युरोकप स्थगित गर्न इटलीको प्रस्ताव

एजेन्सी, इटाली । इटलीले यसै वर्षको जुन–जुलाईका लागि निर्धारित युरोकप २०२० स्थगित गर्न प्रस्ताव गरेको छ । विश्वभर कोरोना भाइरसको स्क्रमण फैलिरहेको भन्दै इटालियन फुटबल फेडेरेसनले यस्तो प्रस्तावअघि सारेको हो । इटलीको घरेलु लिग सिरी ए पूरा गर्न पनि युरो स्थगित गर्न इटलीले युइएफएसँग आग्रह गरेको हो । युरो २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ । कोरोनाकै कारण सिरी ए अप्रिल ३ सम्मको लागि स्थगित भइसकेको छ । फेडेरेसनका अध्यक्ष ग्रेबियल ग्राविनाले युईएफएको मंगलबार बस्ने आकस्मिक बैठकमा आफूले सो प्रस्ताव लैजाने बताएका छन् । ‘हामी युरो च्याम्पियनसिप स्थगित गर्ने प्रस्ताव लैजादैछौँ,’ ग्राविनाले भनेका छन् ।

गत मंगलबारदेखि सिरी ए फुटबल स्थगित छ । कोरोनाका कारण युरोपमा इटली सबैभन्दा धेरै प्रभावित बनेको छ । ग्राविनाले क्लबहरूले ठूलो लगानी गरेको र त्याग गरेकाले सिरी ए को अन्त्सम्म पुग्न प्रयास गर्ने बताएका छन् । ‘हामी सिरि एको अन्तिमसम्म पुग्न प्रयास गर्नेछौँ,’ उनले भने ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले कोरोनाको बढ्दो संक्रमणलाई केन्द्रमा राख्दै मंगलबार ५५ सदस्य राष्ट्रका प्रतिनिधिसँग छलफल गर्दै छ । जसमा युरोलगायत अन्य प्रतियोगिताको बारेमा पनि छलफल हुँदै छ । इटालीको फुटबल महासंघले यसअघि सिरिएको सिजन पूरा हुन नसक्ने हो कि भन्दै त्यसको विकल्पमा प्लेअफ खेलहरू खेलाउने जनाएको थियो । तर, ग्राविनाले पछिल्लो समय जुन ३० सम्म लिग सक्ने आसा व्यक्त गर्न थालेका छन् । तर, उनले यो समय लम्बिन सक्ने भन्दै खेलाडीलाई तत्काल प्रशिक्षण नगर्न भनेका छन् ।

उता, स्पानिस शीर्ष श्रेणीको फुटबल ला लिगा सक्नेमा ला लिगाका अध्यक्ष हाभियर तेबास विश्वस्त भएका छन् । स्पेनमा बिहीबारदेखि लिग स्थगित भएको छ । तेबासले अन्य देशको लिगसँग मितिका लागि छलफल गरिरहेको र लिग अन्त्य गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिक्रिया