ताराको ‘सुनौलो तारा’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीको एल्बम ‘सुनौलो तारा’ सार्वजनिक भएको छ । एल्बमको राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, गीतकार तथा चलचित्रकर्मी चेतन कार्की, संगीतकार तथा गायक जगतमर्दन थापा, गायक तथा संगीतकार गणेश रसिक, अभिनेत्री भुवन चन्द, साहित्यकार उषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनका अध्यक्ष दिपक केसी, संगीतकार दीपक जंगम, संगीतकार राजु सिंह लगायतले संयुक्तरुपमा विमोचन गरे ।

एल्बममा नौ वटा गीत संग्रहित छन् । दीपकजंगम, वसन्त सापकोटा, कल्याण सिंह, दीपक शर्मा, सुवास भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतमा गायक स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको आवाज छ । गीतकार अधिकारीको यो दोस्रो एल्बम हो । यसअघि उनको ‘सपना’ एल्बम बजारमा आएको थियो । सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुईवटा गीतसमेत राखिएको छ ।

कार्यक्रममा ‘फुलेको केश’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो । रमेश थापाले निर्देशन गरेको भिडियोमा अभिनेता दीलिप रायमाझी, सिरु विष्ट, गीतकार तारा अधिकारी र बालकलाकार सुलोचना आचार्यको अभिनय छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । गीतको भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ । कार्यक्रममा यसभन्दा अघि नै सार्वजनिक भइसकेको गीत ‘लुकी लुकी चोरी चोरी’ को भिडियो पनि देखाइएको थियो ।

कार्यक्रममा शंकरप्रसाद कोइरालाले अहिलेको अवस्थामा एल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे । उनले पहिलेको जस्तै कभरमा पेनड्राइभ राखेर एल्बम निकाल्ने शैली आधुनिक प्रविधि सुहाउँदो भएको जिकिर गरे । त्यस्तै, गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले गीत लेखन शैलीमात्र नभएर गीतकार तारा अधिकारीको अभिनय पनि राम्रो रहेको बताए । गीतकार अधिकारीले गीत संगीत एक किसिमको लत भएको बताइन् । उनले आगामी दिनमा संगीत क्षेत्रमा आफू अझ सक्रियरुपमा लाग्ने विचार व्यक्त गरिन् ।

प्रतिक्रिया