पोखरामा गीतकार प्रतिष्ठान

कास्की । गीत संगीत क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउने लक्ष्यका साथ संस्था स्थापना भएको छ । पोखरामा क्रियाशील गीतकारको भेलाले गीतकार हरिहर खनियाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेको हो । खनियाँ लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील छन् ।

खनियाँको ‘दोष’ एल्बमका ‘मैले बा आमा त्यागेर रोजेको मायाले मलाई धोका दिई, सबको पिरतीमा दरबार हुन्छ’ लगायत गीत चर्चित छन् । त्यसैगरी समितिको उपाध्यक्षमा शीतल गिरी रहेका छन् । उनको ‘मविना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीत निकै चर्चित छ ।

महासचिवमा अनुराग अधिकारी चयन भएका छन् । उनको ‘नानीको चञ्चले बानीले बिगा¥यो, ‘कहिले फूल बनी फक्रेर फुलूँ भन्छ मन’ लगायत गीत चर्चित छन् । प्रतिष्ठानको कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यमा देवी त्रिपाठी, रेशम रचक, प्रकाश अधिकारी, मिर्मिसा पराजुली, जीवन पण्डित र लाल कार्की ‘अञ्जान’ चयन भएका छन् ।

यसैबीच प्रतिष्ठानको बैठकबाट सरुभक्त, डा कृष्णहरि बराल, तीर्थ श्रेष्ठ, प्रकट पंगेनी ‘शिव’ र हरिदेवी कोइरालालाई सल्लाहकारमा चयन गरिएको छ । प्रारम्भिक चरणको भेलामा उपस्थित गीतकारमध्येबाट समिति गठन भएको र आगामी दिनमा पोखरा र पोखराबाहिर क्रियाशील विभिन्न गीतकारलाई संस्थामा समेट्दै अघि बढ्ने योजना रहेको महासचिव अधिकारीले जानकारी दिए ।

विभिन्न विधागत संस्थाहरू स्थापना भइसकेको पोखरामा गीतसम्बन्धी विधागत संस्थाको आवश्यकता बोध भएर यो अभियानमा लागेको अध्यक्ष खनियाले बताए । उनले गीतकारको हकहितका लागि कार्य गर्ने, गीतकारको अस्तित्व र पहिचानको खोजी गर्नेलगायत उद्देश्य रहेको प्रतिष्ठान कुनै संस्थाको शाखा नभई स्वायत्त संस्था हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया