलामा उसको कुलत र संगतले बिग्रिन लागेको हो कि जस्तो पनि लाग्छ । तर सोझो छ । उसले जति इमान्दार बनेर चना, अण्डा बेचेको भए देश समृद्ध बन्थ्यो होला ? चिया र मकै अलिअलि डढेको दुधको चियाको सर्को पिउँदाको फूर्ति सम्झिँदा समुद्र मन्थनबाट निस्किएको विष पिएर पचाएझैँ लाग्छ ।

जिज्ञासु आँखाका एक नजरले हेरेँ । लज्जावती झार भई आज पनि गुजुक्क पर्दैथिन् । मैले ती आमैलाई सोधेँ, ‘आमा यहाँ के–के फल्छ ?’ उनले भनिन्, ‘बाबु सबैथोक फल्छ । यो वृद्ध शरीरले फलाकै पनि हो । तर मन कहिले फलेन, उसले छोडेर गएपछि । यी सल्लाका सल्लेपिरमा चिप्ली खेल्दै मल्लिडो, चुथ्रो, जमाने मान्द्रो, ऐसेलु, घगौरू र नासपतिका बोटसँग लुकामारी खेले तापनि एक ग्लास बाक्लो दुधको चिया नखाई चित्त बुझ्दैन, मन मान्दैन । एक्लो जीवन, काँडा बिझेर खिल पल्टियो तर कसैले मलमपट्टी गरेन ।’

रहरका फूलहरू बेचेँ कति बेचेँ 
जिन्दगीका भारीहरू बोके कति बोकेँ ।

भगवान्लाई कयाँैपटक पुकारे पनि मेरो दिनदसा बलिया भएनन् । म कामिरहँे जीवनका मेरा आदर्शलाई छोपेर । यिनै सन्तानका खुसीका लागि खुसी हरायो । ऊ हरायो सदाका लागि इतिहासको साक्षी बनेर ।

आमै आज समय बदलियो । तापनि तपार्इंले उसलाई खोजिरहनुभयो । कतै हिजो मात्र बसमा चढ्दा भेटिएको तपार्इंको त्यो सन्तान त होइन ? अनि त्यो सुन्दर जवानीलाई तानीतानी रोधीमा नचाउने जवानीको राग त होइन ? हरेक हरियाली डाँडा र ती जिन्दगीका उकाली ओरालीलाई गरिबीका भारीहरूले किच्दा पनि बोकेर बसेका छन् । खुट्टाको बूढीऔँलाले भुइँ कोट्याउँदा भर्खर लिपेको सिकुवामा माटोका पाप्रा निकालेर उभिदा बास माग्दै आएका ती खाइलाग्दो लामो कदका मानिस जुँगा मुसार्दै बास माग्न आइपुगेका थिए । हामीले दिएका पनि थियौँ ।

उनको तस्बिर त्यो भित्तामा कुँदेर राखेको रहेछ । म अचम्मित भएर सोचिरहँे र आफ्नो यात्रा तय गर्न थालेँ । त्यो समय अनि हिजोदेखि आजसम्मको । सौन्दर्य र प्रकृतिसँगको प्रेम अनि पैदल यात्रा । म आफैँले आफैलाई प्रश्न गर्छु ? विकासको नाममा प्रकृतिको सौन्दर्यलाई तोडमोड गरेर क्षतविक्षत गर्न पाइने ? यसो सोच्दा सही सदुपयोग गर्नसके त पर्यटनको विकासमा टेवा पुग्न सक्छ । तर कुखुराले बिटुलो गरेर नानीको आँगन छेउको आचीमा झिँगा भन्किएपछि सर्ने सरूवारोग र तिनका रोगीहरू ! उपचारका खोजीमा भाैँतारिएझैँ पूर्णताको पर्खाइमा छन् । सायद सुकेटारझैँ सुकेर गौचरन नबनून् ।

इतिहास दुब्लाउँदै जानु, वर्तमान हराउँदै जानु र भविष्य अनिश्चित हुँदै गएजस्तो भान हुन्छ । पानीमा बालुवा हालेर पुल बनाएको कथाजस्तो । नपढी विद्या आर्जन गर्नेहरूले त्यो भगवान्लाई झुक्याएजस्तो लाग्छ । उसले भनेर गएको थियो ‘घुस लिन्या र दिन्या दुवै देशका महासतुर हुन्, सबैलाई चेतना भया ।’ उसको कुरा कसले सुने र ? ठिक उल्टो ।

सभ्यता, संस्कार संस्कृतिमा हामी धनी भएर पनि हाम्रा पूर्खाले छाडेका इतिहासलाई परनिर्भरतामा तुइनका लठ्ठा तान्दै बसेका छौँ । ती वायुपंखी घोडा, वायुयान विरासतमा थिए । वेदवेदान्तको उत्पत्ति भए तर त्यसको वैज्ञानिक प्रयोग उनीहरूले गरे । हुन त उहिले उहिले ग्रह, नक्षत्र, राशी पत्ता लगाउने ऋषिमुनिहरू तिनै डाँडाकाँडामा डुले र संसारलाई त्यो चित्र दिए ? हामीले हाम्रा ती सम्पत्ति हुन् भनेर दाबी गर्ने परिस्थितिको निर्माण

तयार गर्न जरूरी छ ।
म कथा सुनाउँदै थिएँ ।
आमै के चाहनुहुन्छ ? मेरो प्रश्न थियो ?
उहाँले भन्नुभो, ‘आत्मसम्मान ?

कुरा त गहिरो ? कुलेखानीमा बग्दै गरेको पानी जमेर बनेको ड्यामको पानीजस्तो ? नाउँ खिँयाएजस्तो ? जसको गहिराई भेट्न मुस्किल थियो । जसको दुरी भेट्न मुस्किल थियो । त्यो गर्भमा के–के छ ? विश्वासको भारीबाहेक । मलाई कताकता आत्मग्लानी भयो । मुख रातोपिरो भयो ? चन्द्रागिरीको टुप्पोलाई बिहानीको रातो घामले पहेलो पारेजस्तो । मलाई धुलाम्मे पारेको महाकविको कविता च्यातिएजस्तो, फाटेजस्तो लाग्न थाल्यो । यो फाटेको मनलाई टालटुल गरेर काम चलाएको छु । लोक्ताका रेसादार पाडेकागज धुलिया लागेजस्तो ? त्यसको जन्मपूर्वको प्रोसेस सम्झिए र उँधो हेरेँ सेतो कागजमा कोरेर कालो पारेझैँ ?

दिउँसोको घटना सुनाउन मन लाग्यो । वृद्धकै सम्बन्धमा । कथा यस्तो थियो, यात्राको पछाडि सिटमा थचक्क बसेँ । अपरिचित मानिसहरूसँग । एकजना वृद्ध आउनुभो र भन्न थाल्नुभो, ‘भाइ तिमी पछाडि बस ।’ भाइले भन्यो, ‘म किन जानु अंकल तपाईं जानु न खाली नै छ त ?’ तिमीले ज्येष्ठ नागरिक सिट लेखेको देखेनौँ ? भाइ रिसाए ? मैले भने, ‘तपाईं यता आउनु न, उहाँको अधिकारको कुरा हो ? डिस्कस गरेर के फाइदा ।’

भाइ सरेपछि अर्को वृद्धले थप्नुभयो, ‘खै ! आजभोलिकालाई पढेका भन्नु कि ? नपढेका भन्नु ? त्यत्रो लेखेको कुरा पनि जान्दैनन्, कि जाने र पनि बुझपचाएका ? कस्तो ओठेजवाफ, कस्तो व्यहोरा ?’ ‘अंकल तपाईं नै हिरो ? हुन त बूढो हुँदा पनि मानिस हिरो हुन्छ रे ?’ यसो होइन, ‘यसमा न तपाईंको दोष छ, न उहाँको ? अंकल नभन्नुहोला ? उहाँको सम्मानको कुरा छ ? यसमा पुस्ता ग्यापिङको पनि कुरा छ ? फेरि उहाँहरूलाई नजान्ने भन्न मिल्दैन ? किनकि मइले पनि मेरी नातिनीबाट अंग्रेजी कविता, युरोपको कल्चर, फेसबुक, टुइटर, भाइबरजस्ता विषयको जानकारी लिने गरेको छु । यस्ताकुरा हामीले उहाँहरूबाट सिक्नुपर्छ ?’ फेरि दोष उहाँहरूको मात्रै पनि होइन । दोष त हाम्रै शैक्षिक परिपाटीको पनि हो ।

पहिले हामीले आफूभन्दा ठूलालाई सम्मान गर्ने, गुरूलाई सम्मान गर्ने, ठाउँ ओगटेर नबस्ने । नजानेका कुरामा बढी नबोल्नेजस्ता विषयका बारेमा नैतिक शिक्षाको पढाइ हुन्थ्यो । तर, आजको शिक्षा अंग्रेजी राम्रो सिक्ने अंक राम्रो ल्याउने अनि आयल्ट्स पास गर्ने पियार लिने, डायस्पोरा हुने, पैसा कमाउने र वृद्धवृद्धालाई आश्रममा भजन गाउन पठाउने ।

त्यसैले, यो परिपाटीमा हामी कहाँ अल्मलियौँ । हाम्रो संस्कृति, संस्कार कहाँनिर रूमलियो ? नैतिक शिक्षाको आत्महत्या हुनबाट कसरी बचाउने ? यसको जवाफ न मसँग छ न उसँग छ । विकसित देशका युवापुस्ता दुईचार घण्टा बढी परिश्रम गरेर वृद्धको सम्मानमा देशलाई उँचो बनाउँदै छन् । अब हामीले पनि अग्रजको सम्मानमा केही गर्न जरुरी छ । अनि मात्र आत्मसम्मान हुन्छ, किनकि हामी पनि नातिबाट हजुरबा, नातिनीबाट हजुरामा बन्ने दिन आउँदै छन् ।

बाबु तिमीले सुनाएको कथाले फेरि म १६ वर्षकी जवान छु झैँ फुरुंग भएकी छु । त्यो याद मेरो विस्मृतिबाट हराउन सकेको छैन, मेरो व्यथा । उनीसँग हात समाइसमाई गोठाला जाँदा पिपिरीको पात बजाउँदै वरिपरि बाख्राको खोर, टाट्नो, भाटाको बार, गार्इंको गोठ, करेसाबारी, हामी सुत्ने खाट बनाएर बालुवाको घरमा बाख्राका मसिना पाठापाठी खेलेझैँ खेलेको अहिलेजस्तो लाग्छ । ढुंगाका गट्टी खेल्दा एक, दुई, तीन, चार, पाँच टुप्पे, ओल्टाई फर्काई, छिम्की, खुट्टा च्यापी, कुत्ता, बाँगे, कागे, गोटा साटी, भातपकाइ, सेलरोटी घुमाइ, फूल टिपी, फूलझारी, अचार पिनी, गुफे, पान, गोटा उफार्ने, छेउ टुप्पे, भात छाली, तरकारी छोपी, भ्यागुत्ते, घोडा, टोपीलुकाइ, ताराबाजी, बेहुली लुकाई खेल्दा मैले जितेपछि उसका कान कयौंपटक रातै पारेर समाएकी थिए ।

खेल्दाखेल्दै पाठो हराउँदा बाले असारेका सिरकुनाले सुम्ला बस्ने गरी कुटेका थिए । बाले भनेका कुरा अझै सम्झिन्छु । त्यो रात झ्याम्ली बाख्री पाठीको पिरले म्याँ आऽआऽआऽ गर्दै कराइरही । म पनि अबोध बालमस्तिष्कमा बालाई पछि ठूली भएपछि लाखेस् न भन्दै लौराको डाम छाम्दै रूँदा आमाले सुमसुम्याउँदै मेरी ज्ञानी छोरी रूदिन भन्दै छातीमा च्याप्दा उहाँको न्यानो स्पर्सले मेरो दुखाइ कता भाग्यो कता ! अहिले सम्झिन्छु, वास्तवमा सन्तानप्रतिको प्रेम ! अहिले सबै सन्तान भएर पनि निसन्तान भएकी एक्ली बूढीको काल कहिले आएन । मादलका ताना तन्किएझँै आज हो कि भोलि हो भनेर यही पेटी कुरेर बसेकी छु ।

म १२ वर्षकी हुँदा पर सरिसकेकी थिए । पाटनबाट शाक्यहरू २५० जना कार्तिक नाच नाच्न आएका थिए । ३५० वर्ष पुरानो यो नाच पाटनमा २७ दिन र चित्लाङमा ३ दिनसम्म हुन्थ्यो । म घरबाट भागी भागी हेर्न जान्थे र त्यही गोठालाको सहयात्रीलाई यी अवोध आँखाले खोजिरहन्थँे । उँभोतिर सल्लाका पातहरूले सुस्कसुस्क हावा फालिरहेका हुन्थे । जुका, झरी, बादल, वर्षा र तुषारोले पटपटी फुटेका सिँगानै सिँगान टाँसिएको मेरो फाटेको जामा र सन्ते दाइले सिलाइदिएको हरल्याङ्गे सुरूवाल छोरी बढ्छे भनेर ठूलो पारेर सिलाइदिएका रे ! त्यो बाध्यताको हरल्याङ्गे जामा सुरुवाल लाएर रमाउँथेँ ।

आमाले गाईले बाछी ब्याउँदा पुछेर फाली दिइन् । बिजुलीको गतिजस्तै तेज पाइलाहरू आज गल्न थाले बाबै ? अलि ठूली हुँदा मैले हृद्यमा सजाएको मेरो राजकुमार बाठो, सिकारी र बनियाँ नाच कति जोश र फुर्तिलो पाराले नाच्थ्यो । उसलाई त्यो फूर्ति कहाँबाट आउँथ्यो । पानी पनि नखाई व्रत बसेर पहिलोपटक कामेकी थिए । बेग्लै अनुभूति भएको थियो मेरो जीवनमा । तीन दिनसम्म नाचेपछि गणेश, भैरव, बाराही, कुमारी र महालक्ष्मीलाई दिइने राँगाको बली सम्झिँदा कतै म मेरो धर्म संस्कृतिविरोधी त बनेकी होइनजस्तै लाग्छ आज पनि ।

चारपाउ बाँधेर घाँटीको नसाबाट निकालिने होलीको पिच्चकारीजस्तै रगत पिएको सम्झिँदा कुनै कथाको पात्रजस्तो मेरो राजकुमारले यो काम नगरे पनि हुन्थ्यो जस्तो लाग्छ ? उसले भुट्दै गरेको मकैको घानमा हात हाल्दा पोलेपछि, बल छ भन्दैमा जताततै हाल्न हुँदैन, शत्रुहरू कमजोर छैनन् विचार गरेर मात्र हात हाल्नु भनेर आमाले भनेकी थिइन्, त्यो पाहुनालाई ।

एक मनले त मेरो दिलको धड्कन, मेरो राजकुमारलाई भँनुभँनुजस्तो पनि लाग्थ्यो तर आँट गर्न सक्दिनथेँ । आखिर जे–जे सोचे पनि त सन्तान सन्तानै थियो नि बाबु । मेरो उमेरमा फलेका पाखाका बुकीहरू आज फुल्न छोडे । कताकता हराएझँै, गुमाएझैँ ती रहरका सल्लेपिर र मनको पाटेबाघलाई मृर्गिनी बनेर भोक मेटाउँथे होला ? सायद ती सल्लेपिर बटुलेर डोकाभरि उनकै याद बोकेर ओरालो झरिरहेकी छु ।

ती सातधारामा बगाएका जिन्दगीका अनमोल नदीका बहावहरूले सारा गाउँमा लहलह झुलेका धान, मकै, आलु, गहुँ, तोरी, तीस दिने मूला, झ्याम्लीको चिजको स्वाद लिँदै मिलनचोकको छेउमा आफ्नी प्रेमीसँग चर्दै गरेको गिरिराज, आन्तरिक हुलाक कार्यालय छेउँ ‘चिठ्ठी खसाल्दै, माया बसाल्दै’ थिए त्यो जमानामा तर आज कक्षा तीनमा पढ्दै गरेकी, कुसुम बलामी, सत्यदेवी बलामी, कुसुम गोपाली, दिलमाया नेपाल र गौरी गिरी फेसबुक, टुइटर अनि भाइबरमा मायालुका सेल्फी फोटा र तिनका लाइक कम्मेन्ट सेयर गर्दै छन् यो जमानामा । भिमफेदीदेखि गाडी बोकेर ल्याउने स्व. धनबहादुर गोले किन नहुन् ।

लिच्छवीकालीन मन्दिर किरातकालीन आर्किटेक्चर, चम्पाकेश्वर होस् या भेडाचौर, भालेश्वर डाँडा होस् या अशोक चैत्य, पारिजात स्मृति होस् या स्वछन्द भैरव कति पटक मन्दिरमा सजिएका सयौँ फूलहरूको भाग्य आखिर चिता नै हो । सतीदेवीको पार्थिव शरीर बोकेर हिँडेका महादेवले लाँदालाँदै खसेको अङ्ग खोज्दै जाँदा जलपरीको कथाजस्तै जमिनभित्रको सहर उज्यालो छिर्न नसकेका छिद्रहरूमा दिउँसै रात परेजस्तो अनुमान मात्र गर्न सकिने त्यो कैलाशकुटका पाखाहरू बञ्चरा र आराका धारिला काँडाले घोचीघोची प्रत्येक रूखैपिच्छे एक एकजना सुरक्षाकर्मी राखेर उज्यालो पारियो ।

चित्रलेखाको नुहाउने राक्षसी खोल्सा र सप्तऋषिको ध्यान गर्ने ठाउँ जसलाई मैले मेरो मिनी स्विजरल्याण्ड ठाँनेकी छु । आज म पनि बूढी भए रेखदेख गर्न सक्दिनँ । भोकाएका बाघहरू छन् । तिनमा स्याल चेला बनेका छन् र उसैको सिकार गर्दै छन् । अब सम्भावना रहेका नासपतिका अनगिन्ती दानाहरू न्युटनले प्रयोग गरेर पत्ता लगाएको स्याउका दानाभन्दा कम छैनन् यी गुरूत्व आकर्षणहरू । जसको सुरूवात मेरै मनको राजकुमारको भावीपुस्ताले गर्दै छ रे ! भन्ने सुनेकी छु ।

यसैले यो वृद्ध शरीर घिसारेर यी पाखा भित्ता र यहाँका हरेक सन्तानलाई हेरिरहेकी छु बाबु । फुक्लिएका दाँतले नासपतिका दाना चुस्दै त्यसको रस पिउँदा गिँजाबाट निस्किएका रसहरू ओठमुनिका चिसा चुलाहरू भर्भराउदै हाँसिरहँदा कुनै पाउना पो आउँछ कि उसले माया मारेर गएको त्यो नासो, त्यो सन्तान फेरि हराएको मुटुको टुक्रा फर्कियो कि झँै लागिरहन्छ बाबु ।

प्रतिक्रिया