मृत्युसँग डराउनु हुँदैन

अहिले विश्वव्यापी रूपमा नै कोरोना (कोभिड–१९) भाइरसको आतंक फैलिएको छ । त्यसको अहिलेसम्म कुनै औषधि पनि फेला परेको छैन । त्यसले गर्दा त्यसको खतराको गम्भीरता अरू बढेर गएको छ । तर त्यो खतराबाट तर्सनुपर्ने कुनै आवश्यकता छैन । किनभने त्यो खतरालाई विश्वव्यापी प्रकारका खतराहरूको ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने त्यो सामान्य र गौण महत्वको कुरा बन्न जान्छ ।

कुनै रोगबाट बच्नको लागि हामीहरूले सधैँ कोसिस गरिरहनु पर्दछ । त्यही कुरा कोराना भाइरसको सन्दर्भमा पनि सत्य हो । हामीले मृत्युबाट बच्नको लागि सधैँ कोसिस गर्नुपर्छ, यो जान्दाजान्दै पनि कि अन्तमा त्यो हाम्रो जीवनमा अनिवार्य छ । यस प्रकारको मानसिकता वा आत्मबलबाट नै हामीले कोरोना भाइरस मात्र होइन, सबै प्रकारका रोग, मृत्यु वा महामारीको पनि आतंकबाटमाथि उठ्न सक्छौँ र उठ्नु पनि पर्दछ । यस प्रकारको मानसिकता वा आत्मबल नै कोरोना भाइरस वा मृत्युमाथि विजय प्राप्त गर्नका लागि सबैभन्दा अचुक औषधि वा अजय हतियार पनि हो ।

कोरोना भाइरस चीनबाट सुरु भयो र त्यहाँ त्यसबाट करिब चार हजार मानिसहरूको मृत्यु भयो र त्यो कारणले विश्वव्यापी आतंक फैलियो । तर त्यो संख्या कुनै ठूलो संख्या होइन । चीनमा विभिन्न रोग, प्राकृतिक दुर्घटना आदि कारणबाट लाखौँ मानिसहरूको मृत्यु हुँदै आएको छ । चीनमा बेग्ला बैग्लै समयमा विभिन्न प्राकृतिक दुर्घटना वा रोगहरूका कारणले अहिले कोरोना भाइरसको कारणले भन्दा कैयौँ गुणा मानिसहरूको मृत्यु हुने गरेको छ ।

चीनमा सन् १९०७देखि १९११ को अनिकालमा दुई करोड पचास लाख, सन् १९२० को भूकम्पका कारण दुई लाख त्रिहत्तर हजार चार सय, सन् १९३५ मा बाढीका कारण एक लाख पैँतालीस हजार सन् २००८ मा भूकम्पका कारण सतासी हजार पाँच सय सतासी, १९५८–१९६३ को अनिकालमा त्रिचालिस लाख मानिसहरूको मृत्यु भएको थियो । तिनीहरूको तुलनामा अहिले कोरोना भाइरसद्वारा मृत्यु भएको करिब ४ हजार संख्या एकदम सामान्य र नगण्य हो ।

संसारका अन्य भागहरूमा पनि विभिन्न प्राकृतिक दुर्घटना, रोग व्याधि वा महामारिका कारणले ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको पाइन्छ । सन् १९१० को भूकम्पका कारण हैटीमा तीनलाख सोह्र हजार, सन् २००५ मा भूकम्पका कारण भारत र पाकिस्तानमा गरी सतासी हजार, सन् २००८ को सुनामीका कारण म्यानमारमा एक लाख अठ्तिस हजार, इटालीमा १९०८ मा भूकम्पकै कारण एक लाख तेइस हजार, १७६९देखि १७७३सम्म भारतमा अनिकालद्वारा दश लाख मानिसहरू मृत्यु भएको थियो ।

लु का कारणले अमेरिकामा १९०१ मा नौ हजार पाँच सय र रूसमा २०१० मा छपन्न हजार मानिसहरू मरेका थिए । सन् १८१७देखि १८२३ को बीचमा हैजाद्वारा वार्षिक २१ हजारदेखि १ लाख ४३ हजार जना, सन् १९९८देखि १९९९सम्म एक वर्षसम्म चलेको स्पेनिस फ्लु, कारण विश्वमा ५ करोड, सन् १९८१देखि हालसम्म एचआईभी एड्सका कारण ३ करोड २० लाख, सन् १९००देखि १९८० का बीचमा विफरद्वारा ३० करोड, सन् १३३२देखि १८२० का बीचमा कालो मृत्युद्वारा १० करोड मानिसको मृत्यु भएको थियो ।

माथिको संक्षिप्त विवरणबाट थाहा हुन्छ विभिन्न रूपमा मृत्युले संसारमा सधैँ आक्रमण गर्दै आएको छ । अहिले कोरोना भाइरसको कारणले संसारमा मृत्यु हुने व्यक्तिको संख्या करिब ७ हजार पुगेको बताइन्छ । त्यो संख्याभन्दा त्यसको भयानकता यो कुरामा छ कि त्यो तीव्र गतिले विश्वमा फैलिरहेको छ र त्यसरी आउने दिनहरूमा त्यो संख्या कैयौँ गुणा बढी पनि हुन सक्दछ । तर संसारमा अहिलेसम्म विभिन्न प्राकृतिक घटना वा रोग व्याधिका कारणले मानिसहरूको जुन ठूलो पैमानामा मृत्यु हुने गरेको छ, त्यसको तुलनामा कोरोना भाइरसको कारणले भएको मृत्यु वा आउने दिनहरूमा त्यो कारणले हुने मृत्युको संख्या सामान्य हो ।

अहिले विश्वमा कोरोना भाइरस जसरी सङ्क्रमण हुँदै गइरहेको छ, कैयौँ देशहरूमा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुँदै गइरहेको छ, त्यसलाई उपेक्षा गर्न पनि मिल्दैन र त्यसमाथि नियन्त्रणको लागि पूरा प्रयत्न गर्नुपर्ने आवश्यकता छ । कसैको व्यक्तिगत दुःख होस्, प्राकृतिक वा कुनै रोगका कारणले पैदा हुने गम्भीर स्थिति होस् वा कोरोना भाइरस जस्ता रोगहरूका कारणले विश्वव्यापी रूपमा फैलने आतंकको कुरा होस, तत्कालका लागि तिनीहरू जतिसुकै गम्भीर र भयानक भए पनि समय बित्नुका साथै स्थिति सामान्य हुँदै जान्छ र जीवन पुनः स्वाभाविक प्रकारले अगाडि बढ्न थाल्दछ । घरमा कुनै प्रियजनको मृत्युले कसैलाई कति धेरै दुःख र पीडा पुग्दछ त्यो थाहा भएको कुरा हो । तर, समय बित्नुका साथै मानिसहरूले त्यो दुःख र पीडा भुल्दछन् र उनीहरू फेरि हाँसेर बाच्न थाल्दछन् ।

खाली ठुलठुला दुर्घटना वा ठुलठूला रोग व्याधिहरूका कारणले मात्र होइन, सामान्य रूपमा पनि दिनदिनै लाखौँ मानिसहरूको मृत्यु भइरहेको हुन्छ । विभिन्न रोग, दुर्घटना आदिका कारणले मानिसहरूको मृत्यु हुने गर्दछ । रुघा, खोकी, इन्फ्लुएन्जा, ज्वरो, टिभी आदि विभिन्न कारणले दिनदिनै ठूलो संख्यामा मानिसहरूको मृत्यु भइरहेको हुन्छ । मृत्यु एउटा प्राकृतिक, स्वाभाविक र अनिवार्य कुरा हो र संसारमा कोही पनि त्यसबाट बच्न सक्दैन । स्वयं मानिसहरूको पारस्परिक व्यवहारका कारणले पनि ठुलो संख्यामा मानिसहरूको मृत्यु हुने गर्दछ ।

प्रथम र द्वितीय विश्वयुद्धहरूमा करोडौँ मानिसहरूको मृत्यु भयो । ती युद्धहरू बाहेक मानव जातिको इतिहासमा अरू पनि हजारौँ युद्धहरू हुने गरेका असंख्य उदाहरणहरू छन् । हामीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रामक रूप र त्यसबाट हुने गरेका मृत्युहरूलाई पनि त्यही प्रकारको विश्वव्यापी र ऐतिहासिक पृष्ठभूमिमा नै बुझ्ने प्रयत्न गर्नुपर्दछ । चीजलाई त्यसरी हेरेपछि त्यसबाट हामीमा पैदा हुने भय र आतंकको भावना एकदम समाप्त हुनेछ र हामीले त्यसलाई दृढतापूर्वक र स्थिर भएर सामना गर्न सक्ने छौँ । नत्र भने कोरोना भाइरसले हामीलाई मार्नुभन्दा पहिले त्यस प्रकारको भयले नै हामीलाई मारिसक्ने छ ।

कुनै पनि कठिनभन्दा कठिन वा ठुलोभन्दा ठुलो दुःख वा खतरालाई हामीले वर्तमान सन्दर्भमा मात्र हेर्ने प्रयत्न ग¥यौँ भने त्यसले हामीलाई वास्तविक रूपमाभन्दा कैयौँ गुणा बढी दुःखित वा आतङ्कित बनाउँछ । हामीले त्यस प्रकारको कुनै दुःख वा खतरालाई एकातिर अतीत र अर्कातिर भविष्यको सन्दर्भमा हेर्ने र बुझ्ने प्रयत्न गर्नुपर्दछ । नेपालकै कुरा गरौँ हाम्रो देशमा कुन बेला कुन प्रकारका प्राकृतिक दुर्घटना वा रोग व्याधिका कारणले कति मानिस मरेका थिए भन्ने तथ्याङ्कहरू हामीहरूसित अत्यन्तै कम मात्रामा उपलब्ध छन् ।

तैपनि विभिन्न प्राकृतिक घटना, भूकम्प, बाढी पहिरो, विभिन्न प्रकारका आन्दोलनहरूका कारणले पनि नेपालमा ठूलो संख्यामा मानिसहरू मर्ने गरेका छन् । त्यो बाहेक विभिन्न रोग दुर्घटना वा आपसमा झगडा वा विभिन्न प्रकारका अपराधजन्य कारवाहीहरूका कारणले पनि ठुलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको हुन्छ । प्रत्येक पीढीका मानिसहरूको केही समयपछि निश्चित रूपले मृत्यु हुन्छ । ती हामीले दिनदिनै देख्ने वा भोग्ने गरेका कुराहरू हुन् ।

व्यक्तिगत रूपमा वा राष्ट्रिय रूपमा घट्ने त्यस प्रकारका घटनाहरूले त्यो बेला हामीलाई निकै दुःख पु¥याउँछन् । समय बितेपछि मात्र होइन, तत्काल पनि हामीले समयभन्दामाथि उठेर त्यस प्रकारका तात्कालिक घटना वा दुःखहरूबारे विचार गर्न सक्नुपर्छ । त्यो अवस्थामा तात्कालीक रूपमा पनि त्यस प्रकारका घटना वा आपत विपतबाट पैदा हुने दुःखबाट हामीहरू बच्न सक्छौँ । मानवीय स्वभावमा स्वभावतः कैयौँ कमजोरीहरू हुन्छन् । तैपनि तात्कालिक रूपमा पनि तिनीहरूबाटमाथि उठेर विचार गर्न सक्यौँ भने त्यस प्रकारका आपत विपतहरूबाट पैदा हुने दुःखलाई हामीले धेरै नै कम गर्न सक्दछौँ । हाम्रा अगाडि अरू विकल्प पनि छैन ।

कुनै दुर्घटना घटिसकेपछि वा कसैको मृत्यु नै भइसकेपछि पनि त्यसबाट बच्नको लागि कुनै विकल्प हुँदैन । त्यसकारण कुनै पनि अप्रिय घटनाबाट पैदा हुने दुःखलाई हामीले बिर्सनै पर्दछ । तर समस्या के हो भने कुनै आपत विपत परेपछि वा कुनै घटना घटेपछि कुनै क्षति पुग्नुभन्दा पहिले नै, भविष्यमा कुनै क्षति पुग्ने आशंकाले हामीहरू आतंकित वा दुःखित हुन थाल्दछौँ । त्यही कुरा अहिले कोरोना भाइरसको सन्दर्भमा पनि भइरहेको छ ।

अहिले नेपालमा कोरोना भाइरसको संगा्रमण भइनसकोको भएपनि विश्वव्यापी रूपमा भएको त्यसको संगमण र मानिसहरूको मृत्युको कारणले नेपालमा एक प्रकारको आतंकको स्थिति उत्पन्न भएको छ । वास्तवमा यो कुनै दुर्घटना हुनुभन्दा पहिले त्यसको आशङ्काले भयभीत हुनु नै हो । जब कि कुनै घटना घटेर त्यसले क्षति पु¥याइसकेपछि पनि हामीले उच्च प्रकारको मानसिकत वा आत्मबलद्वारा त्यो दुःखमाथि विजय प्राप्त गर्ने प्रयत्न गर्नुपर्दछ भने त्यो आपत आउनुभन्दा पहिले नै आतङ्कित हुनु वनको बाघले खानुभन्दा पहिले मनको बाघले खाएर जिउदै मर्नु जस्तै हो । कुनै आपत आउनुभन्दा पहिले पनि त्यसलाई रोक्नका लागि पूरा तयारी गर्नुपर्दछ । तर हामीहरू पहिले नै आतङ्कित हुन थाल्यौँ भने कुनै विपदलाई रोक्नका लागि आवश्यक तयारी पनि राम्ररी हुन पाउँदैन ।

यो सत्य हो कि हाम्रा अगाडि कोरोना भाइरसको खतरा मुख बाएर उभिएको छ । त्यो स्थितिको सामना गर्नको लागि आज सारा देश, जनता सबै राजनीतिक पार्टी, सङ्घसंस्था र सरकार समेत एक भएर उभिनु पर्ने आवश्यकता छ । संसारका विकसित र साधन र श्रोत सम्पन्न देशहरूमा पनि त्यसको सङ्क्रमणलाई रोक्न मुस्किल परेको छ भने नेपालमा त्यसको सङ्क्रमण भयो भने स्थिति कस्तो होला ? अस्पताल, औषधि–उपचार र आधुनिक साधनहरूको अत्यन्त कमि भएको हाम्रो देशमा कोरोना भाइरसको सङ्क्रमण भयोभने त्यसले कति बिकाराल र भयानक रूप लेला ? अनुमान गर्न पनि सजिलो छैन । त्यसका साथै प्रशासनको अत्यन्त गैर जिम्मेवार कार्यप्रणाली र भ्रष्टचार तथा कालोबजारी समेतका कारणले त्यो कोरोना भाइरसले सङ्क्रमणलाई रोक्न धेरैनै मुस्किल पर्ने छ ।

कोरोना भाइरसको हल्ला सुरु भएपछि केहि व्यापारीहरूले कोरोना भाइरसबाट बच्नको लागि आवश्यक पर्ने मास्क, सेनेसाइजर, वा ग्याँस, पेट्रोलियम, खाद्यान्न आदि सामाग्रीहरू लुकाउन थालेका समाचारहरू प्राप्त भइरहेका छन् । देशमा संकट पैदा हुन थालेको बेलामा त्यसबाट जनतालाई बचाउन सबैले बढीभन्दा बढी योगदान दिन प्रयत्न गर्नुपर्ने ठाउँमा उल्टो कृतिम अभावको स्थिति पैदा गरेर सङ्कटलाई झन् गम्भीर बनाउन प्रयत्न गर्नु साँच्चिकै अत्यन्त अमानवीय र गम्भीर दुःखको कुरा हो ।

प्रतिक्रिया