कर्णाली प्रज्ञा प्रतिष्ठान बन्ने

सुर्खेत । कर्णालीको प्रदेशको कला, साहित्य तथा संस्कृतिको प्रवद्र्धन, संवद्र्धन तथा विकासका लागि प्रज्ञा प्रतिष्ठान बन्ने भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको दुर्लभ सभ्यता संरक्षण गर्न प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको जनाएका हुन् ।

सुर्खेतमा रूपान्तरण नेपालले आयोजना गरेको ‘कर्णाली सभ्यता माथिको बहस तथा सम्मान’ कार्यक्रममा मन्त्री ज्वालाले कर्णालीको सभ्यताको संरक्षणमा प्रदेश सरकारले काम गरिरहेको जिकिर गरे । उनले यहाँको सभ्यता तथा संस्कृति बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे ।

सो अवसरमा युमी नेपाल, जापानका संस्थापक शरद राई र नेपाल सरकारका उप–सचिव गगनबहादुर विश्वकर्मालाई कर्णाली प्रदेशका १५ हजार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरी प्रदेशको सार्वजनिक शिक्षालाई प्रोत्साहन गर्न पु¥याएको भन्दै गर्दै सम्मान गरिएको थियो ।

त्यसैगरी, नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान दिएको भन्दै डा. मधुसूदन गिरीलाई सम्मान गरियो । कार्यक्रममा कर्णालीको भाषा र संस्कृतिका बारेमा भाषा तथा संस्कृतिविद् डा. मधुसुधन गिरीले अवधारणा पत्र प्रस्तुत गरे । उनले कर्णाली सभ्यताको महानदी भएको जिकिर गर्दै थुप्रै जात, जाती र भाषा संस्कृतिको उत्पत्ति भएको कर्णाली नेपाली भाषाको समेत उद्गम स्थल भएको बताए । उनले राज्यले सही ढंगले कर्णालीको सभ्यताको प्रचार–प्रसार गर्नुपर्ने विचार व्यक्त गरे ।

त्यस्तै, कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले ‘कर्णालीको ऐतिहासिक सिल्क रोड’ को विषयमा धारणा राख्दै यस सभ्यताको बलियो इतिहासका रूपमा अस्तित्वमा रहेका मठ मन्दिर, नेपाली भाषाका पुराना शिलालेखमा भेटिने बताए । उनले १०औँ शताब्दीतिर अहिलेको भारत तथा चीनका विभिन्न राज्यसँग खस राज्यले व्यापार गरेको इतिहास रहेको जनाए । सदस्य शाहीले त्यतिखेरै समृद्ध भएको कर्णालीलाई सबै पक्ष सक्रियरूपमा लागे फेरि पहिलेजस्तै समृद्ध बनाउन सकिने जिकिर गरे ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले ‘कर्णालीको इतिहास तथा सभ्यता’ का बारेमा धारणा राख्दै इतिहासमा कुनै दिन नेपालकै छिनासिम पहिलो र दुल्लु दोस्रो विशाल सहरको रूपमा परिचित भएको जनाए । उनले १३९३ सालमा खस राज्यको अन्त्य भएर बाइसे र चौबिसे राज्यको सुरुवातसँगै कर्णालीको जुम्ला राज्य एकीकरण पछि कर्णालीको व्यापार सुक्दै गएको बताए ।

प्रतिक्रिया