श्रीकुमारीलाई खुमलटारको जित

काठमाडौं । साविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो । खुमलटारका सविन केसीले ह्याट्रिक पूरा गर्दा श्री कुमारीका मिसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौँ मिनेटमा सविन केसीको गोलबाट खुमलटार खेलमा अघि बढेको थियो । १२औँ मिनेटमा श्री कुमारीका मिसन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । १५औँ मिनेटमा सुविनले गोल गर्दै खुमलटारलाई पुनः २–१ को अग्रता दिलाए । ४२औँ मिनेटमा सविनले ह्याट्रिक पूरा गर्दा खुमलटारले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफमा दुवैतर्फबाट गोल निस्कन नसक्दा खुमलटार ३–१ ले विजयी हुन सफल भयो । जितसँगै खुमलटार दोस्रो स्थानमा उक्लिएको छ । खुमलटारको ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको सातदोबाटो युथ क्लबको समान ५ खेलबाटै १५ अंक छ । पराजित श्री कुमारी ५ खेलबाट ३ अंक जोडेर १०औँ स्थानमा छ ।

प्रतिक्रिया