घट्दै खेलकुदको बजेट !

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट घट्ने संकेत देखिएको छ । नयाँ आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेको राष्ट्रिय योजना आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई करिब १ अर्व ६१ करोडको बजेट सिलिङ तोकेको छ । प्रस्ताविक सिलिङ गत आर्थिक वर्षको घोषित बजेटभन्दा करिब ६० प्रतिशतले कम हो । सरकारले गत आर्थिक वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको आयोजना र सञ्चालनका लागि थप रकम निकासा गर्ने प्रतिबद्वता जनाएको थियो ।

सोहीअनुसार १३ औँ सागको पूर्वाधार निर्माणमा भन्दै झण्डै २ अर्ब रुपैयाँ सरकारले मन्त्रालयलाई थप गरेको थियो । त्यसैले, चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयले झण्डै ६ अर्ब बढी रकम प्राप्त गरेको छ । तर नयाँ आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेको राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षको बजेटमा झण्डै ७२ प्रतिशत रकम कम गर्दै सिलिङ प्रस्ताव गरेको युवा तथा खेलकुद मन्त्रालयका एक अधिकारीले खेलपाटीलाई बताएका छन् ।

‘योजना आयोगले गत आर्थिक वर्षको आधाभन्दा बढी रकमको सिलिङ युवा तथा खेलकुद मन्त्रालयमा प्रस्ताव गरेको छ । प्रस्तावित सिलिङले खेलकुदको रकम ठूलो मात्रामा घट्ने देखिएको छ ।’ उनले भने । युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजित बजेटको ठूलो हिस्सा राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जाने गरेको छ । खेलकुद पूर्वाधार, प्रतियोगिता आयोजना तथा सञ्चालन सबै परिषदले सञ्चालन गर्ने भएकाले मन्त्रालयको अधिकांश बजेटको हिस्सा परिषद्ले खर्च गर्दै आएको छ ।

चालू आर्थिक वर्षमा झण्डै ३ अर्ब रुपैयाँ परिषद्ले प्राप्त गरेको थियो । परिषद्को चालू खर्चमै करिब एक अर्व रुपैयाँ लाग्ने गरेको छ । तर योजना आयोगले प्रस्ताव गरेको नयाँ आर्थिक वर्षको सिलिङनै मात्र डेढ अर्ब रुपैयाँको छ । खुसी नेपाल समृद्ध नेपालको नारा सहित खेलकुद पूर्वाधारमा ठूलो रकम खर्च गर्ने घोषणा गरेको सरकारको कार्यक्रममा अब ‘ब्रेक’ लाग्ने देखिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेट भाषणको क्रममा सबै प्रदेशमा १–१ वटा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने र स्थानीय तहको सह लगानीमा सबै स्थानीय तहमा १–१ वटा खेलग्राम स्थापना गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको थियो ।

साथै क्रिकेट क्षेत्रको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका थिए । तर, प्रस्तावित बजेटको सिलिङले सरकारले घोषणा गरेको खेलकुद पूर्वाधार निर्माणको कार्यक्रम नारामै सिमित हुने देखिएको हो । मन्त्रालय स्रोतका अनुसार योजना आयोगको प्रस्तावित बजेटसँग युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा असन्तुष्ट छन् । उनले योजना आयोगनै पुगेर चालू आर्थिक वर्षको बजेटभन्दा नघट्ने गरी प्रस्तावित सिलिङ परिमार्जन गर्न लबिङ गरेका छन् ।

मन्त्रालयका एक अधिकारी प्रस्तावित सिलिङले खेलकुद क्षेत्र राज्यको नजरमा अझै पनि नपरेको देखिएको बताउँछन् ।  ‘राज्य अझै खेलकुदमा लगानी गर्नुपर्छ भन्ने सोचमा देखिँदैन । प्रस्तावित सिलिङले सोही कुरा पुष्टि गर्छ । सरकारको प्राथमिकता समाजिक विकासमा भन्दा भौतिक पूर्वाधार निर्माणमा परेको देखिन्छ ।’ उनले भने ।

प्रतिक्रिया