राप्रपा एकीकरणको सन्देश

धेरै लामो सकसपछि कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बीच एकीकरण घोषणा भएको छ । गत आम निर्वाचनमा दुवै पार्टीले राष्ट्रिय मान्यता गुमाएपछि एकीकरणको प्रयास सुरू भएको थियो । तर, नेतृत्व र मुख्य विचारका विषयमा कुरा नमिल्दा एकीकरणको प्रयास भ्यागुदाको धार्नी जस्तो बनेको थियो । यो अवधीमा एकीकरणको मिति धेरै पटक घोषणा भयो, धेरैपटक तुहियो, तर यसपटक भने गत फागुन २८ गते साँच्चिकै एकीकरण घोषणा भयो । कमल थापा नेतृत्वको राप्रपाले अवलम्वन गर्दै आएको हिन्दू अधिराज्य पुनर्वाहाली गर्ने सिद्धान्तलाई राणा नेतृत्वको राप्रपाले पनि स्वीकार गरेका कारण एकीकरण सम्भव भएको हो । एकीकरणपछि राजतन्त्र पक्षधर शक्ति मुजबुत हुँदै जाने विश्लेषण धेरैले गरेका छन् । यो एकीकरणमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि ठूलो प्रयास रहेको समाचार आएका छन् । एकीकरणले मुलुकको राजनीतिमा कस्तो प्रभाव पार्ला ? भन्नेतर्फ विश्लेषण पनि सुरू भएको छ । संविधानले अपरिवर्तनीय भनेको विषयलाई उल्ट्याउने सहमतिका साथ दुई पार्टीबीच एकीकरण भएका कारण मुलुकको प्रतिगामी कित्तामा केही न केही खिचडी पाक्दैछ भन्ने अनुमान लगाउन गाह्रो छैन ।

राजाको सक्रीय नेतृत्वमा तीस वर्षसम्म चलेको पञ्चायती शासन व्यवस्थामा काम गरेको समुह एक ठाउ“मा उभिनु भनेको एउटा शक्तिको निर्माण हुनु हो । यो शक्तिलाई नजर अन्दाज गर्न मिल्दैन । २०४८ साल यताका निर्वाचनलाई हेर्ने हो भने पनि जुन वेला पूर्वपञ्चहरूले एउटै छानामुनी बसेर राजनीति गरेका छन्, त्यो वेला उनीहरूले राम्रै जनमत प्राप्त गरी कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूलाई विरालोले मुसा खेलाउँदा झै खेलाएका नजीर छन्, जुन वेला उनीहरू विभाजित भएका छन् त्यो वेला अस्तित्वको संकटमा परेका नजीरहरू पनि छन् । त्यसैले यो एकताले प्रतिगामी कित्ता उत्साहित हुनु स्वभाविकै हो । तर, मुलुकको वस्तुस्थिति तथा राजनीतिक धरातल राप्रपाका लागि अनुकल देखिएको छैन । गणतन्त्र स्थापना यताका निर्वाचनको मत परिणम विश्लेषण गर्ने हो भने प्रतिगामी कित्ताका पार्टीहरूले हिन्दुराज्यका नाममा केही मत पाए पनि राजतन्त्रका नाममा खासै मत पाएको देखिएन । भावि दिनमा जनताको मानसिकता परिवर्तन भयो भने छुट्टै कुरा हो, अहिलेसम्मको अवस्थामा राजतन्त्रप्रति नेपालीजनताको मोहाभंगता कायमै छ ।

एकै दिन दुई वटा पार्टीका रूपमा राप्रपा जन्मेको हो । सक्रीय राजतन्त्रको पक्षधरका रूपमा राप्रपा (चन्द) जन्मियो, संवैधानिक राजसंस्थाको पक्षधरका रूपमा राप्रपा (थापा) जन्मियो । जनआन्दोलन २०६२ –२०६३ को परिवर्तन पछि लोकेन्द्रबहादुर चन्दको लिगेसी संवैधानिक राजसंस्थाको पक्षमा उभिएको छ भने सूर्यबहादुर थापाको लिगेसी गणतन्त्रको पक्षमा उभिएको छ । सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले अहिले भएको एकीकरण बहिस्कार गरेका छन् । उनले स्पष्ट रूपमा भनेका छन्–‘ मुलुक गणतन्त्रमा गइसक्यो, संविधान निर्माणमा हामी आँफै सहभागी भयौं, मुलुकको यो राजनीति कोर्षलाई विथोल्नु हुन्न् ।’ यसको संकेत हो–‘ उनले गणतन्त्र पक्षधर राप्रपा गठन गर्दैछन् ।’ यो एकता फेरी भ्यागुदाको धार्नी बन्ने संकेत हो यो । यसैगरी कांग्रेस या नेकपामध्ये एक पार्टीसँग तालमेल नगरी राप्रपाले चुनाव जित्न सक्ने निर्वाचन क्षेत्रहरू भोली तयार हुन सक्ने कुरा छुट्टै हो, यतिवेलासम्म छैनन् । संविधानको मुलमर्म च्यात्ने घोषित सिद्धान्त बोकेको पार्टी सँग चुनावी तालमेल गर्न कांग्रेस या नेकपा तयार भए भने लोकतान्त्रिक गणतन्त्रको स्थायित्व माथि प्रश्न उठ्छ । विगतमा कांग्रेस एमालेबीच खेलेर जुन खालको सत्ता स्वाद पूर्व पञ्चहरूले लिएका थिए, अब फेरी त्यो अवस्था दोहो¥याउने प्रयासमा उनीहरू लाग्नुलाई अन्यथा लिन मिल्दैन, तर फरक परिस्थिति के छ भने त्यतिवेला कांग्रेस र एमालेको विकल्पमा राप्रपा मात्रै थियो, यतिवेला तराई क्षेत्रमा मधेसीदलहरू विकल्पका रूपमा आएका छन् भने पहाडी क्षेत्रमा साझा, विवेकशील लगायतका पार्टीहरू राप्रपा भन्दा प्रभावशाली बन्दै गएको देखिएको छ । यसैगरी पञ्चायत ढलेको ३० वर्ष वितिसकेका कारण पञ्चायतमा काम गरेको पुस्ता अब बुढो भइसकेको छ । नयाँ पुस्तालाई राप्रपाले आकर्षित गर्न सकेको छैन । प्रतिगामी सिद्धान्तमा नयाँ पुस्ता आकर्षित हुन सजिलो छैन ।

प्रतिक्रिया