राखेप र एन्फाबीच विवाद

काठमाडौं । चीनबाट सुरु भएको नोभेल कोरोना भाइरसबाट सिंगो विश्व त्रसित भएको छ । विश्वभरका विभिन्न मुलुकमा आयोजना हुने खेल गतिविधिहरू स्थगित गरिएका छन् ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमा रहेको प्रतिक्रिया दिएपछि नेपाल सरकारले फागुन ११ गते भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।  त्यसैलाई आधार मान्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फागुन २२ गते सूचना प्रकाशित गरेको थियो । राखेपले सम्पूर्ण खेल संघ संस्थाहरूलाई खेलकुद गतिविधि लगायतका कार्यक्रमहरू रोक्न निर्देशन दिएको थियो ।

राखेप फेरि मंगलबार अर्को सूचना जारी गर्दै प्रतियोगिता स्थगन गर्न निर्देशन दिएको छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने चलिरहेको लिग कुनै पनि हालतमा स्थगित नगर्ने दाबी गरेको छ । राखेप सदस्य सचिव रमेश कुमार सिलवालले भने, ‘यसअघि कोरोनाको प्रभाव बढी नभएको आकलन गर्दै हामीले चलिरहेको प्रतियोगिता स्थगित नगर्ने भनेका थियौँ । नकआउट प्रतियोगिता भने आयोजना नगर्ने निर्देशन दिएका थियौँ ।’ उनले अहिले स्थिति जटिल बनेकोले एक साताका लागि लिग स्थगित गर्न निर्देशन दिएका छौं ।सदस्य सचिव सिलवालले थपे, ‘त्यसबेला म आफैँ दुई(तीन पटक लिग हेर्न गएको थिए । म जाँदा बी डिभिजनमा ५० जनाभन्दा बढी दर्शक थिएनन् । भएका दर्शकहरूलाई पनि गेटमा थर्मल चेक गरेर पठाएका थियौँ । अहिले स्थिति जटिल बन्दै गएको छ । त्यसकारण मंगलबार एक साताका लागि बी डिभिजनलाई पनि रोक्ने गरी सूचना जारी गरेका छौँ । एक सातापछि फेरि स्थिती बुझेर अर्को निर्णय लिनेछौँ । स्थिति सामान्य भए खेल गर्ने र नभए पुनः अर्को सूचना निकाल्दै प्रतियोगिता स्थगित गर्नेछौँ ।’

सदस्य सचिव सिलवाले लिग स्थगित नगरे कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । ‘अस्ती हामीले लिग नै गर्न भनेका हौँ । अहिले हामीले नै रोक्न भनेका हौँ । रोक्न भन्दाभन्दै रोकेन भने कारबाही हुन्छ,’ सिलवालले चेतावनी दिए । तर, लिग सञ्चालन गरिरहेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने कुनै पनि हालतमा लिग स्थगित नगर्ने दाबी गरिरहेको छ । उनले भने, ‘खेल कुनै हालतमा रोकिँदैन । लिग रोक्ने सवाल नै उठ्दैन ।’

उनले मंगलबारबाट छैटौँ चरणका खेल सुरु गरेकाले रोक्न नमिल्ने तर्क गरे । ‘मंगलबारबाटै छटौं चरणका खेल सुरु भएका छन् । यो चरण नसकिएसम्म रोक्नै मिल्दैन । यो चरण सकियो भने रोक्ने विषयमा सोच्न सकिन्छ, महासचिव तुलाधरले थपे ।’ उनले खेल गर्ने विषयमा थप सल्लाह गर्नेसमेत बताए । उनले भने, ‘जहाँसम्म मलाई लाग्छ लिग रोकिँदैन ।’ राखेपले यस साताका लागि खेल रोक्न निर्देशन दिँदा एन्फा महासचिवले भने अर्को साता मात्रै लिग रोक्ने सकिने बताए । यसरी राखेप र एन्फाबीचको विवादका कारण खेलाडी र दर्शकलाई जोखिम बढ्ने देखिन्छ ।

नेपाल सरकार र राखेपको आग्रहमा अन्य खेल गतिविधिहरू स्थगित गरिए पनि बी डिभिजनका विषयमा भने अझै अन्योलता कायमै छ ।
नेपालकै ठूलो फ्रेन्चाइज लिगको रुपमा रहेको इभ्रेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट स्थागित भयो भने लामो समय मोफसल फुटबल प्रतियोगिताको इतिहास बोकेको तिलोत्मा गोल्डकप पनि स्थगित हुन पुग्यो । शनिबार पोखरामा आहा रारा गोल्डकप सम्पन्न भएपछि नेपालमा जारी एकमात्र प्रतियोगिता ‘बी’ डिभिजन लिग हो ।

एन्फाले एक–दुई सातामा सकिने मोफसलका गोल्डकपलाई स्थगित गर्न निर्देशन दिँदा महिनौं चल्ने ‘बी’ डिभिजन लिगलाई भने निरन्तरता दिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दर्शकसहित ‘बी’ डिभिजनका लिगका खेल जारी छन् । ११ औँ चरणसम्म चल्ने लिगका भर्खर पाँचौँ चरणका खेल सकिएका छन् ।

एन्फाले राखेपको निर्देशनलाई अटेर गर्दै आइतबार लिगको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार लिग कम्तिमा पनि चैत २१ गतेसम्म सञ्चालन हुनेछ । लिगका लागि सबै खर्च भइसकेकाले लिग रोक्न नसकेको एन्फाको दाबी छ ।

त्यसो त ईपीएललगायत अन्य प्रतियोगिताहरूले पनि खर्च नगरेका होइनन् । नेपाल सरकार र राखेपले जारी गरेको सूचना पूर्व ‘बी’ डिभिजन लिग सुरु भएकाले स्थगित गर्न नमिल्ने एन्फाले बताउँदै आएको छ । तर, एन्फा पुनः सरकार र राखेको निर्णयलाई बेवास्ता गर्दै ‘सी’ डिभिजन लिग पनि सुरु गर्ने योजनामा छ । एन्फाले चैत २८ गतेबाट ‘सी’ डिभिजन लिग आयोजना गर्ने निर्णय गर्दै क्लबहरूलाई टिम तयार पार्न दबाब दिएको विषय बाहिरिएको हो ।

यसअघि राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले प्रतियोगिता सञ्चालन नगर्न निर्देशन दिँदा पुनः सञ्चालन भए खबरदारी गर्ने बताएका थिए । उनले खबरदारी गर्दासमेत अटेर गरे कारबाही गरिने चेतावनी दिएका थिए । तर, कारबाही भने अहिलेसम्म हुन सकेको छैन । तिम्सिनाले भने, ‘मैले एन्फाले अटेर गरेका कारण कारबाहीका लागि खबरदारी गरेको थिएँ । तर, एन्फाले एएफसीको सूचना अनुसार प्रतियोगिता सुरु गरेको जानकारी दिएपछि कारबाही प्रक्रिया रोकिएको हो ।’

फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी)ले फागुन २३ गते संयुक्त बैठकपछि विश्वकप र एसियाकप छनोटका खेल रोक्न सम्बन्धित देशहरूलाई निर्णय पाठाएको थियो । सोहीअनुरूप एन्फाले विश्वकप छनोटको बन्द प्रशिक्षणसमेत स्थगित गरेको थियो । एन्फाले धरानमा आयोजनाका लागि मिति सार्वजनिक गरेको पहिलो संस्करणको उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २४ घण्टा नबित्दै स्थगित गरेको थियो । तर, ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगका विषयमा एन्फा भने अटेर देखिएको छ ।

प्रतिक्रिया