साग पदक विजेताले अझै पाएनन् पुरस्कार

काठमाडौं । फागुन पनि बित्यो । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जितेका खेलाडीले पुरस्कार भने पाएनन् ।
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बाचा गरेका थिए, फागुन मसान्तसम्म खेलाडीले पुरस्कार पाउँछन् । तर, चैतको पहिलो साता बित्न लाग्यो । खेलाडीको खातामा पैसा गएको छैन ।कहिले पुग्न ? भन्न सकिने अवस्था छैन । १३ औँ साग मंसिर २४ गते सकियो । भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सबै खेलाडी र अफिसियललाई बालुवाटार बोलाए ।

शारिरिक अवस्था अनुकूल नभएपछि उनी सागको उद्घाटन र समापनमा सहभागी हुन पाएका थिएनन् । अस्पतालको शैयाबाट उनले सागका गतिविधि टेलिभिजन स्क्रिनमा नियालेका थिए । तर, उनले भोलिपल्टै सबै खेलाडीलाई बालुवाटारमा बोलाए । पदक विजेता खेलाडीलाई धन्यवाद दिने र पुरस्कार रकम घोषणा गर्ने कार्यक्रम थियो । भर्खरै शल्यक्रियाबाट तंग्रिन थालेका प्रधानमन्त्रीले संक्रमणको डरलाई बेवास्ता गर्दै लामो मन्तव्य बालुवाटारको सभाहलमा खेलाडीलाई दिए । आपूmपनि कुनै समय पौडीबाच रहेको तथ्य बालुवाटारमै उजागर गरे, गौरिका सिंहको गरिमा बढाए । अन्तिममा सागको पदक विजेता खेलाडीलाई दिने रकम घोषणा गरे ।

पुरस्कार रकम घोषणा गर्दै गर्दा उनले व्यक्तिगत स्पर्धामा पदक जित्ने खेलाडीले पाउने रकम घोषणा गरे । तर, टिम स्पर्धामा भने घोषणा गर्नै सकेनन । उनले यत्ति भने, टिम स्पर्धाका स्वर्णधारीले ५ लाख पाउँछ । त्यसो भए रजत र कास्य जित्नेले कति पाउने ? अन्यौलता कायम रह्यो । प्रधानमन्त्रीको अन्यौलताले मन्त्रालय, राखेप र प्रधानमन्त्री कार्यालयले तयारी नगरेको प्रष्ट बुझिन्थ्यो । प्रधानमन्त्री ओलीको पुरस्कार रकम बढाएर घोषणा गरे । छुटेका विषयलाई कार्यविधि समेट्ने भनियो ।

तर, पुरस्कार रकम दिन कार्यविधि संशोधन गर्न पर्ने थियो । मंसिरमा प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कारको कार्यविधि बन्न र मन्त्रीपरिषदबाट पास हुन झण्डै तीन महिना लाग्यो । पारित कार्यविधि अनुसार अर्थमन्त्रालयले पुरस्कार रकम निकासा गरिदियो । रकम निकासा भएसंगै मन्त्रालय र परिषदले भव्य कार्यक्रमको आयोजना गरेर प्रधामन्त्रीको हातबाट पुरस्कार हस्तान्तरण गर्ने तयारी थाले । सोही अनुसार फागुनभित्रमा पुरस्कार रकम खेलाडीले पाउने सार्वजनिक अभिव्यक्ति दिए ।

तर, प्रधानमन्त्री दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते अस्पतालमा भर्ना भईदिए । अनि सागको पुरस्कार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासँग गएर जोडियो । प्रधानमन्त्रीको शल्यकिया सफल भयो । तर प्रधानमन्त्री सक्रिय कामकाजमा फर्कन करिब ६ महिना लाग्ने उनका नीजि चिकित्सक दिव्या सिंहले पत्रकार सम्मेलनमा बोलिन् । प्रधानमन्त्री त निको हुँदै थिए, तर चीनबाट सुरु भएको कोरोना भाईरसको संक्रमण विश्वभर फैलन थालिसकेको थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिम भएको देशमा राख्यो ।

प्रधामन्त्रीको जटिल स्वास्थ्य अवस्था र कोरोनाको संक्रमणको डरले तत्काल सभा सम्मेलन, सार्वजनिक कार्यक्रम गर्न बन्देज लाग्यो । त्यसको प्रत्यक्ष असर सागको पुरस्कार वितरणमा समेत पर्यो । प्रधानमन्त्री अस्पतालमा थिए । कोरोनाले विश्वभर आतंक मच्चाउन सुरु गरिसकेको थियो । त्यसैले, मन्त्रालय र राखेपले अर्थ मन्त्रालयबाट निकासा भएको रकम फागुनभित्र खेलाडीको खातामा सिधै हालिदिने भन्दै बैंक एकाउन्ट र शाखा कार्यालयको नाम समेत मगाए ।

तर फागुन ३० गते प्रधानमन्त्री डिस्चार्ज हुने भएपछि तत्काल रकम खेलाडीको खातामा हालिने मन्त्रालय र राखेपको तयारमा ‘ब्रेक’ लागेको छ । खेलकुद मन्त्रालयको उच्च स्रोतका अनुसार मन्त्रालय र राखेप प्रधानमन्त्रीको ‘ग्रिन’ सिग्नल पर्खिएर बसेको छ । प्रधानमन्त्रीको हातबाट पुरस्कार बाँड्न लगाएर ओलीलाई खुसी बनाउने खेलकुद मन्त्रालय र राखेपको योजनाकै कारण सागका पदक विजेता खेलाडीको पुरस्कारमा ढिलाई भईरहेको छ । अस्पतालबाट बालुवाटार फर्किएका प्रधानमन्त्री राष्ट्रिय महत्वका विविध बिषयमा अल्झिरहेका छन् । मन्त्रालय र परिषद्ले प्रधानमन्त्रीसँग समन्यव गर्न नसक्दा खेलाडीको पुरस्कार वितरण अन्यौलमा परेको छ ।

सागको पुरस्कार रकमसम्बन्धी कार्यविधि मन्त्रीपरिषद्बाट पास भएपनि अर्थमन्त्रीले प्रधानमन्त्रीको ग्रिन सिग्नल नपाएर दुई दिनसम्म रकम निकासै गरेनन् । सोही अनुसार प्रधानमन्त्रीको सिग्नल नपाएसम्म पुरस्कार रकम कसरी वितरण गर्ने भन्नेमा मन्त्रालय र परिषद् नै अन्यौलनमा छन् । यही अन्यौलताले निकासा भईसकेको खेलाडीको रकम वितरणमा ढिलाई भईरहेको छ ।

वरिष्ठ खेलपत्रकार सिताराम अग्रहरी पुरस्कार वितरणमा सरकारले ढिलाई गर्दा बाहिर राम्रो सन्देश नजाने बताउँछन् । ‘समष्टिवादको व्याख्या गर्दै घोर व्यक्तिवादी सोचका कारण समस्या आएको हो । प्रस्तुत घटना समाजको स्तुतिवादी सोचको उच्चतम उपज हो ।’ उनी भन्छन् ।
अग्रहरी सरकारको काम गर्ने शैलीले देश र खेलकुद कसरी अगाडी बढ्ने भन्दै प्रश्न गर्छन् । ‘यस्तो काम गर्ने शैलीले कसरी अगाडी बढ्न सकिन्छ ? उत्साहित खेलाडीको मनमा के हुन्छ ? यसले राम्रो सन्देश जाँदैन ।’ अग्रहरी टिप्पणी गर्छन् ।

सरकार, मन्त्रालय र परिषद् खेलाडीलाई सहयोग गर्ने संस्था रहेको उल्लेख गर्दै उनले खेलकुदको नाममा ओठे भक्ती गराउने संस्कृति खेलकुदमा विद्यमान रहेको बताउँछन् । ‘जो बेहुला हुनुपर्ने हो, त्यो जन्ती भएको छ । जो जन्ती हुनुपर्ने हो, त्यो बेहुला भएको छ ।’ अग्रहरी भन्छन्, ‘खेलकुद घोडा अगाडिको बग्गी जस्तो भएको छ ।’

प्रतिक्रिया